मुकुल ढकालले रन्थन्याए रास्वपा, नेताहरू भन्छन्- प्रतिवेदन महामन्त्रीको व्यक्तिगत टिप्पणी

जे होस्, अब रास्वपा-राजनीतिले जबरजस्त अर्को खण्डमा प्रवेश गरेको छ । स्थापनाको दुई वर्षसम्म जसोतसो मिलेको जस्तो देखिएको रास्वपाका नेताहरूबीचको असमझदारी बाहिरी सतहमा देखिएका छन् । अब यसको बैठान कहाँ र कसरी हुन्छ अनि महामन्त्री ढकाललाई पार्टीले कस्तो ‘रेस्पोन्स’ गर्छ, त्यो हेर्न बाँकी नै छ ।

मुकुल ढकालले रन्थन्याए रास्वपा, नेताहरू भन्छन्- प्रतिवेदन महामन्त्रीको व्यक्तिगत टिप्पणी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलिक पहिल्यैबाट उकुसमुकुस थियो । आफ्नो दोस्रो स्थापना दिवस मनाउँदासम्म त्यो उकुसमुकुसको ‘ग्राफ’ ह्वात्तै बढ्यो, कारण— पार्टी महामन्त्री डा. मुकुल ढकालको ३२ पन्ने ११ बुँदे प्रतिवेदन ।

यसपछि रास्वपा रन्थनिन थालेको छ । अहिलेसम्म सार्वजनिक भइनसकेको उक्त प्रतिवेदनको केही अंश बाहिरिसकेका छन् । त्यसकै कारण रास्वपा नेताहरू आपत्‌मा फसेका छन् ।

पार्टी सभापति रवि लामिछानेले त महामन्त्री ढकालको प्रतिवेदनलाई ‘निराशाको पत्र’को संज्ञा दिएका छन् । भलै उनले बाहिर मिडियासँग भने ‘प्रतिवेदन सकारात्मक’ भएको टिप्पणी गरेका छन् । तर, आन्तरिक रूपमा सभापति लामिछाने महामन्त्रीको प्रतिवेदनसँग खुसी नभएको एक नेताले बताए ।

महामन्त्री ढकालले प्रतिवेदनमा ‘केपी शर्मा ओली-पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भन्दा बालेन्द्र शाह-गोपी हमालसँग सहकार्य गर्नु पार्टीका लागि हितकर भएको’, ‘प्रदेश संरचना खारेजको पक्षमा उभिनुपर्ने’, ‘पार्टीले सही बाटो नपक्रिए अर्को आवधिक निर्वाचनसम्म विवेकशील साझाको नियतिबाट गुज्रिनुपर्ने’, ‘पार्टी सरकारबाट तत्काल फिर्ता हुनुपर्ने’लगायतका विषय समेटेका छन् । महामन्त्री ढकाल भन्छन् कि ती सुझावहरू आफ्नो नभइ ३८ जिल्लाका ३ हजारभन्दा धेरै नेता/कार्यकर्ताबाट प्राप्त भएका हुन् ।

प्रतिवेदन महामन्त्री ढकालले बुधबार साँझ सभापति लामिछानेलाई बुझाएका छन्, सँगै उनले प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक गर्न मागसमेत गरेका छन् । उनलाई आशङ्का छ कि कतै आफ्नो प्रतिवेदनमा ‘कैँची’ लाग्ने त होइन ? त्यसैले उनले प्रतिवेदनसँगै ‘प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक गरियोस्’ भन्ने ध्यानाकर्षणपत्रसमेत बुझाए ।

महामन्त्री ढकालले सभापति लामिछानेलाई प्रतिवेदन बुझाउनुअगावै माथि उल्लिखित प्रतिवेदनका अंश मिडियालाई दिइसकेका थिए । त्यति मात्रै होइन, उनले प्रतिवेदनका कारण आफू पार्टीबाट घोक्राइन सक्ने आकलनसमेत गरेका थिए ।

खासगरी यी सन्दर्भका कारण सभापति लामिछानेसँगै केही नेताहरू रिसाएको एक नेता बताउँछन् । ती नेताका अनुसार पहिले पार्टीमा ल्याएर बैठक आह्वान गरी छलफल गर्नुपर्ने विषय बाहिर मिडियामा दिँदै हिँडेको भन्दै अहिले पार्टीको एउटा तप्का महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा उभिएको छ ।

ती नेताले नेपालभ्युजसँग भने, “बैठक त बसेको छैन, अनौपचारिक रूपमा पार्टीभित्रका केही साथीहरूले महामन्त्रीजी कारबाहीयोग्य देखिनुभयो, यसमा विचार गरौँ भन्नुभएको छ ।”

नेताहरूको जिकिर– प्रतिवदेन महामन्त्रीको व्यक्तिगत टिप्पणी

महामन्त्री ढकालले एक महिना लगाएर ३८ जिल्लाका तीन हजारभन्दा धेरै नेता/कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदनलाई नेताहरू भने पार्टीको धारणा नै नभएको बताएका छन् ।

पार्टी उपसभापति डोलप्रसाद अर्याल महामन्त्री ढकालको प्रतिवेदन पार्टीको धारणा नै नभएको बताउँछन् । “हाललाई उहाँको प्रतिवेदन पार्टीको बैठकले स्वीकार गरेको छैन । तसर्थ, त्यो उहाँको व्यक्तिगत टिप्पणी हो । उहाँले विभिन्न जिल्ला पुग्दा जे बुझ्नुभयो, प्रतिवेदनमा त्यही लेख्नुभएको हो,” उपसभापति अर्यालले भने ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी महामन्त्री ढकालको शैलीप्रति आलोचना गर्छन् । “प्रतिवेदनमा लेखिएको कुराहरू सही पनि हुनसक्छन्, असही पनि हुनसक्छन् । तर, महामन्त्रीजस्तो कार्यकारी र महत्त्वपूर्ण जिम्मेवारी रहँदा शैली के हुनुपर्ने भन्ने कुराचाहिँ ख्याल राख्नुपर्छ । त्योचाहिँ उहाँमा पाइएन, पार्टीका लागि यो राम्रो भएन,” सहमहामन्त्री ढकालले भने ।

अगाडि उनी प्रतिप्रश्न गर्छन्, “घरमा कोही बिरामी भए भने गाउँलेलाई भन्दै हिँड्ने कि अस्पताल पुर्‍याउने हो ?” उनी थप्छन्, “उहाँ बैठक आह्वान गर्ने, त्यसमा विषयहरू प्रस्ताव गर्ने र छलफल गराउने भूमिकामा हुनुहुन्छ तर, उहाँ त्यसको साटो मिडियामा अगाडि पुग्नुभयो ।”

पार्टीका प्रमुख सचेतक सन्तोष परियारको मत पनि सहमहामन्त्री बुर्लाकोटीसँग मिल्छ । “हामीलाई अप्ठ्यारो लागेको विधि र प्रक्रियामा हो । तर, प्रतिवेदनमाथि छलफल गरेर नेताहरूको धारणा बाहिर ल्याउनु छुट्टै कुरा हो,” उनले भने ।

अब के हुन्छ ?

त्यसो त महामन्त्री ढकाल अलिक अगाडिदेखि नै पार्टीका नेताहरूको शैलीसँग ‘फ्रस्ट्रेटेड’ रहेको अनुमान गर्न सकिन्छ । त्यो उनका फेसबूक स्टाटस र लेखहरूबाट पनि खुट्याउन सकिन्छ ।

खासगरी पार्टी पछिल्लो पटक सरकारमा गएको तर, पार्टीका तर्फबाट सम्मिलित मन्त्रीहरूले अपेक्षित काम नगरेको उनले बताउने गरेका थिए । उनले यसबारे गत जेठ २२ गते नयाँ पत्रिकामा लेखेको ‘रास्वपाले तय गर्नुपर्ने बाटो‘ लेखमा उनले यसप्रति इङ्गित गरेका थिए ।

लेखमा उनको अर्थ्याइ थियो कि ‘पार्टी एकपट्टी सदस्य हालेर अर्कोपट्टी सांसद-मन्त्री निकाल्ने मेसिन बन्यो’, ‘पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीले अपेक्षित काम गरेनन्’ । सँगै उनले इलाम २ बिर्सिएर सदन छिरेको टिप्पणीसमेत गरेका थिए ।

यसपछि पार्टीले दोस्रो स्थापना दिवस मनाएको दिन अर्थात् असार ७ गते बिहान उनले फेसबूक स्टाटसमार्फत ‘पार्टीको औचित्य के हो ?’ भनेर प्रश्न गरेका थिए । सँगै उनले जोड दिएका थिए— हामी नसच्चिए गाह्रा दिनहरू सुरु भए ।

पार्टीका कतिपय नेताहरू भने महामन्त्री ढकाल बढी महत्वाकाङ्क्षी हुँदै गएको र त्यसको प्रभाव पार्टीमा देखिएको/देखाएको टिप्पणी गर्छन् । एक नेता भन्छन्, “उहाँ अलिक बढी महत्वाकाङ्क्षी हुँदै जानुभयो कि ! त्यसले पार्टीभित्र पनि कहिलेकाहीँ असन्तुष्टि पोख्नुहुन्थ्यो ।”

उसो त ढकाल संस्थापक महामन्त्री हुन् । हुनसक्छ, उनले पनि सुरुमा पार्टी मुलुकको चौथो दल बन्छ र एउटा निर्णायक शक्ति बनिन्छ भन्ने सोचेका थिएनन् । तर, पछि ठूलै जिम्मेवारी आइलाग्यो । तर, उनले कुनै लाभको पद भने पाएनन् ।

उनीभन्दा पछि जोडिएका नेताहरू सांसद तथा मन्त्री बनेर राजकीय पदमा पुग्दा उनी भने पार्टीकै काममा छन् । त्यसकारण हुनसक्छ, उनले सभापति लामिछानेलाई प्रतिवेदनसँगै बुझाएको ध्यानाकर्षणपत्रमा भनेका छन्, “राम्राजति अरुका, नराम्राजति मेरा भन्ने भयो । पार्टीभित्र ममाथि घृणित राजनीति गरियो ।”

जे होस्, अब रास्वपा-राजनीतिले जबरजस्त अर्को खण्डमा प्रवेश गरेको छ । स्थापनाको दुई वर्षसम्म जसोतसो मिलेको जस्तो देखिएको रास्वपाका नेताहरूबीचको असमझदारी बाहिरी सतहमा देखिएका छन् । अब यसको बैठान कहाँ र कसरी हुन्छ अनि महामन्त्री ढकाललाई पार्टीले कस्तो ‘रेस्पोन्स’ गर्छ, त्यो हेर्न बाँकी नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved