टी-२० विश्वकप : फाइनलमा पानी परे कुन देशले जित्छ उपाधि ?

नेपालभ्युज

टी-२० विश्वकप : फाइनलमा पानी परे कुन देशले जित्छ उपाधि ?

काठमाडौं । सन् २०२४ को टी–२० विश्वकपको फाइनलको सम्पूर्ण तयारी पूरा भएको छ ।

भारत र दक्षिण अफ्रिकाबीचको ब्लकबस्टर उपाधि भिडन्त वेस्ट इन्डिजको केन्सिङ्टन ओभलमा नेपाली समयअनुसार शनिबार बेलुका ८:१५ बजे सुरु हुनेछ ।

मैदानमा दुई अजेय टोलीहरू बीचको भिडन्त देखिनेछ तर, यो खेल अघि विभिन्न चासोहरू फ्यानहरूको मनमा उठेको छ ।

उदाहरणका लागि पिच कस्तो छ ? दुवै टोलीको प्लेइङ इलेभेन कस्तो हुनेछ ? सबैभन्दा ठूलो प्रश्न मौसमको प्रकृति कस्तो हुनेछ ?

बिहीबार राति भएको भारत र इंग्ल्याण्डबीचको सेमिफाइनल खेलमा वर्षाले दु:ख दिएको थियो । एक समय खराब मौसम र भिजेको आउटफिल्डका कारण खेल रद्द हुन सक्छ भन्ने लाग्थ्यो, तर भाग्यवस फ्यानहरूले पूरै २०/२० ओभरको खेल हेर्न पाएका थिए ।

यस्तो अवस्थामा बार्बाडोसमा हुने फाइनलमा मौसमको पूर्वानुमान के छ ?

अबको केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । तालिकाअनुसार शनिबार फाइनल खेल र आइतबार (रिजर्व डे)मा पनि भारी वर्षाको सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रिजटाउन, बार्बाडोसको लागि पछिल्लो मौसम पूर्वानुमानले त्यहाँ आँधीबेहरीका साथ वर्षाको सम्भावना रहेको छ । साथै, दिनभर आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । शनिबार पानी पर्ने सम्भावना ७८ प्रतिशत छ ।

दिनभर पानी पर्यो भने के हुन्छ ?
दोस्रो सेमिफाइनलमा रिजर्भ डे नभए पनि आईसीसीले फाइनलका लागि त्यस्तो गरेको छैन । उपाधि खेलका लागि रिजर्भ डे घोषणा गरिएको छ ।

वर्षा, खराब मौसम, आउटफिल्ड भिज्ने वा अन्य कुनै कारणले शनिबार (जुन २९)मा खेल सम्पन्न हुन सकेन भने भोलिपल्ट अर्थात् जुन ३० गते सम्पन्न हुनेछ ।

रिजर्भ डेमा पनि पानी परे वा नतिजा घोषणा नभए दुवै टोली संयुक्त विजेता घोषित हुनेछन् ।

अर्को विश्वकप भारत-श्रीलंकामा हुने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भर्खरै भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकप २०२६ को लागि योग्यता प्रक्रियालाई पनि स्वीकृत गरेको छ।

प्रतियोगितामा २० टोलीको सहभागिता रहनेछ जसमध्ये १२ टोली स्वतः छनोट हुनेछन् ।

भारत र श्रीलंकासँगै शीर्ष आठ टोलीहरू सन् २०२६ को विश्वकपका लागि स्वतः छनोट हुनेछन् भने बाँकी दुई स्थानहरू जुन ३०, २०२४ सम्म टी-२० अन्तर्राष्ट्रिय वरीयतामा अर्को उत्कृष्ट वरीयतामा रहेको टोलीमा जानेछन्।

यसपछि बाँकी आठ स्थानको टुंगो आईसीसी क्षेत्रीय छनोटबाट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved