यसकारण हुनसक्छ रास्वपा अर्को ‘विवेकशील साझा’ !

पुराना दलमध्ये सत्तासाझेदार एमाले-माओवादी केन्द्रले रास्वपासँग ‘काखमा राख्ने, नङले पेट चिरेर मार्ने’ नरसिंह अवतार रणनीति अख्तियार गर्ने छन् । नेपाली कांग्रेसले भने सिधा ‘मुठभेड’ गर्नेछ ।

यसकारण हुनसक्छ रास्वपा अर्को ‘विवेकशील साझा’ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्को ‘विवेकशील साझा’ हुनसक्ने चर्चा यतिखेर चरमोत्कर्षमा छ । दुई वर्षअघि मात्रै जन्मिएको, छोटो अवधिमै आश्चर्यजनक उदय भएको यो दल के अब ओरोलो लाग्न थालेको हो ?

यो स्वयं पार्टीका महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदनमा उल्लेख जस्तो दयनीय अवस्थामा पुगेको हो ? यसको जनमत आजका मितिमा उल्लेखनीय ह्रास भएको हो ?

यी प्रश्न अब धेरैका लागि रोचक जिज्ञासाका विषय बनेका छन् । यिनको उत्तर खोज्न विवेकशील साझा दलको पृष्ठभूमि र नियतिलाई खोतल्नुपर्ने हुन्छ ।

२०७० को दशकमा गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति-व्यक्तित्वको पहलकदमीबाट दुई नयाँ दल नेपाली राजनीतिमा आए । तिनले राम्रै प्रतिक्रिया, चर्चा र मतसमेत पाए । ती थिए– उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी । जब दुई दलको एकता भयो, भन्न थालियो- विवेकशील साझा पार्टी ।

विवेकशील साझा आज एक विम्ब बनेको छ । रास्वपा महामन्त्री डा. मुकुल ढकालले यही विम्ब प्रयोग गरेका हुन् । आफ्नो दल विवेकशील साझाजस्तै हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘विवेकशील साझा’ को विम्बले दिने अर्थ के हो ? यो विम्ब कुन प्रयोजनका लागि प्रयोग हुँदैछ ? के ती अर्थ रास्वपामा पनि लागू हुन्छन् ? विवेकशील साझाका ती चरित्र रास्वपामा पनि निहित छन् ?

सम्भवत: यो विम्बका तीनवटा अर्थ हुन्छन् ।

एक– आम असन्तुष्टि, निरासा र पुराना दलप्रतिको वितृष्णाको जगमा आकस्मिक उदय र द्रुत क्षयीकरण ।

२०७० को दशकको जन असन्तुष्टि विशेषतः संविधान निर्माणमा भएको ढिलाइ, दलहरूबीच अन्त्यहीन किचलो, लामो राजनीतिक संक्रमणले सृजना गरेका अव्यवस्था, वैदेशिक हस्तक्षेप र सुक्ष्म व्यवस्थापनका प्रयत्न, प्रशासनिक अराजकता र भ्रष्टाचार, सुस्त विकास प्रक्रिया र स्थानीय तहमा निर्वाचित संस्थाहरूको लामो रिक्तताको जगमा उत्पन्न भएको आम निरासाले विवेकशील साझाको जन्म र विकासलाई सम्भव बनाएको थियो ।

२०७४ को स्थानीय निर्वाचनमा दुवै दलका काठमाडौं महानगरमा मेयर उम्मेदवार बनेका रन्जु दर्शना र किशोर थापाले राम्रो मत प्राप्त गरेका थिए । ललितपुर महानगरपालिकाको मेयरमा साझा पार्टीका रमेश महर्जन दोस्रो स्थानमा थिए ।

२०७४ को आम निर्वाचनमा यो दलले २ लाखभन्दा बढी मत पाएको थियो । देशकै छैटौँ ठूलो र थ्रेसहोल्ड नकाट्नेमध्ये सबैभन्दा ठूलो दल भएको थियो । बागमती प्रदेशसभामा यसले थ्रेसहोल्ड काटेको थियो र ३ सांसद थिए ।

तर, २०७९ को स्थानीय र आम निर्वाचनसम्म पुग्दा यो दल समाप्त जस्तै भयो । ५ वर्ष पनि राम्ररी आफ्नो जनमत टिकाउन सकेन । २ लाखभन्दा बढी मत प्राप्त गरेको दलले अर्को एक निर्वाचनपछि देशभरिबाट पाँच हजार पनि मत प्राप्त गर्न सकेन ।

यसको अर्थ हुन्छ कि आम निरासा र असन्तुष्टिको जगमा आकस्मिक उदय भएको दलको राजनीतिक भविष्य दीगो र सुनिश्चित हुन्छ भन्ने छैन । र, यो कुरा रास्वपाको हकमा पनि लागू हुन्छ ।

विवेकशील साझाले अकारण यस्तो नियतिको सामना गर्नुपरेको भने हैन । जनता र मतदाताले त्यो दललाई छोड्न पर्ने पर्याप्त कारण थिए । ती कारण तल उल्लेखित बाँकी दुई विम्ब अर्थमा प्रकट हुन्छ ।

विवेकशील साझाको दोस्रो विम्ब अर्थ अस्पष्ट, अवैचारिक र अवसरवादी नेतृत्व हो । यसका दुई नेताहरू उज्वल थापा र रवीन्द्र मिश्र थिए । यीमध्ये थापा व्यक्तिगत रुपमा बढी इमान्दार थिए, उनी मिश्रझै अवसरवादी थिएनन्, तर, पार्टी निर्माणसम्बन्धी सोच भने थापाको पनि प्रष्ट थिएन । उनले आफ्ना विचार, दृष्टिकोण र धारणालाई राम्ररी संगठित गरिसकेका थिएनन् ।

साझा पार्टीको भन्दा विवेकशील दलको चर्चा र प्रतिष्ठा बलियो थियो । थापाले त्यसलाई यथोचित उपयोग गर्ने कौशल भने देखाएनन् ।

रवीन्द्र मिश्रमा भने अवसरवादी महत्वाकांक्षा र असन्तुलन प्रष्ट देखिन्थ्यो । उनी मनमा दक्षिणपन्थको मोह बोकेर वाममध्यमार्गी दलको नाटक गरिरहेका थिए । उनले केही समय ढाँट्न त खोजे तर, समय क्रममा उनको अवैचारिकता, बेइमानी र अवसरवाद छताछुल्ल भयो ।

दल खोल्नुअघि उनी राजावादी थिए । केही समय वैकल्पिक राजनीतिको अभियन्ता र वाममध्यमार्गी विचारक भएको नाटक गरे । तर, उनका अभिव्यक्ति र पार्टी नीतिमा दक्षिणपन्थ प्रकट भइहाल्थ्यो । कुनै दलको दीर्घजीवनका लागि नेतृत्वको यस्तो चरित्र आफैँमा ठूलो व्यवधान बन्छ ।

तेस्रो विम्ब अर्थ अनावश्यक पार्टी परित्याग, फुट र एकता हो । विवेकशील साझाभित्रको सकस र अन्तरद्वन्द्व बढ्दै जाँदा यसका थुप्रै संस्थापक सदस्यले पार्टी परित्याग गरे । त्यसको सन्देश राम्रो गएन । डा. सूर्यराज आचार्य र मुमाराम खनालको बर्हिगमनपछि भने त्यो पार्टी अर्थहीनजस्तो देखिन थाल्यो ।

पार्टी दुई पटक जुट्यो, दुई पटक फुटयो । तर, ती दुवै फुट र जुटको अर्थ र औचित्य जनताको आँखामा प्रष्ट भएन ।

कोभिड महामारी कालमा उज्वल थापाको अल्पायुमै निधन भयो । रवीन्द्र मिश्र ‘मार्ग परिर्वतन’ गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरे । सँगसँगै खेल खत्तम भयो, पार्टी लगभग समाप्त भयो ।

अहिले समीक्षा बाँस्कोटा र रन्जु दर्शनाले त्यसलाई पुनर्जीवन दिने प्रयत्न त गरिरहेका छन् तर, त्यो प्रयत्न निक्कै कष्टसाध्य र लगभग असम्भवप्रायजस्तो लाग्दछ । किनकि त्यसको ‘ब्रान्ड’ बदनाम भइसकेको छ । त्यसलाई ‘रिब्रान्डिङ’ गरी जनविश्वास आर्जन गर्न दशकौं लाग्न सक्दछ । त्यति ठूलो त्याग र मेहनत यिनका नेताले गर्लान् भन्ने विश्वास अहिले कसैमा छैन ।

विवेकशील साझामा भएका यी तीनवटै कमजोरी रास्वपामा पनि धेरथोर देखिन्छन् । रास्वपा पनि आम निरासा र जनअसन्तुष्टिको जगमा आकस्मिक उदय भएको दल हो । कुनै लामो आन्दोलन, संघर्ष बलिदान र त्यागबाट आएको हैन ।

अहिलेसम्म यसले एकभन्दा बढी अवधिको चुनाव सामना गरेको छैन । तसर्थ, दीगोपनको परीक्षा दिन बाँकी नै छ । कुनै एक चुनावले मात्र दलको दीर्घजीवन पुष्टि हुँदैन र अर्को चुनावमा के हुन्छ भन्ने प्रश्न खुल्दुली बाँकी नै रहन्छ ।

रास्वपाको नेतृत्व-पङ्क्तिमा वैचारिक अस्पष्टता, अवसरवाद र विलचन देखिन्छन् । पार्टीभित्रको अन्तर्विरोध विस्तारै सतहमा आउँदैछ । तिक्तता र मतभेद यही दरमा बढ्दै गएमा यो दल विभाजनतिर नजाला भन्न सकिन्न ।

मात्र धेरथोर र सन्दर्भ फरक होला तर, विवेकशील साझामा भएका उपरोक्त तीनवटै चरित्र रास्वपामा पनि छन् । रास्वपामा थप दुई कमजोरी छन् ।

एक– दोहोरो नागरिकता, दोहोरो पासपोर्ट र सहकारी ठगीजस्ता प्रकरणमा नैतिक संकटमा फसेको मूल नेतृत्व । कम्तीमा विवेकशील साझाका मूल नेता थापा-मिश्र दुवैमा यो स्तरको व्यक्तिगत नैतिक संकट थिएन ।

रास्वपाको दोस्रो थप कमजोरी पुराना दल र सिन्डिकेटसँगको सहकार्य र सत्ता साझेदारी हो । त्यो पनि एकपटक हैन, दुई-दुईपटक र स्वार्थबझान हुनेगरी । यो स्थिति विवेकशील साझाले भोग्न परेको थिएन।

यी मानकबाट हेर्दा रास्वपा विवेकशील साझाभन्दा पनि कमजोर जगमा उभिएको पाइन्छ । तर, उसको तुलनात्मक सवलता पनि छ, त्यो हो निक्कै ठूलो आकारको पार्टी बन्नु, थ्रेसहोल्ड काट्नु र केही प्रत्यक्ष सिटसमेत जित्नु । यो भने रास्वपाको सवल पक्ष हो । यसले रास्वपा शक्तिकेन्द्र हुनुको भ्रम सृजना गर्दछ र विवेकशील साझाभन्दा विस्तारै छिरिलविरिल हुन सक्दछ ।

विवेकशील साझा नबन्ने संकेत आएपछि त्यसका नेता कार्यकर्ता छिट्टै निरास भए, छोडेर हिँडे । तर, रास्वपासँग अलिकति शक्ति पनि भएको हुँदा त्यो प्रक्रिया केही ढिलो हुन्छ । अर्थात् राजनीतिमा शक्ति बन्नु स्वयं शक्ति थाम्ने आधार बन्न पुग्दछ । हिजो विवेकशील साझासँग यो अनुकूलता थिएन ।

यो पक्षलाई एक क्षण बेवास्ता गर्ने हो भने रास्वपा विवेकशील साझाभन्दा पनि कमजोर जगमा उभिएको छ । किनकि यसमाथि एक साथ तीन पक्षको प्रहार छ, विवेकशील साझाका लागि यो स्तरको चुनौती थिएन ।

एक– पुराना दलसँगको सत्ता साझेदारी पछि नयाँ र वैकल्पिक दलको चाहना राख्ने मतदाताले उसलाई रोज्ने छैनन् । यस्ता मतदाताका लागि अर्को चुनावसम्म अर्को नयाँ दलको खोजी हुन सक्दछ । यहाँनेर बालेन शाहले नयाँ दल खोल्न सक्ने चर्चा आकर्षित हुन्छ ।

त्यसैगरी अहिले नागरिकस्तरमा थुप्रै राजनीतिक अभियान क्रियाशील छन्, तिनले आकार ग्रहण गर्दा रास्वपाको जनमतको एउटा अंश त्यतातिर जान सक्छ ।

दुई– पुराना दलमध्ये सत्तासाझेदार एमाले-माओवादी केन्द्रले रास्वपासँग ‘काखमा राख्ने, नङले पेट चिरेर मार्ने’ नरसिंह अवतार रणनीति अख्तियार गर्ने छन् । यिनले सरकारमा राखेरै रास्वपालाई सकेसम्म बदनाम गराउने छन् ।

नेपाली कांग्रेसले भने सिधा ‘मुठभेड’ गर्नेछ । सहकारी ठगी प्रकरणमा त्यो देखियो पनि । कांग्रेसलाई के लागेको छ भने हिजो पाँच दलीय गठबन्धन हुँदा माओवादी केन्द्रका लागि छोडेका निर्वाचन क्षेत्रको कारण रास्वपाको उदय सहज भएको हो ।

नभन्दै त्यस्तै देखिन्छ । रास्वपाले प्रत्यक्षतर्फ जितेका अधिकांश स्थानमा कांग्रेस उम्मेदवार थिएनन् । कांग्रेस आफ्नो पुरानो मत रास्वपाबाट फिर्ता गर्ने रणनीतिमा छ ।

तेस्रो– रास्वपा स्वयम् आफैँभित्रको नैतिक संकट र अन्तरद्वन्द्व हो । पहिलोपटक उनको नेतृत्वमा चुनाव जितेको कारणले रवि लामिछानेलाई मान्न रास्वपाभित्रको एउटा टिम बाध्य छ । तर, रविका नैतिक संकट, आत्मकेन्द्रित कार्यशैली, व्यक्तिवाद, सत्तामोह, पुराना दल र सिन्डिकेटसँगको सहकार्यजस्ता कमजोरी सधैँ त्यो पार्टीले ढाकछोप गर्न, पचाउन, थेग्न र थाम्न सक्दैन ।

पुराना, शास्त्रीय वा सैद्धान्तिक दल र नयाँ उत्तरवैचारिक दलबीचको भिन्नता नै यही हो । परम्परागत दलसँग परम्परागत भोट बैंक हुन्छ । पुस्तौंदेखि कुनै खास दलको नजिक र समर्थक हुँदै आएका परिवार हुन्छन् । त्यो दलले गरेका आन्दोलनमा तिनले बलिदान र योगदान गरेका हुन्छन् । तिनलाई आफ्नो त्यो इतिहास र विरासतको मोह हुन्छ ।

पुराना दलसँग तल-तलसम्म जमोट भएको सङ्गठन र सञ्जाल हुन्छ । राज्य र समाजका विभिन्न पक्षमा तिनले आफ्ना मान्छेलाई घुसपैठ गराएका हुन्छन् । अस्तित्व रक्षाका बेला, विशेषतः निर्वाचनमा ती आफ्नो नेतृत्व र दलसँग असन्तुष्ट हुँदाहुँदै पनि परिचालित हुन्छन् ।

पुराना दलसँग इतिहास, विरासत, सञ्जाल र सङ्गठनसँगै स्रोत र साधान पनि हुन्छ । ती बढी परिचालित हुन, धेरै गतिविधि र कार्यक्रम गर्न तथा शक्ति र जीवन्तताको भ्रम दिन सफल हुन्छन् ।

उपरोक्त कारणले पुराना दलसँग कतिपय कमजोर, गल्ती, यहाँसम्म कि अपराध र पापलाई पचाउने क्षमता हुन्छ । त्यस्तो हुँदै आएको पनि छ । तर, नयाँ दलहरूसँग यो क्षमता हुँदैन । यस्ता हतियारको युद्धमा पुराना दल सधैँ बलिया हुन्छन् ।

नयाँ दलका भिन्नै हतियार हुन्छन् । ती हुन्– नैतिक बल, नयाँ एजेन्डा, बलियो विश्वास र सहकार्यसहितको नेतृत्व समूह, प्रतिबद्धता, पारदर्शिता र स्वच्छ छवि । हिजो विवेकशील साझाले जोगाउन नसकेको चिज यही थियो । आज राष्ट्रिय स्वतन्त्र पार्टीले गुमाउँदै गएका चिज पनि यिनै हुन् ।

आज रास्वपा नेतृत्व ठूलो नैतिक संकटमा फसेको छ । यो स्तरको नैतिक संकटको दबाबमा त पुराना दलका शीर्ष नेताहरू पनि छैनन् । दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, सहकारी ठगी र स्वार्थबझान हुनेगरी भएको सत्तारोहणजस्ता प्रकरण त छँदै थिए । अर्थ न बर्थको सिरोहिया नागरिकता छानबिन प्रकरणले देशको बौद्धिक वर्ग, उद्यमी-व्यवसायी र सञ्चार जगतलाई रास्वपाबाट मनोवैज्ञानिक रुपले धेरै टाढा पुर्‍याएको छ ।

सञ्चार जगतसँगको व्यक्तिगत प्रतिशोध राज्य सत्ताको दुरुपयोग गरी नागरिकको नागरिकताको आधारभूत तथा संविधानप्रदत्त अधिकारसँग जोडेर रिस साँध्नु निकृष्ट कर्म थियो । यसको हिसाबकिताब मनमनै सबैले राखेका छन् ।

यस्ता थुप्रै देखिने र नदेखिने, प्रष्ट वा लुकेका कारण छन्, जसले अर्को चुनावसम्म रास्वपा अर्को विवेकशील साझा बन्यो भने कुनै आश्चर्य हुने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved