आलेख

के धातुका मान्छेसँग विवेक हुन्छ ?

भुइँका मान्छेहरू बेखुसी हुँदा पनि सिंहदरबारमा चकाचौध हुन्छ कसरी ? किनभने सिंहदबारमा कम्युनिष्टहरू छन् । कम्युनिष्टहरू विशेष धातुका हुन्छन् र विशेष धातुका मान्छेहरू यसकारण असाधारण हुन्छन् कि उनीहरूसँग मन र विवेक हुँदैन ।

के धातुका मान्छेसँग विवेक हुन्छ ?

आफ्नै कुराबाट लेखनी सुरु गर्छु । राजनीतिका प्रारम्भिक दिनहरूमा ‘कम्युनिष्टहरू विशेष धातुका मान्छे हुन्’ भन्ने वाक्यांश मलाई खुबै मन पर्थ्यो । जस्तोसुकै परिस्थितिमा पनि सङ्घर्ष गर्ने, अटल रहने र आफ्नो निष्ठाका लागी  मर्न (मार्न) तयारहुने अर्थमा मैले यो वाक्यांशलाई लिएको थिएँ । जसले मलाई निकै धेरै उत्प्रेरित गर्थ्यो । यो त्यो समयको कुरा थियो, जतिबेला म कम्युनिष्ट थिएँ । मेरो पार्टी थियो एमाले ।

समय फेरियो । राजनीतिक विचारधारा र अर्थराजनीतिक मुद्दालाई हेर्न मेरा दृष्टिकोणहरू पनि समयसँगै फेरिँदै गए । म पहिलेजस्तो भावुक र अन्धभक्त राजनीतिक कार्यकर्ता रहिनँ । म साम्यवादीभन्दा उदार लोकतन्त्रवादी हुँदै गएँ । मलाई कम्युनिष्टभन्दा वामपन्थी शब्द मन पर्न थाल्यो । अनेक रंग र रुपका समाजवादीहरूभन्दा मानवतावादीहरू ठिक लाग्न थाले ।

बिस्तारै मभित्र नयाँ प्रश्नहरू जागृत भए । म आलोचनात्मक हुँदै गएँ । आजका दिनमा म परम्परागत नेपाली राजनीतिसँग खुसी छैन । आलोचनात्मक छु । त्यसमा पनि कम्युनिष्टहरूसँग मेरा अझ धेरै गुनासा छन् । किनभने मलाई उनीहरूबारे धेरै थाहा छ । जसका बारेमा धेरै थाहा हुन्छ, उसलाई आलोचना गर्न सजिलो हुन्छ ।

मेरो आलोचना स्वभावतः कम्युनिष्ट विचार, सङ्गठन प्रणाली र मुद्दाहरूमा त छ नै, राज्य सञ्चालन र सरकार सञ्चालनका तरिका र कम्युनिष्टहरूले निर्माण गरेका राजनीतिक संस्कृतिमाथि पनि म आलोचनात्मक छु । यद्यपि, यी विषयहरूमा अन्यत्र प्रशस्त छलफल भएको छ र भविष्यमा पनि हुनेछ । आज भने ‘विशेष धातुका मान्छे’ को बदलिँदो अर्थलाई यो लेखको केन्द्रीय विषय बनाएको छु ।

तीन सन्दर्भः

अहिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशन सङ्घारमा छ । अवश्य नै आकारको हिसाबले यो पार्टी धेरै ठूलो र प्रभावशाली रहेन । तर, पार्टी निर्माणको परिस्थिति, एमालेसँगको विभाजन, एमालेसँग यसले सञ्चालन गरेको सङ्गठनात्मक सङ्घर्ष र यसमा आबद्ध नेताहरूको व्यक्तित्वको कसीबाट हेर्दा अझै पनि यो पार्टी चर्चाभन्दा बाहिर छैन ।

मलाई लाग्छ, नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण गर्ने एक अमुल्य अवसर जसरी मदन भण्डारीको हातमा आएको थियो, त्यसरी नै नेपालको कम्युनिष्ट आन्दोलनको वामपन्थीकरण गर्ने र आजको सन्दर्भबाट यसलाई पुनर्गठन गरेर एक प्रगतिशील, उदार र नयाँ वामपन्थी आन्दोलनको आकार दिने अवसर यो पार्टी र यसका नेतालाई थियो ।

एकीकृत समाजवादीको नेतृत्वले (माघव नेपाल-झलनाथ खनाल) न त एमालेका कमजोरीहरूबाट सिक्यो, न त नयाँ पार्टी निर्माणको अर्थ, औचित्य र आवश्यकतालाई स्थापित गर्न सक्यो । एमाले जस्तै हुनु तर, एमालेभन्दा सानो हुनु यसको नियति बन्यो । यसले कम्युनिष्ट आन्दोलनको विकल्पमा एक प्रगतिशील, लोकतान्त्रिक र उदार वामपन्थी आन्दोलनको विकल्प दिनसक्ने अवसर गुमायो ।

विशेषतः केपी ओलीको एमाले आलोचना गरेर उदाएको एकीकृत समाजवादीलाई एमाले र ओलीले स्थापित गरिरहेका राजनीतिक तथा सांस्कृतिक अहंकारबाट निस्केर नयाँ लोकतान्त्रिक संस्कृतिसहितको वैकल्पिक वामपन्थी पार्टी बनाउने अवसर थियो ।

तर, एकीकृत समाजवादीको नेतृत्वले (माघव नेपाल-झलनाथ खनाल) न त एमालेका कमजोरीहरूबाट सिक्यो, न त नयाँ पार्टी निर्माणको अर्थ, औचित्य र आवश्यकतालाई स्थापित गर्न सक्यो ।

एमाले जस्तै हुनु तर, एमालेभन्दा सानो हुनु यसको नियति बन्यो । यसले कम्युनिष्ट आन्दोलनको विकल्पमा एक प्रगतिशील, लोकतान्त्रिक र उदार वामपन्थी आन्दोलनको विकल्प दिनसक्ने अवसर गुमायो । तर, आश्चर्य के भने सम्पूर्ण तहमा असफल, उमेरले नेटो काटिसकेका दुई असफल जेष्ठ नागरिकहरू अहिले पनि आफूलाई यो पार्टीको अध्यक्ष बनाउन महाधिवेश प्रतिनिधि र गुटहरूको गणना गरिरहेका छन् । आफ्नो असफलताको न त उनीहरूलाई हेक्का छ, न त आफैँले माटोमा मिलाउँदै लगेको आफ्नै इतिहासको सम्झना छ ।

पार्टीभित्र धेरैले विश्वास गरेका र पार्टी बाहिरबाट पनि आशा गरिएका नेता घनश्याम भुसाललाई पार्टी नेतृत्व सुम्पेर सम्मानित भइ बस्न उनीहरूलाई केले छेकेको होला ? पार्टी जत्रो होस्, त्यसको अध्यक्ष बन्ने लोभले उनीहरूलाई किन छोड्दैन ? आश्चर्य लाग्छ ।

आफ्नै असफलताको भारीले किचिँदा पनि आफूलाई सफल र योग्य भनिरहने जुन तागत नेपालका कम्युनिष्ट नेताहरूमा छ, त्यसलाई हेर्दा मलाई लाग्छ, साँच्चै कम्युनिष्टहरू विशेष धातुले बनेका हुन्छन् । यस्तो लाग्छ, लाज र सरम पचाउने अर्थमा विशेष धातु भनिनु आजका कम्युनिष्टहरूका लागि उपयुक्त शब्दावली हो ।

किनभने धातुमा समयको बोध हुँदैन । सित, वर्षा र गर्मीले उसलाई कसरी झपड हान्दैछ, धातुले त्यसलाई देख्न सक्दैन । किनभने धातुमा जीवन हुँदैन । धातुमा चेतना हुँदैन । धातुमा, विवेक हुँदैन ।

दोश्रो सन्दर्भ छ, हाम्रो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको । अवश्य नै उहाँ सम्मानित हुनुहुन्छ । मलाई लाग्छ, उहाँ सम्मानित हुनुका दुईवटा कारण छन् । पहिलो, उहाँ नेपालको एक सम्मानित नेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । एक प्रतिभाशाली नेता र पतिलाई युवा अवस्थामै गुमाएर पनि उहाँ अविचलित रहनुभयो र राजनीतिमा टिक्नुभयो । यो निकै महत्त्वपूर्ण र प्रेरणादायी कुरा हो ।

अर्को कारण के भने उहाँ नेपालको पूर्वराष्ट्रपति हुनुहुन्छ । हुनुहुन्छ, पहिलो महिला राष्ट्रपति । साधारण गाँउमा हुर्किएकी एक महिला त्यो तहमा पुग्नु आफैँमा महत्त्वपूर्ण र अनुकरणीय कुरा हो । यस्तो ऐतिहासिक कुरा जुन अब यो देशको इतिहासमा अरु कसैलाई प्राप्त हुनेछैन । त्यसैले उहाँ सम्मानित हुनुहुन्छ ।

विचार गरौं त, राष्ट्रपति हुनु भनेको के हो ? भुइँबाट हेर्दा त्यो यस्तो चुचुरो हो, जहाँ आशा, अपेक्षा र संकल्पको उज्यालो छ । जहाँ निष्ठा र नैतिकताको उच्चतम् विम्ब छ । जहाँ उच्चतम् राजनीतिक संस्कार र संस्कति छ । जहाँ यस्तो उदारताको प्रतिविम्ब छ, जसलाई हेरेर सबै गद्गद् हुनसक्छन् । जहाँ देशको यस्तो साझा विम्ब छ, जसले सबैलाई जोड्न सक्छ ।

राष्ट्रपति यस्तो पद र गरिमा हो, जहाँ नेपालीहरूको साझा भावना, सपना र अभिलाषाहरू जोडिन्छन् । राष्ट्रपति भनेको यस्तो ठाँउ हो, जहाँ विद्यादेवी भण्डारी दुई-दुईपटक पदासिन हुनुभयो । र, जीवनकै सबैभन्दा धेरै सम्मान हासिल गर्नुभयो ।

अहिले उहाँ पूर्वराष्ट्रपति हुनुहुन्छ । एक साझा र सम्मानित व्यक्तित्व हुनुहुन्छ । एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । यो पृष्ठभूमिमा भर्खरै एउटा खबर आयो कि उहाँले एमालेको सदस्यता नवीकरण गर्नुभयो । त्यसलाई पुष्टि गर्दै स्वयं उहाँले आफ्नो राजनीतिक सकृयता स्वाभाविक भएको र एमाले आफ्नो पार्टी भएको स्वीकार गर्नुभयो ।

उहाँको राजनीतिक स्वतन्त्रतालाई अवश्य नै सम्मान गर्नुपर्छ । तर, एक पूर्वराष्ट्रपतिलाई कुनै अमूक पार्टीको नेता बन्दा हुने लाभ के होला ? देशको साझा मान्छे, अमूक पार्टीको सदस्य भ पार्टीको सङ्कीर्णताभित्र खुम्चिँदा उसको व्यक्तित्व घट्छ कि बढ्छ होला ?

राष्ट्रपतिको पद र गरिमालाई बाँचुन्जेल स्थापित गर्नुपर्ने मान्छेले स्वयं त्यो पदको गरिमालाई पार्टीको सीमाभित्र सङ्कुचित गर्दा आउने पुस्ताले के भन्ला, आफ्नै इतिहासले के भन्ला र दुनियाँले के भन्ला ? कि त पुटिन हुने रहर भन्नुपर्‍यो ? कि त देशलाई उत्तरकोरिया बनाउने रहर भन्नुपर्‍यो ?

राष्ट्रपतिको पद र गरिमालाई बाँचुन्जेल स्थापित गर्नुपर्ने मान्छेले स्वयं त्यो पदको गरिमालाई पार्टीको सीमाभित्र सङ्कुचित गर्दा आउने पुस्ताले के भन्ला, आफ्नै इतिहासले के भन्ला र दुनियाँले के भन्ला ? कि त पुटिन हुने रहर भन्नुपर्‍यो ? कि त देशलाई उत्तरकोरिया बनाउने रहर भन्नुपर्‍यो ? अन्यथा, एउटा बन्दै गरेको उदार लोकतान्त्रिक गणतन्त्र नेपालका लागि यो उदाहरण कति सुहाउला ?

अथवा विचार गरौं त स्वर्गको चुचुरामा प्रदिप्त दियो, नालीमा झरेर निभ्यो भने त्यो कस्तो देखिएला ?

तर, आश्चर्य आफ्नो गरिमालाई माटोमा मिलाउन मान्छेहरू किन आफैँ मरिहत्ते गर्दछन् ? र, त्यो मान्छेहरूको सूचीमा पूर्वराष्ट्रपति नै कसरी आउँछन् ? देशको पूर्वराष्ट्रपति अमूक दलको सदस्य वा नेता बन्दा त्यो पदको गरिमा कमजोर हुन्छ भन्ने स्वयं उहाँलाई किन लाग्दैन ? देशको साझा विम्ब बन्ने त्यो उदार चेतनालाई धुलोमा मिलाउन उहाँलाई के ले प्रेरित गर्‍यो होला ?

राजनीतिमा नैतिकता र निष्ठाका मानकहरू निकै ठूलो बलिदानपछि मात्र बन्दछन् । अनेक प्रयत्नले बनेको निष्ठा र नैतिकताको साझा विम्बलाई भत्काउन हाम्रा कम्युनिष्ट नेताहरूलाई किन यस्तो हतार हुन्छ ? यो यस कारणले हुन्छ कि कम्युनिष्टहरू साधारण नैतिकता र निष्ठाको सीमाबाट सोच्दैनन् । खासमा उनीहरूसँग नैतिकता र निष्ठा भन्ने चिज नै हुँदैन । किनभने उनीहरू विशेष धातुले बनेका हुन्छन् र धातुको कुनै नैतिकता र निष्ठा हुँदैन । धातुले कहिल्यै यसरी सोच्दैन ।

तेश्रो कुराचाहिँ कमरेड प्रचण्डकै गर्दा हुन्छ, खरतनाक क्रान्ति गरेर सत्तामा आएका प्रचण्डसँग जोडिने अनेक सन्दर्भहरू छन् । तर, मूल कुरा छ उनकै नेतृत्वमा चलेको सशस्त्र सङ्घर्ष, त्यसको सपना र संकल्प । जुन सङ्घर्षमा हजारौं मान्छे सहभागी भए, जसको एउटै सपना थियो परिवर्तन ।

मान्छेहरू भन्छन्, प्रचण्ड आज त्यहाँ छन् जहाँबाट देखिन्छ मात्र बालुवाटार, सिंहदरबार र बालकोट । उनी सत्ताको यस्तो उन्मक्त घोडामा सवार छन्, जो मात्र केही मुठ्ठिभर दरबारहरूमा चाकरी बजाउन जान्छ र बाँकी समय सिंहदरबारमा घोसेमुन्टो लगाएर दिन काट्छ ।

विचार गरौं त दश वर्षे द्वन्द्वमा आधारतहका मान्छेलाई विद्रोहको चेतना दिने प्रचण्ड आज कहाँ छन् ? हिजो उनको वरिपरि को थिए र आज उनको वरिपरि को छन् ? कहाँ छन् उनले लगाएका क्रान्तिका नाराहरू र कहाँ छन् उनले देखाएका परिवर्तनका सपनाहरू ? स्वयं आफ्नै क्रान्ति, आफ्नै विद्रोह, आफ्नै नारा र आफ्नै इतिहासलाई घोका दिएर भुत्ते, लालची र गतिहीन बन्न कोही कसरी सक्छ ?

मान्छेहरू भन्छन्, प्रचण्ड आज त्यहाँ छन् जहाँबाट देखिन्छ मात्र बालुवाटार, सिंहदरबार र बालकोट । उनी सत्ताको यस्तो उन्मक्त घोडामा सवार छन्, जो मात्र केही मुठ्ठिभर दरबारहरूमा चाकरी बजाउन जान्छ र बाँकी समय सिंहदरबारमा घोसेमुन्टो लगाएर दिन काट्छ ।

उनी आज सिंहदरबारको यस्तो अट्टालिकामा बसेर दुनियाँ हेर्दैछन्, जहाँबाट नियाल्दा, महिलाहरू देखिँदैनन्, दलितहरू देखिँदैनन्, किसान र मजदुर देखिँदैन । त्यो यस्तो ठाँउ हो, जहाँबाट मधेस र कर्णाली देखिँदैन । त्यो यस्तो ठाँउ हो, जहाँबाट अरबको मरुभूमिमा पसिना बगाउने युवा र सल्लाघारीको बाटोबाट अमेरिका हिँड्दै गरेको सपना देखिँदैन । मात्र देखिन्छन् आफ्ना वरिपरिका आसेपासे, आफ्नो सत्ताको न्यायो कुर्सी र अंकगणितमा कामलाग्ने सहयात्री दलका आफूजस्तै अहंकारी मठाधिसहरू ।

तीन-तीनपटक प्रधानमन्त्री भएपछि पनी प्रचण्डमा परिवर्तनको चेतना किन आएन ? पार्टी घट्दै जाँदा पनि आफ्नो उथलपुथलको दम्भमा उनी किन रमाउँछन् ? स्वयं आफ्नै इतिहासले उनलाई किन पिरोल्दैन ? त्यो यसकारण हुन्छ कि उनी कम्युनिष्ट हुन् र कम्युनिष्टहरू विशेष धातुका हुन्छन् । विशेष धातुसँग आलोचना सुन्ने र आफूलाई बदल्ने कुनै चेतना हुँदैन ।

अस्ति भर्खर संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘गजब हुँदैछ’ । यता भुइँमा मान्छेहरू चौतर्फी सङ्कटले घेरिएका छन् र अतालिएका छन् । यस्तो बेला कमरेड प्रचण्डको बोलीमा बोली मिलाउँदै अन्य कमरेडहरू नारा लगाए– ‘सबै ठिकठाक छ’ । मान्छेहरू तर्सिएका बेला, सबै ठिकठाक देखिन्छ कसरी ? कस्ता आँखा हुन्, जसले मान्छेको आँसु देख्दैन, फगत मुस्कान देख्छ । ती कमरेडका आँखाहरू हुन्, जो विशेष धातुले बनेका हुन्छन् र धातुसँग मान्छेलाई देख्ने आँखा हुँदैन।

आज गरिबहरू खुसी छैनन । गृहणीहरू खुसी छैनन् । दलितहरू खुसी छैनन् । जनजाति खुसी छैनन् । विद्यार्थी खुसी छैनन् । लेखक, कवि, कलाकार खुसी छैनन् । तर, पनि सरकार गद्गद् छ र प्रधानमन्त्री हर्षित छन् ।

पछिल्ला तथ्यहरू बोल्छन्, प्रचण्ड सरकारसँग आम जनता खुसी छैनन् । सरकारसँग पूर्वाग्रह राखेर मान्छेहरू बेखुसी भएका होइनन् । उनीहरू यसकारण बेखुसी छन् कि सरकारले मान्छेको जीवनलाई बेवास्ता गरेको छ । महङ्गी घटेन । भ्रष्टाचार घटेन । शिक्षामा फेरबदल भएन । स्वास्थ्यमा फेरबदल भएन । यस्ता अनेक कारणले मान्छे बेखुसी छन् ।

आज गरिबहरू खुसी छैनन । गृहणीहरू खुसी छैनन् । दलितहरू खुसी छैनन् । जनजाति खुसी छैनन् । विद्यार्थी खुसी छैनन् । लेखक, कवि, कलाकार खुसी छैनन् । तर, पनि सरकार गद्गद् छ र प्रधानमन्त्री हर्षित छन् । भुइँका मान्छेहरू बेखुसी हुँदा पनि सिंहदरबारमा चकाचौध हुन्छ कसरी ? किनभने सिंहदबारमा कम्युनिष्टहरू छन् । कम्युनिष्टहरू विशेष धातुका हुन्छन् र विशेष धातुका मान्छेहरू यसकारण असाधारण हुन्छन् कि उनीहरूसँग मन र विवेक हुँदैन ।

दुर्भाग्यसाथ भन्नुपर्छ कि यो देशमा तिनै मान्छेहरू खुसी छन्, जो कम्युनिष्ट पार्टीसँग हिस्सेदारी गर्दछन् । यो देशमा या त मन्त्री, सांसद, सरकारी नियुक्ति पाउने र पार्टी सदस्यहरू खुसी छन्, या त खुसी छन् तिनका आसेपोहरू, जसको सपना छ कमिसन पचाउने ।

योबीचमा सयौं मन्त्रीहरू बने । लगभग हजार, दुईहजार मान्छे सल्लाहकार बने । पटक पटकगरी झन्डै तीनहजार मान्छे सभासद/सांसद बने । हुनसक्छ, योबीचमा साना-ठूलागरी एक/दुई लाखले लाभको पद प्राप्त गरे । कोही जनप्रतिनिधि बने, कोही राजदूत, केही विज्ञ त कोही सल्लाहकार ।

निश्चयनै आज ती मान्छेहरू खुसी छन्, जसले गाँउ-गाँउमा सिंहदरबार खडा गरेका छन् । अथवा, ती मान्छेहरू खुसी छन्, जसले विचौलिया अर्थतन्त्रको सम्राज्य बनाएका छन् । जसले सत्ताको स्वाद चाखेका छन् । जसले लोकतन्त्रको मजा लिएका छन् ।

अन्यथा, सिंहदरबारले नदेखेका बाँकी रैतीहरू कहाँ खुसी छन् ? तर, कमरेडहरू रैतीहरूलाई देख्दैनन् । त्यस्तो यसकारणले हुन्छ कि कमरेडहरूसँग सत्य देख्ने आँखा छैन । किन भने उनीहरू विशेष धातुले बनेका छन् । र, धातुसँग कुनै आँखा हुँदैन ।

अन्त्यमा थोरै भन्नु छ, कमरेडहरू धातु र मान्छेमा धेरै फरक हुन्छ । धातुको मन हुँदैन । धातुको जीवन हुँदैन । धातुसँग लाजशरम हुँदैन । धतु निर्वस्त्र हुन्छ, निर्लज्ज हुन्छ । तर, मान्छेको मन हुन्छ । मान्छेको जीवन हुन्छ । मान्छेको चेतना हुन्छ ।

अब तपाईं के हो आफैँ भन्नुहोस् ? तपाईं मान्छे बन्ने कि धातु आफैँ विचार गर्नुहोस् ? तर यति कुरा, विचार गर्नुहोस् कि आज मान्छेले मन भएको नेता खोजेका छन् । यस्तो नेता, जसले किनारमा फ्याँकिएका निर्धामान्छेहरूको दु:खको रहस्य थाहा पाओस् ।

नेता महोदय, कृपया ! आफ्नो विशेष धातुको काया फाल्नुहोस् र मान्छे बन्नुहोस् । मान्छे बनेपछि लाज, घिन, नैतिकता र निष्ठाका सीमाहरू तपाईं स्वयंले देख्नुहुनेछ । त्यसपछि संसार हिजो तपाईंले देखेभन्दा भिन्नै हुनेछ । जब संसारलाई तपाईं मान्छे भएर हेर्नुहुनेछ, त्यसले स्वयं तपाईंलाई धेरै फरक पार्नेछ । र, त्यसपछि तपाईंको राजनीति पनि फरक हुनेछ ।

[email protected]

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved