शंखमुलमा जुत्ता सिलाइरहेका नाम नखुलाउने युवक

उनी शंखमूलमा एक्लै बस्छन् । जुत्ता सिलाउने कामबाट आर्जेको पैसा आफ्नै लागि खर्चिन्छन् । उनी र उनको कामको बारेमा कसैलाई केही थाहा छैन । घरमा पनि कसैलाई नभन्नु भनेका छन् उनले ।

शंखमुलमा जुत्ता सिलाइरहेका नाम नखुलाउने युवक

काठमाडौं । भुँइमा बोरा ओछ्याइएको छ । त्यसमाथि स–सानो दुई वटा ह्यामर र जुत्ताको सोलको सानो चाङ छ । विभिन्न रङका पोलिसका बट्टाहरू र सियोधागो लगायतका खत्र्याकखुत्रुक सामान फिँजिएका छन् । भित्तामा जुत्ताका थरीथरीका लेस झुण्डिएका छन् ।

छाताको करङ निकालेर बाहिरी कपडालाई ओछ्याउने बनाएका एक युवक मोबाइलमा घोरिइरहेका थिए । कानमा हेडफोन लगाएका उनी कुनै गीत सुनिरहेका थिए भन्ने अनुमान गर्न सकिन्थ्यो, तर ठोकुवा गर्न सकिन्थेन ।

आफ्नो छेउमा उभिएको पत्रकारलाई उनले पहिलो सर्त राखे- ‘मेरो फोटोचाहिँ नखिच्नुस् ल !’

त्यसपछि उनी उठेर अलि पर गए । ठिंग उभिए । अनि अर्को सर्त पनि राखे- ‘नाम पनि नलेख्नुहोला ।’

दुई ‘कडा’ सर्तपछि मात्रै कुरा गर्न तयार भएका थिए- जुत्तासँगै जीवन सिलाइरहेका एक पात्र ।

उनलाई आफ्नो कामबाट परिचित हुनु छैन । नामबाट पनि परिचित हुनु छैन । जे चलिरहेको छ, चल्न दिनुस्, नउधिन्नुस् भन्ने उनको आशय थियो । तैपनि, उनी खुल्दै गए ।

समयको खेल

सर्लाही स्थायी घर भएका उनी दुई वर्षदेखि ललितपुरको शंखमुल परिसरमा जुत्ता सिलाउँदै बसेका छन् । सबै जना आफ्नै काममा व्यस्त रहने सहरमा उनको विगत र बाध्यता खोतल्ने फुर्सद कसैसँग छैन ।

हजारौँ मानिसको भिडमा बसेका उनलाई कसैको परवाह छैन, छ त केवल मेहनतको पैसाको । उनीकहाँ धेरै मानिसहरू जुत्ता सिलाउन र सफा गर्न आउँछन् । बाहिरी व्यक्तित्वमा निखारता ल्याएको भ्रम पाल्छन् । ग्राहकसँग खासै खुलेर कुरा गर्दैनन् उनी । तोकिएको काम गर्छन्, तोकिएको शुल्क लिन्छन् । त्यति नै हो ग्राहकसँग उनको सामिप्यता । सम्बन्ध । सरोकार ।

दिग्दारीले घर छाडेका उनी आफ्नो परिचय सबैबाट लुकाउन चाहन्छन् ।

उमेरले २७ वर्ष टेकेका अविवाहित हुन् ।

एसएलसीपश्चात् गाउँमा दौँतरी पातलिँदै गए । उनका साथीहरू सबैले आ–आफ्नो भविष्यको बाटो समात्न थाले । बाल्यकालका ती स–साना खुसी र बिन्दास जिन्दगीबाट दुरी बढाउँदै गएका साथीहरू समयसँगै परिवर्तन हुँदै गए ।

उनीसँग आफ्नो भविष्यलाई लिएर कुनै सपना थिएन । उनी वर्तमानमा बाँच्न चाहन्थे । भन्छन्, ‘साथीहरू सबै कोही कता, कोही कता पुगे । मैले गाउँ छोड्न सकिनँ । पढिनँ पनि । जे छ, त्यसैमा रमाउनुपर्छ जस्तो लाग्थ्यो त्यो बेला ।’

अहिले उनलाई आफ्नो सोचप्रति नै पश्चात्ताप छ । त्यसबेला साथीहरू जस्तै पढ्नलाई गाउँ छाडेको भए आफूले पनि धेरै प्रगति गरिसक्ने थिएँ भन्ने लाग्छ उनलाई ।

समय बितेसँगै साथीहरूको प्रगतिका गुणगान सुन्न पाए उनले । फेसबुकमा उनीहरूको जीवनशैलीले उनलाई उकुसमुकुस भयो ।

‘आफ्नै साथीहरूको सामु रहन लाज लाग्न थाल्यो । अप्ठ्यारो लाग्थ्यो । त्यसैले काठमाडौं भासिएँ’, उनी भन्छन् ।

‘अहिले कोही साथी जागिरे छन् । कोही पढ्दै केही गरिरहेका छन् । कोही गाउँमै राम्रो बिजनेस गरिरहेका छन् । कोही विदेश पुगेर राम्रो कमाइरहेका छन् । म भने काठमाडौंमा जुत्ता पालिस गरेर बसिरहेको छु’, उनमा भावुकता छायो ।

आफ्नो कामको कमाइबाट उच्चस्तरको जीवनशैली जिउन सकिँदैन भन्ने उनलाई लागेको छ । त्यसैले आफ्नो कमाइ र रहरको जीवनशैलीलाई दाँज्नासाथै उनमा दिग्दारी मडारिन्छ ।

‘राम्रो खान. मीठो लाउन मन त लाग्छ । तर, अब त्यो रहरमा बाँच सकिँदैन भन्ने थाहा छ । म जुत्ता सिलाउँछु, मैले रमाउने कामसँगै हो । अनि मेरो काम यही हो’, उनले भने ।

उनी शंखमूलमा एक्लै बस्छन् । जुत्ता सिलाउने कामबाट आर्जेको पैसा आफ्नै लागि खर्चिन्छन् । उनी र उनको कामको बारेमा कसैलाई केही थाहा छैन । घरमा पनि कसैलाई नभन्नु भनेका छन् उनले ।

‘मैले कहिल्यै सोचेको थिइनँ, जिन्दगीमा यस्तो काम गरेर बस्न पर्छ भनेर । अब भोलि के हुन्छ, म कता पुग्छु, त्यो मलाई नै थाहा छैन । यो सबै समयको खेल हो ।’

लगानी गरेर राम्रो बिजनेस सुरु गर्नलाई पनि उनीसँग पर्याप्त पुँजी छैन । देश छाड्नका लागि प्रयास गरिरहेका छन्, उनी ।

कामप्रतिको असन्तुष्टि

उनी आफ्नो काममा पटक्कै सन्तुष्ट छैनन् । जुत्ता सिलाउनुलाई हेपाहा कामको रूपमा लिन्छन्, उनी । तर, यो नितान्त उनको जीवन भोगाइ पनि हो ।

कहिलेकाहीँ ग्राहकहरूको व्यवहारले दिग्दारी थप्छ । भन्छन्, ‘कहिलेकाहीँ रिसाहा ग्राहक आउँछन् । कराएर, थर्काएर काम लगाउँछन् । चुपचाप सहनुबाहेक अरू विकल्प पनि त छैन । भोलि पनि सडकमा काम गरेर खान पर्छ । कामको सम्मान हुँदैन यहाँ ।’

उनलाई रिसाहा ग्राहकले मात्र सताउँदैनन् । नगर प्रहरीप्रति पनि उनको भय बेस्सरी छ । बेलाबेला अचानक भेटिएका नगर प्रहरीले दिएको धम्कीले उनलाई निकै दुःखी बनाउँछ ।

सामान खोस्न खोज्छन् । त्यतिबेला उनलाई नगर प्रहरीले पेटमै लात्ती बजारेजस्तै लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved