आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

नेपालभ्युज

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

काठमाडौं । आज २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । कृषिमन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थितिमा सरकारको विशेष कार्यक्रम हुँदैछ । यस्तै विभिन्न दलका भातृसंगठनहरुले पनि कार्यक्रम गर्दै आएका छन् ।

आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवको रुपमा धान रोप्ने चलन छ ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ ।

नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वर भूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

दहीच्युराको संस्कृति

असार १५ भनेपछि दहीच्युरा जोडिएर आउँछ । आजको दिनलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।

दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved