भारतलाई टी–२० विश्वकपको उपाधि जिताएसँगै सन्यास लिएका रोहित र विराटले के भने ?

नेपालभ्युज

भारतलाई टी–२० विश्वकपको उपाधि जिताएसँगै सन्यास लिएका रोहित र विराटले के भने ?

काठमाडौं। भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र लेजेन्डरी ब्याट्सम्यान विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन्।

दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतलाई उपाधि जिताएपश्चात रोहित र विराटले सन्यास लिएका हुन् । टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ७६ रन प्रहार गरेका कोहली म्यान अफ द म्याच घोषित भएका थिए।

सन् २०११ पश्चात भारतलाई विश्वकप जिताउने कप्तान रोहित अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने सूचीमा पहिलो र कोहली दोस्रो स्थानमा छन् ।

सन्यासपछि रोहितले भने, ‘मैले हरेक क्षणलाई मनपराएँ । मैले यहि फर्म्याटमार्फत भारतका लागि खेलेर आफ्नो करिअर सुरु गरेको थिएँ । मलाई कप जितेर धन्यवाद भन्नु थियो। ’

कोहलीबारे रोहितले भने, ‘ उ पक्कै पनि एउटा च्याम्पियन खेलाडी हो । हाम्रो लागि उसले के गरेको छ, यो हामी सबैलाई थाहा नै छ। एक विन्दुमा पुगेर सबैजना विदा हुनै पर्छ र विराटले स्पष्ट रुपमा पनि यहि चाहेका थिए ।’

‘भारतको लागि अन्तिम टी–२० खेल हो । मैले खेलेको अन्तिम विश्वकप । मलाई भरपुर योदान गर्नु थियो । यो हामी सबैको लक्ष्य थियो । हामीलाई कप उचाल्नु थियो,’ प्लेयर अफ द म्याच बनेका कोहलीले भने, ‘टोलीलाई आवश्यक परेको बेला आफ्नो कार्य गर्न सफल भएँ, म आभारी छु।’

कोहलीले भारतका लागि कुल १२५ टी–२० खेल खेल्दा ४ हजार १८८ रनको योगदान गरे। जबकी १५९ खेल खेलेका रोहितले ४ हजार २३१ रन बनाए । रोहितको १५९ क्याप अहिले सम्मकै सर्वाधिक हो ।

यद्यपि, दुवै खेलाडीले भारतका लागि टेस्ट र एकदिवसीय भने खेलिरहने बताएका छन् । मुख्य प्रशिक्षक राहुल द्रविडको प्रशंसा गर्दै रोहितले भने, ‘हामीमध्ये अरुभन्दा पनि उनले ट्रफी डिजर्भ गर्छन् । उनको लागि जित्न सकेकोमा हामी निकै खुसी छौँ।’

३ जुनमा भएको प्रेस मिटमा द्रविडले यस पटकको विश्वकपको मुख्य प्रशिक्षकको जिम्मेवारी नै उनको लागि अन्तिम हुने बताएका थिए। विश्वकप सकिएसँगै उनको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सकिएको छ ।

२०२१ नोभेम्बरमा द्रविडले रवि शास्त्रीको स्थानमा भारतको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका थिए।

उनकै प्रशिक्षणमा भारतले सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनल, २०२३ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल र एकदिवसीय विश्वकप फाइनल खेलेको थियो । गत नोभेम्बरमा घरेलु मैदानमा एकदिवसीय विश्वकपमा लगातार १० खेल जितेर पनि फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

त्यस्तै द्रविडको प्रशिक्षणमा भारतले २०२३ को एसिया कप उपाधि पनि जितेको थियो । २०२४ विश्वकपमा भने भारत ९ खेलमा अपराजित रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved