सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको छ : अर्थमन्त्री पुन

नेपालभ्युज

सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथिको छलफलमा भाग लिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक र बाह्य ऋण लिने मात्रै नभएर सरकारले उठाउने राजश्वबाट सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने गरेको भन्दै ऋण तिर्ने क्षमतामा सुधार हुँदै गएको दाबी गरे ।

उनले बाह्य ऋणको सावाँ र ब्याजको भुक्तानी गर्दा विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भए पनि मुलुकको विदेशी विनिमय सञ्चिति प्राप्त रहेकाले विदेशी मुद्रामा सावा ब्याज भुक्तानी गर्न समेत कुनै समस्या नरहेको बताए ।

२०८० असार मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको भन्दै उनले २०८१ जेठ मसान्तसम्म २४ खर्ब ३४ करोड पुगेको बताए । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४२।०८ प्रतिशत रहेको उनको भनाई छ ।

‘सरकारले सार्वजनिक ऋण उठाउने मात्रै नभएर उल्लेख्य रकम सावाँ भुक्तानीमार्फत तिर्दै आएको छ । यसबाट सरकारको ऋण तिर्ने क्षमतामा समेत सुधार हुँदै गएको देखिन्छ’, उनले भने ‘मुलुकको विदेशी विनिमय सञ्चिति प्राप्त रहेकाले विदेशी मुद्रामा सावा ब्याज भुक्तानी गर्न समेत कुनै समस्या रहेको छैन । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिस अनुसार मात्र आन्तरिक ऋण लिने गरेको छ ।’

उनले चालु आर्थिक वर्षको जेठसम्म सरकारले आन्तरिक ऋणतर्फ २ खर्ब २५ अर्ब र बाह्य ऋणतर्फ ८२ अर्ब ६७ करोड २८ लाख गरी ३ खर्ब ७ अर्ब ६७ करोड २८ लाख सार्वजनिक ऋण परिचालन गरेको बताए । —न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved