‘दोहा वार्तामा अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने’

नेपालभ्युज

‘दोहा वार्तामा अफगानिस्तानका आन्तरिक मुद्दामा छलफल नहुने’

काबुल । अफगान्स्तानको विषयमा हुन लागेको दोहा सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ नेतृत्वको बैठकअघि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानका आन्तरिक मुद्दाहरूमा छलफल नहुने र राष्ट्रका आन्तरिक मुद्दा कुनै पनि हिसाबले संयुक्त राष्ट्रसङ्घको विषय नभएको बताएका छन् ।

तेस्रो दोहा बैठक जुन ३० देखि जुलाई १ सम्म कतारमा हुनेछ । मुजाहिदका अनुसार तालिबानले दोहा शिखर सम्मेलनमा अफगानिस्तानसँग अन्तरक्रिया गर्न देशहरूलाई आमन्त्रित गरेको छ ।

“यो बैठकमा हाम्रो सहभागिता कुनै पनि पक्षको विरुद्धमा नभई सबै पक्षहरूसँग संलग्नता हो,” तालिवान प्रतिनिधिले भने । “तेस्रो दोहा शिखर सम्मेलनमा अफगानिस्तानको आन्तरिक समस्याहरू सम्बोधन गरिने छैन किनभने यो राष्ट्रसङ्घको नभई देशको सान्दर्भिकताको विषय हो,” उनले भने ।

मुजाहिदले केही सर्तहरूमा तालिबानले यस सम्मेलनमा भाग लिइरहेको बताए । तर यसबारे विस्तृत जानकारी भने दिएनन् ।

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानप्रति साझा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न मे २०२३ मा दोहामा तालिबानबिना पहिलो अफगानिस्तान सम्मेलन आयोजना गरेको थियो । यस वर्षको फेब्रुअरीमा कतारको दोहामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दोस्रो अफगानिस्तान सम्मेलन आयोजना गरेका हुन् ।

राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि उपमहासचिव रोजमेरी डिकार्लोले मे १८ देखि २१ सम्म अफगानिस्तानको भ्रमण गरेका थिए । फेब्रुअरी २०२० मा संयुक्त राज्य अमेरिका र तालिबानले मे २०२१ सम्म अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अप्रिल २०२१ मा नेटोका विदेश र रक्षामन्त्रीले केही महिनाभित्र अफगानिस्तानबाट सबै सहयोगी सेनाहरू फिर्ता लिने निर्णय गरेका थिए ।

अमेरिका र नेटो सेनाले देशबाट फिर्ता हुने घोषणा गरेपछि तालिबानले प्रमुख सहरहरूमा आक्रमण सुरु गरेको थियो । एक हप्ताभन्दा कम समयमा तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये सातवटा कब्जा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved