के प्रचण्डको ‘जादुयी नम्बर’ कमजोर भएको हो ?

के प्रचण्डको ‘जादुयी नम्बर’ कमजोर भएको हो ?

काठमाडौं । केही दिनअघि एउटा सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए- हाम्रो जादुवाला नम्बर छ । त्यो जादुले जे गरेर भएपनि मिलाइहाल्छ । गठबन्धन पाँचैवर्ष जान्छ, त्यसकारण चिन्ता लिनुपर्दैन ।

तर, यहाँसम्म आउँदा प्रधानमन्त्री प्रचण्डको चिन्ताको ‘ग्राफ’ निरन्तर बढ्ने क्रममा छ । कारण, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको शनिवारको सभा दुईघण्टे वार्ता ।

ओली-देउवाबीच भएको सभा दुईघण्टे वार्तापछि ‘झस्किएका’ प्रधानमन्त्री प्रचण्डले ओलीसँग संवाद गरिसकेका छन् । संवादमा वर्तमान सत्ता गठबन्धनलाई टिकाएरै अगाडि बढ्नेबारे छलफल भएको नेताहरूले बताए ।

तर, उता ओली-देउवाबीचको शनिवारे वार्तामा पनि मिलेर अघि बढ्ने (सरकार गठन गर्ने) सम्मको छलफल भएको र त्यसबारेका छलफललाई निरन्तरता दिनेमा सहमति भएको नेताहरू बताउँछन् । कांग्रेसका एक नेताले नेपालभ्युजसँग भने, “तत्काल नै केही हुने होइन, यसमा कसैले केही आशङ्का नपाल्दा भयो । तर, पछि गएर सहकार्यसम्म गर्न सकिने अवस्था बन्नसक्छ । दुई नेताहरूबीच यिनै विषयमा कुराकानी भयो भन्ने जानकारी पाइयो ।”

उसो त पछिल्लो समय एमाले-कांग्रेस मिल्नुपर्ने आवाज बलियो बन्दै गएको देखिन्छ । पार्टीभित्र वा बाहिर; यसखाले आवाज उठिरहेकै छ । एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायतले दुई ठूला पार्टीहरू मिलेर अगाडि बढ्नुपर्ने भन्दै नेतृत्वमाथि आन्तरिक दबाब  दिने गरेका छन् ।

यस्तै यता कांग्रेसभित्र पनि यो आवाज ठूलै सुनिन्छ । उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, संस्थापनइतर नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले दुई ठूला दलहरू मिलेर स्थायी सरकार चलाउनुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाइरहेका छन् ।

यहीबेला ओली-देउवाबीच सभा दुई घण्टा वार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हुन पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग एमाले-कांग्रेस दुवै खुसी छैनन् । आफूअनुकूल कहिले एमालेसँग त कहिले कांग्रेससँग लाग्ने गरेका प्रधानमन्त्री प्रचण्ड अहिले भने निकै डराएका छन्, उनलाई एमाले-कांग्रेस दुवैले ‘धोकेवाज’ करार गरिरहेका छन् ।

पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा गुमेको साख कायम गर्ने र नगरेका काम गर्ने भन्दै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले शनिवार साँझ पार्टीका कतिपय नेताहरूलाई ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेछन्…’ भनेर सूचना पठाएका थिए । उनले यदि त्यसैगरी सन्दर्भ अगाडि बढ्ने भयो भने के गर्ने ? भनेर सुझावसमेत मागेका थिए ।

प्रचण्डले आफूनिकटका नेताहरूलाई भनेबमोजिम नै शनिवार देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको बताइन्छ । तर, कांग्रेस नेताहरू यसबारे बताउन चाहँदैनन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक भन्छन्, “उहाँहरूबीच देशका जल्दाबल्दा समस्या, राष्ट्रिय राजनीतिलगायतका विषयमा कुराकानी भएको हो । अरु थाहा भएन ।”

कांग्रेस स्रोतले बताएअनुसार भने आइतबार बिहान आफूनिकटका नेताहरूलाई बूढानीलकण्ठ बोलाएर देउवाले एमालेसँग मिल्नका लागि वातावरण बनाउन र मिल्नुपर्ने अवस्था आउनसक्ने बताएका थिए । स्रोतले भन्यो, “बूढानीलकण्ठमा एमालेविरुद्ध नबोल्न र सहकार्यको वातावरण बनाउन निर्देशन गरिएको छ ।”

माओवादी केन्द्रका नेताहरू भने एमाले-कांग्रेसबीच सहकार्य नहुने बताउँछन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालभ्युजसँग भने, “डेमोक्रेसीमा दुई दलका नेताबीच संवाद हुनुलाई सामान्य रूपमा लिनुपर्छ । बाहिर भएको चर्चाजस्तो केही हुने देखिँदैन । उहाँहरू मिलेर जाने भन्ने कुरा होइन । ठूलो रूपमा लिएका छैनौँ ।”

प्रवत्ता अग्निप्रसाद सापकोटा भने यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिन्छन् । “कुरा सुनिएको हो । के-के भए थाहा हुने कुरा भएन । थप अपडेट भएर मात्रै बोल्छु,” उनले भने ।

यदि एमाले-कांग्रेस मिले भने आरामदायी बहुमत जुट्छ । सरकार गठनका लागि १३८ सिट आवश्यक पर्नेमा यी दुई दल मिल्दा १६० भन्दा माथि पुग्छ । त्यसपछि यदि ओली-देउवाबीच ‘इगो’ साँधासाँध भएन भने अङ्कगणितको सुर्ता गर्नुपर्दैन ।

तर, कतिपयले भने पहिलो र दोस्रो दल सत्तापक्ष बन्दा संसद्‌‌मा प्रतिपक्षीय दबाब कम हुने चिन्ता व्यक्त गर्छन् । एमाल-कांग्रेसबीच सत्ता सहकार्य होला नहोला, हेर्न बाँकी छ । यसभित्र मिल्नुपर्ने दबाब भने ठूलै देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved