स्टार्टअप उद्यम कर्जा दिन थालियो, देशभरबाट आयोजना छानिए

नेपालभ्युज

स्टार्टअप उद्यम कर्जा दिन थालियो, देशभरबाट आयोजना छानिए

काठमाडौं । स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई एक करोडभन्दा बढी रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा दिइएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट रकम वितरण गरिएको औद्यौगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले अहिलेसम्म १९ व्यवसायीलाई एक करोड एक लाख ५० हजार रुपियाँ वितरण गरिएको जानकारी दिए ।

स्टार्टअप उद्यम कर्जामा छनोट भएका परियोजनालाई यो साताभित्रमा कर्जा वितरण गरिसक्ने उनले बताए । सूची तयार पारेसँगै सहुलियतपूर्ण कर्जा वितरण सुरु भएको हो । छनोटमा परेको परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउन थालेका छन् ।

सरकारले चालु आवको बजेटमार्फत स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा वितरण गर्न २५ करोड विनियोजन गरेको थियो । विगत चार वर्षदेखि बजेटमा घोषणा हुँदै आएको स्टार्टअप उद्यम कार्यक्रम अहिले आएर कार्यान्वयनमा आएको छ ।

छनोटमा परेका १८३ परियोजनालाई ५ लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म सहुलियत पूर्ण ऋण दिइएको छ । प्रतिष्ठानका अनुसार पहिलो किस्ताबापत पाँच लाख रुपियाँ दिइने छ ।

पहिलो किस्ताको प्रगति विवरणको प्रतिवेदनपछि दोस्रो किस्ता दिइने कार्यविधि छ ।

सरकारले दिने ऋण भएकाले बैंकले बिनाधितो र धरौटी आयोजनालाई ऋण प्रवाह गर्ने छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकले परियोजना र सञ्चालक कालो सूचीमा परे नपरेकोलगायतका कुरा हेर्ने छ ।

यो कार्यविधिमा ५० लाख रुपियाँसम्म चुक्ता पुँजी भएका कम्पनी र वार्षिक आम्दानीसमेत ५० लाखसम्म मात्रै हुनुपर्ने व्यवस्था छ ।

प्रत्येक वर्षको भाषणमा पर्ने गरे पनि सहुलियतपूर्ण ऋण वितरणमा समस्या भएपछि सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ बनाएको थियो ।

यो कार्यविधि अनुसार सुरुमा स्टार्टअपलाई २५ लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा वितरण गर्ने भनिएको थियो तर वितरण गर्ने समयसम्ममा भने २५ लाखबाट झरेर २० लाखमा आइपुगेको हो ।

कार्यविधिमा आधारित रहेर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माघ १९ गतेदेखि फागुन १० गतेसम्म आवेदन माग गरेको थियो । त्यस क्रममा एक हजार ६ सयभन्दा बढी आवेदन परेको थियो ।

सहुलियतपूर्ण कर्जा पाउने परियोजनाको सूचीमा कृषि, पशुपन्छी, डेरी, चिया, दुनाटपरीलगायतका उद्योग छन् ।

यस्तै हाते कागज बनाउने उद्योग, रोबोटिक्स एन्ड रिसर्च सेन्टरसहित फेसन, सूचना प्रविधिमा आधारित उद्योग छन् । सहुलियतपूर्ण कर्जाका लागि काठमाडौँ उपत्यकासहित देशभरबाट आयोजना छानिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved