करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्करी, २५ जना पक्राउ, केही अझै फरार

नेपालभ्युज

करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्करी, २५ जना पक्राउ, केही अझै फरार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो पटक भएको सुन तस्करीको अनुसन्धान सकिएको जनाएको छ ।

ब्युरोले सोमबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । ब्युरोका प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले विगत चार महिनाको कडा मेहनत र परिश्रमबाट अनुसन्धान निष्कर्षमा पुगेको बताए ।

फिल्डमा अनुसन्धानको नेतृत्व गरेका डिएसपी सुन्दर तिवारीले ६० किलो सुन बरामद भएपछिको अनुसन्धानका क्रममा निकै ठूलो परिमाणमा तस्करी भएको पत्ता लागेको बताए ।

उनका अनुसार ६० किलो तस्करी गर्ने विभिन्न समूहले ३ हजार १९४ किलो सुन तस्करी गरेको पाइएको छ । उक्त सुनको मुल्य ३० अर्ब ८२ करोड २२ लाख भन्दा धेरै हुने ब्युरोले जनाएको छ ।

सीआइबीले यो तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेको र तिमध्ये २४ जना पूर्पक्षका लागि थुनामा रहेको जानकारी समेत दिएको छ । तस्करीमा संलग्न केही व्यक्ति अझै फरार छन् ।

तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न भएको पाइएको छ । अनुसन्धानकै क्रममा एक नेपालीले आत्महत्या गरेका छन् । चिनियाँ नागरिकसँग सम्पर्क गरी सुन नेपाल ल्याउने गुम्बु भन्ने गाम्बा शेर्पाले आत्महत्या गरेका थिए । उनको मोबाइलबाट अनुसन्धानमा धेरै सहयोग सीआइबीले जनाएको छ ।

तस्करीपछि रकम भुक्तानीका लागि विभिन्न अनलाइन पेमेन्ट कम्पनीलाई प्रयोग गरिएको पाइएको सीआइबीले जनाएको छ ।

ब्रेक शुमा ३६२ किलो र अन्य विभिन्न इलेक्ट्रोनिक्स सामानमा लुकाएर २८३१ किलो सुन तस्करी भएको पाइएको छ । तस्करले विभिन्न सप्लायर्स कम्पनीलाई पनि यसमा संलग्न गराएका थिए ।

डिएसपी तिवारीले तस्करीका कतिपय नाइके विदेशमा रहेको र उनीहरुलाई पक्राउ गर्न डिफ्युजन नोटिस समेत जारी भइसकेको जनाए ।

सीआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबीसहित मुद्दा दायर गर्न सुझाव दिएको छ ।

यसमा ठूलो अंश भुक्तानीका लागि प्रयोग गरिएका पेमेन्ट कम्पनीको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved