दिल्लीमा नेपाली दम्पत्तिको मोमो पसलले गरेको कमाल

नेपालभ्युज

दिल्लीमा नेपाली दम्पत्तिको मोमो पसलले गरेको कमाल

काठमाडौं । भारतको राजधानीसमेत रहेको दिल्लीमा नेपाली मोमोका स्वादका पारखीको सङ्ख्या बढ्दै गएको छ । योसँगै नेपालबाट गएर मोमो पसल खोल्नेहरू पनि ह्वात्तै बढेका छन् ।

पछिल्लो पटक दिल्ली लाजपतनगरमा नेपाली दम्पत्तिको मोमो पसल खुबै चम्केको छ । उनीहरूको सानो पसल २ वर्षयता खुबै चर्चित बनिरहेको छ । दिल्लीमा उनीहरूले यस्तो पसल गर्न थालेको भने करिब ४ वर्ष भयो । तर, सफलता भने पछिल्ला दुई वर्षमा पाएका हुन् ।

news18.com का अनुसार त्यसअघि त्यहाँ डोल्मा आन्टीको मोमो पसल खुबै चर्चित थियो । खेमबहादुर-रुपा दम्पत्तिले खोलेको पसलको नाम भने ‘लक्ष्मी फेमस मोमोज’ हो । लक्ष्मी मोमोज अब डोल्मा आन्टीको मोमो पसललाई टक्कर दिने अवस्थामा पुगेको छ ।

लक्ष्मी मोमोजको स्टलमा ग्राहकको भीड लाग्ने गरेको छ । मोमोका साथै खेम-रुपाले स्टलबाट चाउमिन, फ्रेन्च फ्राई, तन्दुरी र चिल्ली-पोटाटो पनि बेच्छन् । तर, मूल आइटम भने मोमो हो । उनीहरूले भेज, चिकेन र पनिर मोमो फ्राइ र स्टिममा बेच्ने गरेका छन् ।

दिल्लीका ग्राहकले नेपाली दम्पत्तिको मोमो मन पराउनुको कारण भने नेपाली स्वाद र राम्रो सरसफाइ मानिएको छ । हुन त मोमो-चाउमिन तिब्बती खानाका प्रकार हुन् । तर, नेपालमा दुवै प्रसिद्ध भइसकेका छन् । नेपालको मोमो-चाउमिन बनाउने कला र सीपले भारतीय बजारमा राम्रो स्थान पाउन थालेको छ ।

खेम-रुपाले मसलाको मात्रा र चटनीको स्वाद नेपाली पाराले बनाउँछन । उनीहरूले चटनी साँझ-बिहान डेरामै बनाउँछन् ।

रुपा भन्छिन्, “नेपाली चटनीको स्वाद दिल्लीका ग्राहक खुबै मन पराउँछन् । उनीहरूलाई यो स्वाद नयाँ र भिन्न प्रकारको लाग्दछ ।”

मोमोको मूल्य भारु ४० देखि १५० रुपैयाँसम्मको हुन्छ । खेमबहादुरको अनुभवमा गर्मी सिजनमा मान्छे घरबाट कमै निस्कन्छन्, तसर्थ मोमो पनि कमै बिक्छ । गर्मीमा दैनिक २०० र हिउँदमा ५०० प्लेटसम्म मोमो ब्रिकी गर्ने गरेको उनी बताउँछिन् ।

दिल्लीमा मोमोलाई ग्राहकले दिउँसोको खाजाका रूपमा लिन्छन् । साँझ घर फर्किनुअघिको खाजा । तसर्थ, पसल दिनभरि खोल्न आवश्यक हुँदैन । दिउँसो ३ बजेदखि साँझ ६ बजेसम्म पसल राम्रो चल्छ । अरु समय तयारी र सरसफाइ गर्नुपर्ने हुन्छ । हप्तामा १ दिन सोमबार उनीहरूले पसल बन्द राख्ने गरेका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved