अहिलेको सत्ता गठबन्धन अघि बढाउनेमा कुनै विवाद छैन : देव गुरुङ (अन्तर्वार्ता)

अहिलेको सत्ता गठबन्धन अघि बढाउनेमा कुनै विवाद छैन : देव गुरुङ (अन्तर्वार्ता)

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सवा दुई घण्टा संवाद गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किए । त्यसपछि उनले आइतबार र सोमबार ओलीसँग निरन्तर लामा संवाद गरे ।

सोमबार (आज) त उनीहरूबीच बालुवाटारस्थित प्रधानमन्त्री सरकारी निवासको बार्दलीमा झन्डै ३ घण्टा लामो संवाद भयो, संवादपछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्यो- एमाले र कांग्रेसबीच सत्ता सहकार्य हुने विषय अफवाह मात्रै हो ।

त्यसो त त्यही बसाइमा नै ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो नेतृत्वमा कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको अपुष्ट सूचनाहरू बालुवाटारबाट बाहिरिए ।

शनिबार ओली-देउवाबीच भएको सवा दुई घण्टा लामो संवादका क्रममा सत्ता सहकार्यको वातावरण बनाउन निरन्तर रूपमा लाग्ने सहमति भएको बताइन्छ । एक कांग्रेस नेताले बताएअनुसार त्यहीअनुरूप देउवाले आइतबार बिहान आफूनिकटका नेताहरूलाई बूढानीलकण्ठ (निजी निवास) बोलाएर ‘एमालेविरुद्ध नबोल्नु बरु सत्ता सहकार्यको वातावरण बनाउन कोसिस गर्न’ निर्देशन दिएका थिए ।

तर, त्यसपछि ओली र प्रधानमन्त्री प्रचण्डबीच भएको लगातारको दुई बसाइपछि बालुवाटार ढुक्क भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

उसो त के बालकोट र बालुवाटारमा जे-जे भयो भनियो, ती सही हुन् ? यसको असर राष्ट्रिय राजनीति र सत्ता समीकरणमा कस्तो पर्छ ? के साँच्चै सत्ता समीकरण फेरिँदैछ ? ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका हुन् ?

यी यावत् जिज्ञासाबारे नेपालभ्युजले प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङसँग कुराकानी गरेको छ ।

०००

एमाले अध्यक्ष र कांग्रेस सभापतिको सवा दुई घण्टे संवादलाई कसरी लिनुभएको छ ?

डेमोक्रेसीमा, बहुदलीय व्यवस्थामा प्रमुख नेताहरूबीच भेटघाट हुन्छ, हुनु पनि पर्छ । यसलाई स्वाभाविक  र सामान्य रूपमा लिनुपर्छ । यो भेटलाई पनि हामीले यसैगरी लिएका छौँ ।

तर जुन राजनीतिक पृष्ठभूमिका बीच उहाँहरूबीच भेट भयो र भेटपछि जस्तो सन्दर्भहरू बाहिर ल्याइए, यसलाई पनि स्वाभाविक रूपमा लिन सकिन्छ ?

थप सूचनाहरू मकहाँ छैनन्, त्यसबारे थाहा छैन । तर, प्रमुख नेताहरूबीच भेटवार्ता भइसकेपछि अड्कलबाजीहरू हुने हुन्छन्, अहिले पनि त्यही भएको हो ।

त्यसोभए सत्ता समीकरणमा कुनै गडबढ हुँदैन, ढुक्क हुनुहुन्छ ?

अहिलेको प्रमुख मुद्दा शान्ति प्रक्रियालाई अघि बढाउने हो । यसमा सबै दलहरू एकठाउँ उभिनुपर्छ र डेडलक भएको शान्ति प्रक्रियालाई चाँडै टुङ्ग्याउनुपर्छ । यसमा एक हदसम्मको सहमति पनि छ । मलाई लाग्छ, उहाँहरूबीच पनि यसबारे कुराकानी भयो होला ।

केपी शर्मा ओली र शेरबहादुर देउवाबीच संवाद भएपछि प्रधानमन्त्री प्रचण्डले पनि ओलीसँग निरन्तर संवाद गर्नुभयो, त्यहाँ के सुनियो भने ओलीले आफ्नै नेतृत्वमा कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभयो रे ! हो ?

यसबारे मसँग नयाँ सूचनाहरू केही छैनन् । उहाँहरूलाई नै सोध्नुपर्छ ।

ओली-देउवाबीच संवाद भइसकेपछि अहिलेको सत्ता गठबन्धन आयुबारे अड्कलबाजी हुन थालेका छन्, गठबन्धन त यताउता हुन्न ?

यसबारे अहिलेसम्म कुनै विवाद भएको छैन । सहमतिमा अगाडि बढ्ने हो, यसमा दलहरूबीच कुनै विवाद छैन । बाहिर हल्ला आए, यसका पछि लाग्न आवश्यक छैन ।

भनेपछि चर्चा गरिएझैँ प्रचण्डले प्रधानमन्त्री पद छाड्नुपरेन ?

यही गठबन्धन सहमतिअनुरूप अगाडि बढेपछि पर्छ र ?

सम्बन्धित समाचारदेउवा-ओली संवादका सम्भावित ६ एजेन्डा – Nepal Views


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved