कुन धाराअन्तर्गत बन्छ अर्को सरकार ? कुनै हालतमा ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रचण्डको योजना

यस सम्बन्धमा थप विषयवस्तु कसरी आउँछन्, हेर्न बाँकी छ । तर, ओली-देउवाले जसरी सहज रूपमा ‘प्लान’ बनाए, सन्दर्भहरू त्यस्तै सजिलो भने देखिँदैन । आगामी १ महिनाको समय भएकाले यो अवधिमा प्रचण्डले पनि ओलीलाई प्रधानमन्त्री हुन नदिन अधिकतम् प्रयास गर्नेछन् ।

कुन धाराअन्तर्गत बन्छ अर्को सरकार ? कुनै हालतमा ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रचण्डको योजना

काठमाडौं । संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनाउने सहमति भयो— पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

आफू नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार रहेको एमाले कांग्रेससँग मिल्न गएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तत्कालै पदबाट राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने निर्णय लिएका छन् ।

अर्थात् प्रधानमन्त्री प्रचण्ड अब बन्ने सरकार संविधानको धारा ७६ को ३ अनुरूप बनोस् भन्ने चाहन्छन् । त्यो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिनु हो ।

सरकार गठनको प्रक्रिया धारा ३ मा पुगेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नभइ कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । धारा ३ संसद्‌को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान हो र अहिले संसद्‌मा सबैभन्दा ठूलो दल कांग्रेस हो ।

यसै हुन्छ भन्ने पूर्वानुमान भएर हुनुपर्छ, गएराति कांग्रेससँग प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग ‘सरकार कुन धाराअन्तर्गत बन्छ ?’ भनेर आश्वस्तता खोजेका थिए । जवाफमा देउवाले धारा २ अनुसार नै सरकार बन्ने बताएपछि उनीहरूले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री प्रचण्ड प्रचण्डले ‘तत्कालै राजीनामा नदिँदा ओली प्रधानमन्त्री बन्ने बाटो लगभग बन्द’ हुने निष्कर्ष निकालेका छन् । मङ्गलबार बिहान बसेको पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक नेताले बताए ।

त्यसो त प्रधानमन्त्री प्रचण्डसँग संवैधानिक प्रावधानअनुरूप अब एक महिनाको समयावधि बाँकी छ । यस अवधिमा उनले पुरानै समीकरण (कांग्रेससहितको) मा फर्केर कांग्रेसको नेतृत्वमा सरकार बनाउन कोसिस गर्नेछन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल आफूहरूले राजनीतिक स्थायित्व खोजेको तर, पश्चगामी अभ्यास हेरेर बसिरहन नसक्ने प्रतिक्रिया दिए ।

“राजनीतिक स्थायित्व हुनुपर्छ । त्यसका लागि हामीले भरपूर कोसिस गर्नेछौँ । तर, प्रश्चगामी अभ्यास हेरेर बस्नचाहिँ सकिँदैन,” बिहानको पदाधिकारी बैठकपछि सचिव पौडेलले भने, “पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रयास त्यसमै रहनेछ ।”

अर्थात् सचिव पौडेलको सङ्केत छ कि कांग्रेससहितको गठबन्धन बनाएर उसकै नेतृत्वमा सरकार बनाउने ! स्रोतले पुष्टि गरेअनुसार प्रधानमन्त्री प्रचण्ड यही विषय लिएर राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगिसकेका छन् ।

त्यसो त राष्ट्रपति पौडेलको ओलीमाथि भन्दा प्रधानमन्त्री प्रचण्डमाथि ‘लोयल्टी’ छ । कारण यो पनि हो; ओलीले पौडेललाई राष्ट्रपति बनाउन मानेका थिएनन् । तर, प्रधानमन्त्री प्रचण्डकै जोडबलमा पौडेल राष्ट्रपति बने ।

यसरी हेर्दा अब लगभग राष्ट्रपति पौडेल निर्णायकजस्तो देखिन्छन् । संविधानविद् टीकाराम भट्टराई पनि त्यही बताउँछन् । उनले नेपालभ्युजसँग भने, “राष्ट्रपतिले जुन धारा/उपधाराअन्तर्गतको आह्वान गर्छन्, त्यहीअनुसार सरकार बन्छ ।”

एमालेले भने कांग्रेससँग नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने बताएको छ । उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने, “प्रधानमन्त्रीजीलाई मार्गप्रशस्त गर्न अनुरोध गर्छौँ । त्यसपछि भएन भने थप प्रक्रिया अघि बढ्ला ।”

तर, प्रधानमन्त्री प्रचण्डले एमालेले मागेअनुसार राजीनामा दिने छैनन् । बरु प्रधानमन्त्री बन्न देउवालाई प्रस्ताव गर्नेछन् । अहिले देउवालाई प्रधानमन्त्री प्रचण्डले ‘वान् अन वान्’ संवादका लागि समय मागिरहेको तर, देउवाले उपलब्ध नगराइरहेको बताइन्छ ।

गठबन्धन र सरकार ठीकठाक हुँदाहुँदै प्रमुख प्रतिपक्षीसँग मिल्न गएका ओलीसँग प्रधानमन्त्री प्रचण्ड रिसाएका मात्रै छैनन्, अझ हेरेको हेर्‍यै बनाउन चाहेका छन् । जसै आइतबारको भेटवार्तामा उनले ओलीलाई यही गठबन्धनबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

यस सम्बन्धमा थप विषयवस्तु कसरी आउँछन्, हेर्न बाँकी छ । तर, ओली-देउवाले जसरी सहज रूपमा ‘प्लान’ बनाए, सन्दर्भहरू त्यस्तै सजिलो भने देखिँदैन । आगामी १ महिनाको समय भएकाले यो अवधिमा प्रचण्डले पनि ओलीलाई प्रधानमन्त्री हुन नदिन अधिकतम् प्रयास गर्नेछन् ।

यसमा मुख्यत: कांग्रेस र राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका बढी महत्त्वपूर्ण बनेर आउने छ । अझ प्रचण्डले कांग्रेससँगको समीकरणका लागि राष्ट्रपति पौडेलको समेत समन्वयकारी भूमिका चाहेका छन् । यसमा धेरथोर प्रभाव भने बाहिरी शक्तिको समेत रहनेछ ।

प्रचण्डको ‘लीला’माथि ओलीको ‘महालीला’ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved