जनकपुरधाम । नेपाली कांग्रेस औपचारिक रुपमा मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
बिहीबार बिहान बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले अर्थ मन्त्रालय पाए मात्र सरकारलाई समर्थन कायम राख्ने रणनीति बनाएपछि मुख्यमन्त्री सतिश कुमार सिंह त्यसमा सहमत भएका हुन् ।
आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थसहित ४ वटा मन्त्रालय दिनका लागि मुख्यमन्त्री सिंह सहमत भएपछि आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन लागेको बताए ।
सिंहको नेतृत्वमा सरकार गठन भएको करिब डेढ महिनापछि कांग्रेस सहभागी हुन लागेको हो । सिंह जेठ २५ गते नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको साना दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
आज साँझ पाँच बजे कांग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीहरूको शपथग्रहणको तयारी भइरहेको छ ।
Facebook Comment
Comment