काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले विद्युत् महसुल नउठाउनु भनेर नभनेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरूसँगको सवालजवाफका क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
जति उपभोग भएको, त्यति महसुल उठाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सोधे, “९/१० वर्षदेखि पेन्डिङ इस्यूलाई गोलमोटोल गरेर २२ अर्ब तिर्नुपर्नेमा ६ अर्ब मात्रै तिर्नु भन्ने । अनि बाँकी १६ अर्ब कहाँ गयो ?”
अगाडि उनले भने, “विद्युत् महसुल उठाउनुपर्छ । सरकारले नउठाउनु भनेर भन्दैन । मैले फेरि दोहोर्याएर भन्छु, जति उपभोग भएको छ, त्यति महसुल उठाउनुपर्छ । जसले महसुल नउठाएर समस्या भयो, त्यसलाई हिरो बनाइराख्न जरुरी छैन ।”
संसद्मा पेस भएको महालेखाको प्रतिवदेनमा २२ अर्ब विद्युत् महसुल उठाउनुपर्ने उल्लेख रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, “अहिलेको सरकारले उठाउन खोजेन भनेर भनिँदैछ । त्यो होइन । सरकारले महसुल उठाउनैपर्छ भनेर भनेको छ ।”
व्यक्तिविशेषलाई हिरो बनाउन आवश्यक नरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । “तर, प्रयासचाहिँ त्यही गरिएको छ । त्यो आवश्यक छैन,” उनले भने ।
उनले सरकार र विद्युत् प्राधिकरणबीचमा कुनै टकराव नरहेकोसमेत स्पष्ट पारे । “सरकारले खोज्नुपर्ने कुरा खोज्छ । अनावश्यक कुराहरू खोजिएको छैन,” उनले भने ।
Facebook Comment
Comment