काठमाडौं । इजरायली आक्रमणमा हसन नसरल्लाहको मृत्यु भएको ३२ दिनपछि हिजबुल्लाहले नयाँ प्रमुख घोषणा गरेको छ । मङ्गलबार नईम कासिमलाई सङ्गठनको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
नईमभन्दा पहिले नसरल्लाहका भाइ हासेम सैफिद्दीनको नाम हिजबुल्लाह प्रमुख बन्ने दौडमा अगाडि थियो । तर, उनको पनि इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो । उनको मृत्युको पुष्टि इजरायलका प्रधानमन्त्री नेतन्याहुले नै गरेका थिए ।
हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा कासिमले सधैँ सङ्गठनको सिद्धान्तको पालना गरेकाले उनलाई यो पदका लागि चयन गरिएको बताइएको छ ।
अहिलेसम्म कासिम सङ्गठनमा नम्बर २ मा थिए । नसरल्लाहको मृत्युपछि कासिमले लेबनानका जनतालाई सम्बोधन गरेका थिए । यूएईको मिडिया हाउस इरेम न्यूजका अनुसार उनी इरानमा बस्दै आएका छन् ।
कासिमले अक्टोबर ५ मा बेरुत छोडेका थिए । उनलाई इरानका विदेशमन्त्रीको विमानमा लगिएको थियो । मिडिया रिपोर्टकाअनुसार इरानका नेताहरूले इजरायलको डरले कासिमलाई लेबनानबाट निकालेका थिए ।
को हुन् नईम कासिम ?
कासिमको जन्म सन् १९५३ मा लेबनानको काफर किला गाउँमा भएको थियो । सन् १९७० मा कासिम लेबनानमा शिया अमल आन्दोलनको हिस्सा बनेका थिए । अमलको काम शियाहरूको अधिकारको लागि लड्नु थियो ।
कासिमपछि १९८० को दशकमा हिजबुल्लाह आन्दोलनमा संलग्न भए र सङ्गठनका संस्थापक सदस्यहरूमध्ये थिए ।
कासिमले दशकौंदेखि बेरुतमा धार्मिक शिक्षा दिइरहेका छन् । कासिम सन् १९९१ मा हिजबुल्लाहका उपमहासचिव बनेका थिए । उनी हिजबुल्लाहको सुरा काउन्सिलका सदस्य पनि हुन् ।
इजरायलसँग युद्धविराम चाहन्छन् कासिम
अक्टोबर ८ मा अज्ञात स्थानबाट पर्दा पछाडि बोल्दै कासिमले भनेका थिए, ”हिजबुल्लाह र इजरायलबीचको द्वन्द्व कसले पहिले चिच्याउँछ भन्ने युद्ध हो । यो युद्धमा हिजबुल्लाह पहिले चिच्याउन सक्दैन । इजरायलको दर्दनाक आक्रमणको बाबजुद हिजबुल्लाहको क्षमता यथावत् रहेको छ ।”
तर, कासिमले आफ्नो भाषणमा युद्धविरामको कुरा गरेका थिए । यो एक वरिष्ठ हिजबुल्लाह नेताद्वारा युद्धविरामको लागि पहिलो आह्वान पनि थियो, जसले गाजामा युद्धविरामको लागि पूर्व शर्त राखेको थिएन ।
यसअघि हिजबुल्लाहका लगभग सबै वरिष्ठ नेताहरूले गाजा स्ट्रिपमा युद्धविराम लागू भएपछि मात्र हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने बताएका थिए । कासिमले आफ्नो समूहले लेबनानी संसद्का सभामुख नबिह बेरीले गरेको युद्धविरामको प्रयासलाई समर्थन गरेका थिए ।
उनको ३० मिनेटको टेलिभिजन सम्बोधन हिजबुल्लाहका वरिष्ठ नेता हासेम सफीडाइन इजरायली हमलाको निशाना बनेको र हिजबुल्लाह महासचिव सैयद हसन नसरल्लाहको हत्या भएको ११ दिनपछि आएको थियो ।
हिजबुल्लाहले अक्टोबर २३ मा सफीद्दीनको हत्या भएको पुष्टि गरेको थियो । कासिमलाई सन् १९९१ मा सशस्त्र समूह हिजबुल्लाहका तत्कालीन महासचिव अब्बास अल-मुसावीले उपप्रमुख नियुक्त गरेका थिए, जो अर्को वर्ष इजरायली हेलिकोप्टर हमलामा मारिएका थिए ।
कासिम हिजबुल्लाहमा एक प्रख्यात नाम
हसन नसरल्लाह हिजबुल्लाहको नेता बने पनि कासिमले आफ्नो भूमिकालाई निरन्तरता दिए । गत वर्ष इजरायलसँगको सीमापार द्वन्द्वको क्रममा विदेशी मिडियालाई अन्तर्वार्ता दिँदै उनी लामो समयदेखि हिजबुल्लाहका प्रमुख प्रवक्तामध्ये रहेको बताएका थिए ।
सेप्टेम्बरमा इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढेपछि अक्टोबर ८ मा कासिमको टेलिभिजन सम्बोधन उनको दोस्रो थियो । सेप्टेम्बर २७ मा बेरुतको दक्षिणी उपनगरमा इजरायली हवाई हमलामा नसरल्लाह मारिएपछि टेलिभिजनमा टिप्पणी गर्ने उनी हिजबुल्लाहको शीर्ष नेतृत्वको पहिलो सदस्य थिए ।
सेप्टेम्बर ३० मा बोल्दै कासिमले भनेका थिए, ”हिजबुल्लाहले सबैभन्दा चाँडो अवसरमा आफ्नो मारिएका महासचिवको उत्तराधिकारी चयन गर्नेछ र प्यालेस्टिनीहरूसँग एकतामा इजरायलसँग लडाइँ जारी राख्नेछ । हामी के गरिरहेका छौं त्यो न्युनतम छ । हामीलाई थाहा छ लडाइँ लामो हुन सक्छ ।”
सन् १९९२ मा समूहले पहिलो पटक चुनाव लडेपछि उनी हिजबुल्लाहको संसदीय चुनावी अभियानका महासंयोजक हुन् । सन् २००५ मा उनले हिजबुल्लाहको इतिहास लेखेका थिए, जुन सङ्गठनमा दुर्लभ ‘अन्तरदृष्टि’को रूपमा हेरिएको थियो ।
कासिमले हसन नसरल्लाह र सफिद्दीन भन्दा फरक सेतो पगडी लगाउँछन्, जसको कालो पगडीले पैगम्बर मुहम्मदको वंशलाई संकेत गर्दछ ।
(एजेन्सीको सहयोगमा)
Facebook Comment
Comment