काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको आरोप लगाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठककाे निष्कर्ष सार्वजनिक गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो आरोप लगाएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा सरकारले गरेकाे हस्तक्षेपको विरोध गर्दै माओवादी केन्द्रले सरकारले बिचौलिया र भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको आरोप लगाएको हो ।
‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर काममा अवरोध गर्ने कार्य भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ,’ प्रवक्ता सापकाटोले भने, ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’
आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए ।
समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए । तरपनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको उनले बताए ।
‘हाम्रा अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ- अहिले हामी सरकार फेरबदलमा लाग्दैनौं, बरु ८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ,’ उनले थपे, ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरूले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’
यस्तै माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ ।
‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’
Facebook Comment
Comment