शेखरको दाबी– फेरि पार्टी सभापतिमा चुनाव लड्छु, जित्नेमा शतप्रतिशत ढुक्क छु

नेपालभ्युज

शेखरको दाबी– फेरि पार्टी सभापतिमा चुनाव लड्छु, जित्नेमा शतप्रतिशत ढुक्क छु

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औँ महाधिवेशनमा पनि आफूले सभापतिमै चुनाव लड्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् ।

कोइरालाले आफू फेरि पार्टी सभापतिमा चुनाव लड्ने जानकारी दिँदै जित्नेमा पनि शतप्रतिशत ढुक्क रहेको बताए ।

१४ औँ महाधिवेशनमा आफ्नो पक्षमा लागेको टिम अहिले पनि दाया–बाँया नभएको कोइरालाले दाबी गरे । महामन्त्री गगन थापा पनि आफूसँगै रहेको उनको दाबी थियो ।

अहिले कांग्रेस महाधिवेशनका लागि जुर्मुराएको बताउँदै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो सम्बनध टाढाको दूरी नभएको बताए । उनले सभापति देउवा सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय व्यक्ति रहेको बताए ।

कोइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने पनि बताए । यसर्थ यो सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ ।

जुन म्याण्डेडअनुसार सरकार बनेको हो त्यहीअनुसार अघि बढ्नु पर्ने कोइरालाले स्पष्ट पारे । सरकारले संविधान सुधारका लागि तत्कालै सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्नेमा उनले जोड दिए ।

अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा छलफल नै नगरेको कोइरालाको आरोप छ ।

‘सरकार बनेको पाँच महिना भयो, अब सुधार गर्दै अघि बढ्नु पर्नेछ,’ उनले भने, ‘सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले स्वीकारेकाले अब गतिमा सुधार ल्याउनु पर्छ ।’

अघिल्लो महाधिवेशनमा पनि पार्टी सभापतिमा लडेका कोइराला देउवासँग पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved