काठमाडौं । सरकारले भारत र चीनबीच लिपुलेकका विषयमा भएको पछिल्लो सहमतिबाट नेपालले चिन्ता लिनु नपर्ने निष्कर्ष निकालेको छ ।
मन्त्रिपरिषद्को बैठकमा यसबारे लामो छलफल भएको र चिन्ता लिनुपर्ने विषय नभएको निष्कर्ष निकालिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने, ‘चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालबीच लिपुलेकका विषयमा पछिल्लो पटक भएको भनिएको सहमतिबारे लामो छलफल भयो, त्यसले हाम्रो सार्वभौमसत्तामा कुनै असर नगर्ने भएकाले चिन्ता लिनु नपर्ने निष्कर्ष निस्कियो ।’
डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पुस ३ गते बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवर यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो ।
कोभिड महामारीको समयदेखि भारतीय भूमिबाट स्थगित भएको कैलाश यात्रा दुई देशले पुनः सुरु गर्ने सहमति गरेपनि नेपालसँग कुनै सरसल्लाह भएको छैन ।
नेपालले लिपुलेकलाई पनि आफ्नो नक्सामा समावेश गरिसकेको छ । तर, सो सहमति गर्दा भारत र चीनले नेपालसँग कुनै सल्लाह नगरेपछि यसमा सरकारले प्रतिक्रिया जनाउनु पर्ने आवाज उठेको थियो ।
मन्त्रिपरिषद् बैठकले भने आफूले दाबी गरेको र नक्सामासमेत सामेल भइसकेको भूमि हुँदै यात्रा सुरु गर्ने दुई छिमेकी देशको सहमतिले मुलुकको सार्वभौमसत्तामा कुनै असर नपर्ने निष्कर्ष निकालेको छ ।
Facebook Comment
Comment