काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बिहीबार ३ घण्टा बयान लिइएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविले बयान दिएका हुन् । बयानका क्रममा उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् ।
आज बयान नसकिएकाले शुक्रबार पनि बयान लिइने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप छ ।
यसअघि गत आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । यस्तै ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबी गरी पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी रामबहादुर खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ ।
Facebook Comment
Comment