सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गरेका छन् । दक्षिण कोरियाको भ्रमणका क्रममा रहेको उनले जनवरी २० पछि युद्धविराम हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
आवश्यक प्रक्रियापछि र जो बाइडन अमेरिकाकाे राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुने ब्लिन्केनले बताए ।
‘बाइडन प्रशासनले आफ्नो कार्यकालको अन्त्यसम्म युद्धविराम र बन्दी मुक्त गर्ने काम हरेक दिन हरेक मिनेट गर्नेछ,’ गत वर्ष हमास र इजरायलबीच युद्धविरामका लागि पटक–पटक प्रयास गरेपनि असफल भएको स्मरण गर्दै उनले थपे, ‘हामी आगामी दुई हप्तामा युद्धविराम सम्झौतालाई निष्कर्षमा ल्याउन चाहन्छौं । यदि हामीले आगामी दुई हप्तामा फिनिसिङ लाइन पार गर्न सकेनौं भने पनि मलाई विश्वास छ यो कुनै बिन्दुमा छिट्टै पूरा हुनेछ।’
सम्झौता राष्ट्रपति बाइडनले अघि सारेको योजनाका आधारमा हुने र लगभग सम्पूर्ण विश्वले समर्थन गर्ने ब्लिन्केनले दाबी गरे ।
जनवरी २० मा कार्यभार सम्हाल्ने तयारीमा रहेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई अझ बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा समातिएका बन्धकहरूलाई मुक्त नगरे हमासले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ पनि उनले चेतावनी दिएका छन् ।
हमासका एक अधिकारीले आइतबार इजरायलसँगको सम्भावित सम्झौताको ‘पहिलो चरण’मा ३४ जना बन्धकलाई मुक्त गर्न समूह तयार रहेको बताएका छन् ।
ब्लिन्केनले सम्झौतामा पुग्न हमासले आफ्नो तर्फबाट ‘तीव्र चाहना’ गरेको तर त्यो अझै पूरा नभएको बताएका छन् ।
उनले भने, ‘हामीलाई सम्झौतालाई पूरा गर्न र बन्धकहरूको लागि परिस्थितिलाई मौलिक रूपमा परिवर्तन गर्न, उनीहरूलाई मुक्त गर्न, गाजाबासीलाई राहत दिन र समग्र क्षेत्रका लागि राहत महशुस हुने काम गर्न अगाडि बढ्नका लागि अन्तिम निर्णयहरू गर्न आवश्यक छ ।’
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको भीषण आक्रमण र बदलामा इजरायलले गाजामा चलाएको हमासविराधी कारबाहीसँगै ब्लिन्केनले मध्यपूर्वको १२ पटक भ्रमण गरिसककेका छन् ।
Facebook Comment
Comment