काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
बिहीबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको हो ।
मृतकमध्ये एक जनाको सनाखत भएको तिरुमाला तिरुपति देवस्थानमका अध्यक्ष बीआर नायडूले जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तिरुपतिको विष्णु निवासमनजिकै भागदौडमा भक्तहरूको मृत्युले मलाई स्तब्ध बनाएको छ ।’
बुधबार राति तिरुमाला पहाडमा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरस्थित वैकुण्ठद्वार दर्शनको टिकट लिन धेरै भक्तजन एकैपटक जाँदा भागदौड भएको थियो ।
माघ १० गतेदेखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन् ।
Facebook Comment
Comment