काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लिग चरण सकिएको छ ।
बिहीबार बिहान लिग चरणका खेल सकिएसँगै शीर्ष ८ मा रहँदै सिधै अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो ।
इंग्लिस क्लब लिभरपुल ८ खेलबाट २१ अंकसहित लिगको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ । यस्तै समान १९ अंक जोडेका स्पेनिस क्लब बार्सिलोना, इंग्लिस क्लब आर्सनल र इटालियन क्लब इन्टर मिलान लिगमा क्रमशः दोस्रो, तेस्रो र चौथो भएका छन् । यी क्लब गोलअन्तरका आधारमा अघि–पछि रहेका हुन् ।
यस्तै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड १८ अंकसहित पाँचौं भएको छ । यसैगरी समान १६ अंक जोडेका जर्मन क्लब बायर लेभरकुसन, फ्रेन्च क्लब लिल र इंग्लिस क्लब एस्टन भिल्ला क्रमशः छैटौं, सातौं र आठौं हुँदै अन्तिम १६ मा पुगेका छन् । यी ३ क्लब पनि गोलअन्तरका आधारमा नै अघि–पछि रहेका हुन् ।

बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौंदेखि २४ स्थानमा रहेका टोलीबीच ‘प्लेअफ’ हुनेछ । त्यसको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ ।
साविक विजेता तथा सर्वाधिक १५ पटक उपाधि जितेको रियल म्याड्रिड, ६ पटकको विजेता बायर्न, म्यानचेस्टर सिटी र पीएसजीजस्ता ठूला टोली भने शीर्ष ८ मा अटाउन सकेनन् । अन्तिम १६ मा स्थान बनाउन अब उनीहरूले प्लेअफ खेल्नुपर्ने भएको छ ।

Facebook Comment
Comment