काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको केन्द्रीय टोली दोस्रो दिन मोरङमा छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडास्थित शहीद लक्ष्मी फुयालको घरमा पुगेर परिवारसँग भेटघाट गरी मङ्गलबारको कार्यक्रम सुरु गरेका छन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने अनुपस्थित छन् । उनी सोमबारै काठमाडौं फर्किएर मङ्गलबार बिहान चितवनको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका छन् । सोमबार झापाको कचनकवलमा बोल्नेक्रममा अवरोध भएपछि श्रेष्ठ रिसाएका थिए ।
हिजोको घटनाबारे श्रेष्ठले चितवनमा पनि बोलेका छन् । उनले सम्बोधनका क्रममा मनोवैज्ञानिक अवरोध भएको प्रतिक्रिया दिए ।
श्रेष्ठले भने, “अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो ।”
उक्त घटना सामान्य रहेको श्रेष्ठले बताएका छन् ।
Facebook Comment
Comment