काठमाडौं । जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । १८ फागुनसम्म चल्ने महोत्सवमा १० विधाका ७८ वटा फिल्म देखाइने छ ।
महोत्सवको उद्घाटन समारोहमा बोल्दै मधेश प्रदेशका मूख्यमन्त्री सतिश कुमार सिंहले मधेशको संस्कृति र सभ्यता विस्तारमा सिनेमाले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा बोल्दै विश्व हिन्दु महासंघ, नेपालकी उपाध्यक्ष ज्योत्सना साउदले नेपालका धार्मिक, सांस्कृति परम्परा र नेपाली सभ्यतालाई सिनेमाका माध्यमबाट विश्व समुदायलाई देखाउनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘हाम्रो सभ्यताको विरासत र हाम्रो परम्पराको विराटता विश्व समुदायसम्म पुर्याउने शसक्त माध्यम सिनेमा नै हो ।’
जनकपुर क्षेत्रको मिथिला सभ्यता, संस्कृति, तराई मधेशको भोजपुरा, अवधीजस्ता समृद्ध संस्कृति र सभ्यतालाई सिनेमामार्फत विश्व समुदायसम्म पुर्याउन क्षेत्रीय स्तरमा कला, साहित्य र फिल्मसम्बन्धी गतिविधिलाई बढवा दिनुपर्ने धारणा साउदको थियो ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्था संवाद फाउण्डेशनले बताएको छ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा स्थानीय मैथिली, भोजपुरी तथा अवधि सहितका भाषाका फिल्म प्रदर्शन हुने छन् । यसका साथै नेपाली, हिन्दी, अङ्ग्रेजी, फ्रेन्च, स्पेनिससहितका अन्य भाषाहरूमा फिल्म पनि महोसत्वमा देखाइने छन् ।
महोत्सवमा सहभागी चलचित्रमध्ये सर्वोत्कृष्ट हुने १० वटा चलचित्रलाई अवार्डसहित नगद पुरस्कार प्रदान गरिने संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्करले जानकारी दिए ।
Facebook Comment
Comment