आइएमई ग्रुपको कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

नेपालभ्युज

आइएमई ग्रुपको कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

महोत्तरी । आइएमई ग्रुपको लगानीमा गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनलगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनकोसमेत अवलोकन गरेका छन् ।

२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एन्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रूपमा लिएको बताए ।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताको रूपमा लिन र विकासको राष्ट्रिय आकाङ्क्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैँसे’को उदाहरण बनेको पनि उल्लेख गरे ।

उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरू जानु पर्ने बाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरू खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमूलक उद्योगमा भएको प्रवेश महत्त्वपूर्ण पाइला साबित हुने पनि अध्यक्ष ढकालले बताए ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौँका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराए ।

जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरू समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई अवसर दिन थालेको छ ।

अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवर्द्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोच तथा सपनासँगको हातेमालोको रूपमा लिन पनि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको रूपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरू निकै सहयोगी सिद्ध हुने विश्वास लिएको बताएका छन् ।

मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरू निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरू सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved