काठमाडौं । स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै संसद्मा स्वास्थ्य मन्त्रीको राजीनामा माग भएको छ । संसद्को विशेष समयमा बोल्दै सांसद अमेरशकुमार सिंहले स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका हुन् ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वास्थ्य सचिवमा बढुवा गर्दा वरिष्ठ सहसचिव डा. सङ्गीता मिश्रमाथि विभेद गरेको भन्दै सिंहले मन्त्री पौडेलको राजीनामा मागेका हुन् । ‘अरूभन्दा सिनियर सहसचिव सङ्गीता मिश्रलाई सचिवमा बढुवा नगरीकन सरकारले संविधान च्यात्ने काम गर्यो । सङ्गीता मिश्र मधेसीको आस्थाको प्रतीक थियो। महिलाको आस्थाको प्रतीक थियो । जसरी कुलमानजीलाई जनजाति भएकै आधारले सरकारले होच्याउने काम गरेको छ यस्तै भएको छ,’ सिंहले प्रश्न गरे,’ सङ्गीता मिश्रको गल्ती के थियो । मधेसी समुदायमा जन्मिनु गल्ती थियो की महिला भएर जन्मिनु गल्ती थियो?’
उनले यो प्रकरणमा स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । ‘प्रधानमन्त्रीलाई म आव्हान गर्न चाहान्छु स्वास्थ्य मन्त्रीलाई तुरुन्तै बर्खास्त गरियोस्,’ उनले भने ।
स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयमा मधेसीको स्थान नहुने जसरी व्यवहार गरेकाले उनलाई बर्खास्त गरिनुपर्ने सिंहको भनाइ छ ।
Facebook Comment
Comment