काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल), भक्तपुरमा अध्ययनरत एक छात्राले आफूमाथि यौन उत्पीडन तथा लैङ्गिक दुर्व्यहार भएको र क्याम्पस प्रशासनमा उजुरी दिँदासमेत महिनौंसम्म कुनै पनि सुनुवाइ नभएको अनुभव सार्वजनिक गरेको घटनाप्रति नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले सोमबार विज्ञप्ति जारी गर्दै आफूमाथि भएको दुर्व्यहार सामाजिक सञ्जालमार्फत राख्दासमेत सुनुवाइ नभएकाले न्याय दिलाउन आफूहरू लागिपर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘कानुन अध्ययन हुने शैक्षिक संस्थामा विद्यार्थीमाथि निरन्तर यौन उत्पीडन तथा दुव्र्यवहार भइरहनु र सम्बन्धित विद्यार्थीले क्याम्पस प्रशासनमा उजुरी दिँदासमेत सुनुवाइ नहुनु अत्यन्तै निन्दनीय, अमानवीय र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस घटनामा नेविसङ्घ पीडित विद्यार्थीलाई न्याय दिलाउन र यस्ता घटनाहरू दोहोरिन नदिन दृढ रूपमा प्रतिबद्ध छ ।’
केएसएलकी एक छात्राले पूर्वमहान्यायाधिवक्तासमेत रहेका कलेजकै कार्यकारी निर्देशक डा. युवराज सङ्ग्रौलाले बारम्बार यौन दुर्व्यहार गरेको आरोप लगाएकी छिन् । सङ्ग्रौलाले मौखिक यौन दुर्व्यहार गरेको ती विद्यार्थीको आरोप छ ।
Facebook Comment
Comment