राजाको विज्ञापनमा साढे १९ लाख खर्च गर्ने रहस्यमयी फेसबुक पेज

राजाको विज्ञापनमा साढे १९ लाख खर्च गर्ने रहस्यमयी फेसबुक पेज

काठमाडौं सडकदेखि सामाजिक सञ्जालसम्म राजवादीहरूले ‘राजा फर्काउने अभियान’ चलिरहेको बेला एउटा फेसबुक पेजले राजावादी अभियानलाई सहयोग पुग्नेगरि विज्ञापनमा १९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

पृथ्वीनारायण शाह र महेन्द्रका फोटो राखेर फेसबुक विज्ञापनमा यो पेजले ठूलो रकम खर्च गरेको हो । “Unified Nepal – एकीकृत नेपाल” नाम गरेको यो पेजले १३ हजार ९९८ डलर खर्च गरेको फेसबुक विवरणमा भेटिन्छ । आजको विनिमयदर अनुसार यो पेजले १९ लाख ४५ हजार ७ सय ५० रुपैयाँ खर्च गरेको छ ।

यो पेजमा त्रिभुवन, महेन्द्र, पृथ्वीनारायण शाहका भनाइहरू राखेर विज्ञापन गर्ने गरिएको छ । फेसबुकको माउ कम्पनी मेटाको विवरणअनुसार यो पेजले अहिलेसम्म २६ वटा विज्ञापन गरेको छ । फेसबुकको ‘पेज ट्रान्सपरेन्सी’अनुसार यो पेज नेपालबाटै चल्छ । र, दुई जना (आईडी)ले यो पेज चलाएको देखिन्छ ।

२४ अक्टोबर २०२३ मा खोलिएको यो पेजमा अलिक पहिलेसम्म [email protected] इमेल ठेगाना थियो । तर, अहिले त्यो इमेल ठेगाना हटाइएको छ । मैले ८ नोभेम्बर २०२४ मा यो इमेल ठेगानामा ‘तपाईंले चलाउने गरेको पेजका बारेमा कुराकानीका लागि अनुरोध’ भनेर इमेल गरेको थिएँ । तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन ।

माइसंसारमा प्रकाशित ब्लगअनुसार यो पेजले गरेका ‘२६ वटा विज्ञापन मध्ये ११ वटामा राजा महेन्द्रका फोटो र भनाइ राखिएको छ । त्यसैगरी ९ वटा विज्ञापनहरूमा पृथ्वीनारायण शाहको दिव्योपदेश राखिएको छ । एउटा विज्ञापनमा राजतन्त्रको उल्लेख नगरी सन् ८० को दशकको मध्यसम्म नेपालले प्रशस्त चामल निर्यात गर्ने गरेको तर अहिले आयात गर्ने गरेको भन्दै पाठकलाई आफ्नो धारणा लेख्न भनिएको छ ।’

३ लाख १३ हजार लर ३ लाख ८ हजार फलोअर्स रहेको यो पेजले १८ देखि ३४ वर्ष उमेर समूहका मान्छेलाई लक्षित गरेर फेसबुकमा विज्ञापन गरेको छ । पेजमा पोष्ट गरिएका अडिओ भिडिओ सामग्रीमा एआईको आवाज प्रयोग गरिएको छ ।

राजाका भनाइहरू राखिएको यो पेजको उद्देश्य चलिरहेको ‘राजावादी अभियान’लाई सहयोग गर्नु जस्तो देखिन्छ । माइसंसारमा सालोक्य यो पेजको उदेश्य राजनीतिक एजेण्डा स्थापित गर्ने हुनसक्ने भन्दै लेख्छन्, “पेजमा स्पष्ट रूपमा कुनै दल वा सङ्गठन उल्लेख नगरे पनि, खर्चको परिमाण र सामग्रीको स्वरूपले राजनीतिक उद्देश्य हुनसक्ने सङ्केत दिन्छ ।”

१९ लाख ४५ हजार रुपैयाँ खर्च गरिसकेको यो पेजका गतिविधिलाई रहस्यमयी भनेर अर्थाउँछन् सालोक्य । उनी लेख्छन्, “साढे १९ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको “Unified Nepal – एकीकृत नेपाल” पेजले वास्तवमै रहस्यमय गतिविधि गरिरहेको छ । यसको वास्तविक उद्देश्य खुला रूपमा स्पष्ट नभए पनि, डिजिटल विज्ञापनहरू जनमत निर्माण र प्रभाव बढाउने शक्तिशाली माध्यम बन्दै गइरहेका छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved