काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)फुटबलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी काठमाडौं रेजर्स एफसीसँग भिड्ने छ । लिगमा ७ टोलीको सहभागिता रहनेछ ।
चैत १६ गते सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ । एनएसएलका सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् ।
तालिकाअनुसार तीन डबल हेडर (दिनमा दुईवटा खेल) हुनेछन् भने अन्य दिन एक-एक वटा खेल रहेका छन् । दुईवटा हुने दिन पहिलो खेल २:३० मा र दोस्रो खेल साँझ ६ बजे सुरु हुनेछ।
सिङ्गल राउन्ड रोबिनका आधारमा जम्मा २१ वटा खेल हुनेछन् । शीर्ष चार टोली प्लेअफ प्रवेश गर्नेछन् । प्लेअफमा दुईवटा क्वालिफायरका खेल हुनेछन् । पहिलो क्वालिफायरको खेल वैशाख ६ गते हुनेछ ।
त्यस्तै, दोस्रो क्वालिफायर वैशाख ७ गते रहेको छ । दुवै क्वालिफायरपछि वैशाख १० गते एलिमिनेटरको खेल हुनेछ। एलिमिनेटरपछि वैशाख १३ गते फाइनल खेल हुनेछ ।

Facebook Comment
Comment