उकुसमुकुस रविको आक्रोशित सम्बोधन

सरकारबारे टिप्पणी : दुई चोर मिलेर साधु हुँदैन

उकुसमुकुस रविको आक्रोशित सम्बोधन

“बोल्ने समय आएको छैन । समय आएपछि बोल्नेछु,” गत माघ १४ मा उच्च अदालत कास्कीको प्राङ्गणबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भनेका थिए । त्यसको दुई महिनापछि पार्टी कार्यालयको प्राङ्गणमा उभिएर लामिछाने बोलेका छन् ।

साढे पाँच महिनापछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किँदै रवि सरकारविरूद्ध बोले । व्यवस्थाविरोधी गतिविधिविरूद्ध बोले । आफू सभापतिको जिम्मेवारीमा फर्किनुपर्ने कारणबारे प्रष्ट्याए । पाँच महिना यता उकुसमुकुस रविले पार्टी कार्यालयबाट सरकारविरूद्ध आक्रोश ओकले ।

रविले सुरुमा सरकारविरूद्ध आक्रोश पोखे । सरकार आफूविरूद्ध अझैपनि षड्यन्त्र गरिरहेको भन्दै उनी आक्रोशित बने । जुनसुकै तराजुमा जोखिनका लागि आफू तयार रहेको भन्दै उनले सरकारका सबै षड्यन्त्रविरूद्ध लड्ने उद्घोष गरे । सरकारको लुटतन्त्रविरूद्ध आफू डटेर लडिरहने बताए । “सरकारले गर्नसक्ने जति जोडबल गरेको छ । के-के गर्‍यो के गरेन मैले भनिरहनुपर्दैन,” उनले भने, “दुई तिहाईको सरकारले मलाई ज्युँदै छाडेको छ । यही नै मेरो जीत हो । शरीरमा एकथोपा रगत रहुन्जेलसम्म म लुटतन्त्रविरूद्ध लडिरहन्छु ।”

अदालतको प्रारम्भिक आदेशको अपव्याख्या गरेर आफ्नो बदनाम गराउन खोजेको आरोप उनले लगाए । आफू राजनीतिमा भएकै कारण सरकारले दु:ख दिएको भन्दै उनी आक्रोशित बने । “यदि म राजनीतिमा हुन्थेन भन्ने सरकारलाई मलाई दु:ख दिँदैन्थ्यो । लोकतन्त्रको आडमा लुटतन्त्र मच्याइरहेकोमा खबरदारी गर्दा मलाई दु:ख दिइएको हो । खबरदारीका लागि रवि लामिछाने कहिल्यै पछि हट्ने छैन,” लामिछानेले भने ।

अदालती सम्पूर्ण प्रक्रियालाई आफूले सम्मान गर्ने उनले बताए । अदालतप्रतिको आस्था र विश्वासकै कारण आफू निरन्तर प्रक्रियामा सामेल भइरहेको उनले बताए ।

सरकारले षड्यन्त्रपूर्वक नै आफू विरूद्धको मुद्दा एउटा जिल्ला अदालतमा नबुझाएको उनले उल्लेख गरे । “यिनलाई लागेको थियो । मेरो टाउकोमाथि तरबार झुण्डाइयो भने यो चुपचाप बस्छ । यो डराउँछ, रविले सरकारलाई चुनौती दिए – यो लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन । जतिसुकै तरबार झुण्ड्याउ जुनसुकै शक्तिसँग म लड्न तयार छु,” उनले भने । लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा अघि बढ्न सकेको छैन ।

उनले सरकार आफ्नो दललाई फुटाउन पनि सक्रिय बनेको आरोप लगाए । सरकारका गलत क्रियाकलापको सशक्त विरोध गर्दा र आफू पार्टी जिम्मेवारीबाट अलग रहँदा सरकारले दल फुटाउने षड्यन्त्र गरेको आरोप उनले लगाए । “रास्वपाले सिंहदरबारलाई निरन्तर घण्टी बजाइरहेको थियो । त्यो सहन नसकेर यो सरकारले घण्टी नै फुटाउने षड्यन्त्र पनि गर्‍यो,” उनले भने ।

सरकार जनअसन्तुष्टि सम्बोधनका लाग्नेभन्दा पनि रास्वपाविरूद्धको षड्यन्त्रमा क्रियाशील रहेको लामिछाने बताउँछन् । सरकारले अझैपनि आफूविरूद्ध मुद्दा चलाउने षड्यन्त्र गरिरहेको उनको आरोप छ । सडकमा देखिएको वर्तमान आक्रोश राजालाई विश्वास गरेर आएको नभई लुटतन्त्र मच्चाउनेलाई दण्डित गर्नुपर्ने मागसहित प्रकट भएको उनले बताए । “सडकमा देखिएको अहिलेको भीड राजालाई विश्वास गरेर आएको आक्रोश होइन । लुटतन्त्र मच्चाउनेहरूलाई दण्डित गराउनुपर्छ भनेर आएको आक्रोश हो । यीनीहरूको नेतान्त्र अन्त्य हुनुपर्छ भनेर आएको हो,” उनले भने ।

वर्तमान व्यवस्थाबारे रास्वपाको कित्ता प्रष्ट नभएको भन्दै आफ्नो दलमाथि गणतन्त्रवादी दलहरूले हिलो छ्याप्ने काम गरेको भन्दै उनले आक्रोश पोखे । “हामी तपाईंहरूको जस्तो लोकतन्त्र वा गणतन्त्रको खोल ओडेर लुटतन्त्र मच्याउने दल होइनौँ । हामीलाई लोकतन्त्रवादी होइनन् भनेर हिलो छ्याप्ने काम गरियो । तपाईंहरू जस्तो लोकतन्त्रको खोल ओडेर लुटतन्त्र मच्चाउने दल रास्वपा होइनौँ,” उनले भने ।

कुनै पनि हिंसात्मक गतिविधिविरूद्ध रास्वपा दृढतापूर्वक उभिने भन्दै उनले यो व्यवस्थाको विकृति अन्त्य गर्दै जनआक्रोश सम्बोधन गर्नुपर्ने पक्षमा रास्वपा रहेको उनले बताए । “म कहाँ आगो बल्ला र सेकुँला भनेर बसेको मान्छे होइन । रास्वपा हिंसात्मक गतिविधिको विरूद्धमा छ । जनतामा देखिएको आक्रोश र निराशालाई चिर्नुपर्ने पक्षमा रास्वपा छ,” लामिछानेले भने ।

रास्वपाको राजनीतिक अभियान व्यवस्थाभित्रका विकृत अन्त्य रहेकाले त्यसमा खरो उत्रिने प्रतिबद्धता उनले जनाएका छन् । उनले पदलोलुपतालाई त्यागेर आफू हिँडेको भन्दै व्यवस्थाभित्रका विकृति अन्त्य गर्न अझै लड्ने बताए । “म किस्तिमा आएको प्रधानमन्त्री छोडेर कैदी हुन मञ्जुर भएको व्यक्ति हुँ । त्यसैले यिनीहरूको विकृतिविरूद्ध र हाम्रो राजनीतिक अभियान सफल पार्नका निम्ति लड्नेछु,” उनले भने ।

वर्तमान सत्ता गठबन्धनप्रति आक्रोश व्यक्त गर्दै लामिछानेले चोरहरू साधु बन्ने प्रयास गरेको टिप्पणी गरे । “दुई ठूला दल मिलेर सरकार बन्दा धेरै समस्या समाधान हुने अपेक्षा थियो । तर, दुई चोर मिलेर साधु हुँदैन भन्ने कुरा पुष्टि भयो,” उनले भने ।

वर्तमान सरकार संविधानको संरक्षणमा नभएर आफ्ना दल निकट भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप उनले लगाए ।

माघ २४ मा  चितवन जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएयता लामिछाने पार्टी राजनीतिमा सक्रिय थिएनन् । सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै प्रतिनिधि सभाले उनको सांसद पद निलम्बन गरेको छ ।

साढे पाँच महिनापछि पार्टीको सभापतिको जिम्मेवारीमा सक्रिय हुँदा उनीमाथि नैतिक प्रश्न अझै कायमै छ । सोमबार पार्टी मुख्यालयबाट आफू पार्टी सभापतिमा सक्रिय हुन खोज्नुको कारण उनले प्रष्ट्याए । पार्टीको अभियानलाई सशक्त बनाउनका निम्ति आफू जिम्मेवारीमा फर्किएको उनल बताए । “म चुप लागेर प्रक्रियालाई सघाउ भन्ने लागेको थियो । तर, मलाई बदनाम गराउने कोसिस भयो । पार्टीको अभियानलाई पनि नयाँ उचाईमा पुर्‍याउने बेला आएको छ । त्यसैले म जिम्मेवारीमा फर्किएको छु,” उनले भने ।

परि आए पार्टीको सभापति समेत छोड्न आफू तयार रहेको उद्घोष लामिछानेले गरे । “पार्टीको अभियानका लागि म भन्दा कोही योग्य व्यक्ति अघि सर्छ र आउँछ भने आफू पार्टीको सभापति समेत छोड्न म तयार छु,” उनले भने ।

नेतातन्त्र अन्त्यको अभियानलाई परिणामुखी बनाउनुपर्ने बेला आएको उनले बताए । आगामी निर्वाचनमा योग्य उम्मेदवारलाई भित्र्याउने अभियान सञ्चालन हुने उनको उद्घोष छ ।

लामिछानेले आगामी शनिबार चितवनमा विशेषसभा गर्ने बताए । चितवनको सभामा आफूलाई राज्यले दिएको यातनबारे जानकारी गराउने उनको भनाइ छ  । आफू हिरासतमा हुँदा सद्‌भाव र सहानुभूति प्रकट गर्ने विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई उनले धन्यवाद प्रकट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved