गभर्नरबाट बिदा हुँदै अधिकारीले भने – सरकारको प्रहारबाट राष्ट्र बैङ्कको स्वायत्तता जोगाएँ

नेपालभ्युज

गभर्नरबाट बिदा हुँदै अधिकारीले भने – सरकारको प्रहारबाट राष्ट्र बैङ्कको स्वायत्तता जोगाएँ

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैङ्कबाट गभर्नर महाप्रसाद अधिकारी बिदा भएका छन् । अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धी र सामना गरेका चुनौतीहरू सुनाए ।

२०७६ साल चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैङ्कको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भएपनि सफल भएको उनको निष्कर्ष थियो । स्वायत्ततालाई जोगाउन सहयोगमा अधिकारीले सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्तालाई धन्यवादसमेत दिए ।

अधिकारीले सरकारबाटै राष्ट्र बैङ्कको स्वायत्ततामा प्रहार भएको र त्यसलाई बचाउन सर्वोच्च अदालतको भूमिका रहेको भन्दै प्रशंसा गरे । आफ्नो कार्यकालमा  केन्द्रीय बैङ्कलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको उनको दाबी थियो ।

त्यस्तै अधिकारीले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोरोना महामारी, रुस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा ठूला चुनौति आइपरे पनि चुनौतीलाई सक्दो समाधानको पहल गरेको जिकिर गरे ।

अधिकारीले आफ्नो कार्यकालमा वैदेशिक पूँजी लगानीको लागि बैङ्कबाट लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको जानकारी दिए । उनले वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले दोहोरो स्वीकृतिलाई हटाइएको जानकारी दिए ।

‘वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले वैदेशिक पूँजी लगानीको लागि केन्द्रीय बैङ्कबाट समेत लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको छ । साथै, वैदेशिक ऋण सम्बन्धमा स्पष्ट, पारदर्शी र अनुमानयोग्य व्यवस्थाहरू गरिएको छ । सबै नेपालीहरुले अत्यावश्यक प्रयोजनको लागि यूएस डलर पाँच सयसम्मको कार्ड सुविधा लिने सटही सुविधा मिलाइएको छ,’ उनले भने ।

‘मुलुकभित्र गैरकानूनी धन आर्जनलाई शुद्धीकरण हुन नदिन प्रशस्त मात्रामा निरोधात्मक उपायहरू स्वरुप कानूनी नियामकीय व्यवस्था भएका छन् । कुनै पनि संस्था संरचनाहरू सम्पत्ती शुद्धीकरण र आंतककारी क्रियाकलापमा वित्तीय लगानीका माध्यमहरू नबनुन् भन्ने अभिप्रायका साथ यससम्बन्धी व्यवस्थाहरू लागू गरिएको छ,’ उनले भने ।

उनले  आफ्नो ५ वर्षको कार्यकालमा पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुुअल र कार्यविधि लगायत ११६ वटा व्यवस्था जारी गरिएको जानकारी गराए । साथै, अधिकारीले पाँच वर्षको अवधिमा ११ वटा निर्देशिका, सातवटा म्यानुुअल र ४१ वटा कार्यविधि ल्याइएको समेत जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved