काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताएका छन् ।
आइतबार जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘तेस्रो जनआन्दोलन’को सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने बताए ।
‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने ।
उनले नेताहरुलाई राजा बनाउनको लागि नेपाली जनता नलडेको भन्दै साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरूले बेचेर खाएको गम्भीर आरोप लगाए ।
साहले देशमा नेताहरूको आसेपासे मालामाल भएको, तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे । उनले भने,‘हामी हेर्न सक्छौँ, लुट र भ्रष्टाचार बढेको छ । जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’
साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने परिस्थिति आएको बताए ।
साहले आफूहरूले थालेको आन्दोलनको वेगलाई अहिलेका नेताले रोक्न नसक्ने चेतावनी दिए । ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन । हावाको बहावलाई कसैले रोक्न सकेको छैन । त्यसैले याद राख–तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौ,’ उनले भने, ‘हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ ।’
साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र साहको ज्यादतीको पनि विरोध गरे । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे । काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए ।
जनआन्दोलन दिवसको अवसरमा ‘दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध’ आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको बिरोध प्रदर्शन समेत भएको छ ।









Facebook Comment
Comment