घर चलाउने महिलाले देश चलाउन सक्छन्

घर चलाउने महिलाले देश चलाउन सक्छन्

नेपालमा अक्सर बिर्सिएका शान्त कुना काप्चा, जहाँ इतिहासका कानेखुसी समयको मौसमी बाटोमा अडिएका हुन्छन्, ती महिलाले लामो समयदेखि गर्दै आएका नदेखिने सङ्घर्ष हुन् । महिलाका सबलता किताबका पानामा लेखिएका छैनन्, बरु तिनको शरीरमा कुँदिएका छन् । महिला दृढताको वसियतनामा र स्वायत्तताका लागि सहनशील सङ्घर्ष यिनलाई मेटाउन खोज्ने संसारमा कायमै छन्, कायमै रहनेछन् ।

‘आभाषा’ अभियानकी अभियन्ता तथा प्रमुख संयोजक नजबुल खानलाई नै लिउँ । आभाषाको अर्थ हो– आसनमा महिला, भाषणमा महिला, शासनमा महिला । २०६२-२०६३ को दोस्रो जनआन्दोलनको क्रममा मधेस मार्च गर्दै गर्दा अश्रुग्यासको डिब्बा उनको घाँटीमा प्रहार भयो । त्यसले उनको स्वरयन्त्र सधैँका लागि क्षतिग्रस्त भयो ।

अथवा अलकिना बमको कुरा गरौँ – जसले माओवादी द्वन्द्वको अवधिमा सुरक्षा बलबाट हतियार खोसेर आफूलाई कहिल्यै सुरक्षित नगर्ने शासन व्यवस्थासँग लडिन् । बझाङमा आफ्ना कमरेडहरूसँगै शान्तिवार्ताको माग गर्ने ज्ञापनपत्र बुझाउन जाँदा उनी पक्राउ परिन् । उनलाई भूमिगत बङ्करमा बन्दी बनाइयो । आँखामा पट्टी बाँधेर एक्लै राखियो । यसरी नै उनले ४ वर्षको बन्दी जीवन बिताइन् । र, यस्तो कथा एक युवती युवंशको छ–जो त्यस्तो पिताको काजक्रियाबाट भर्खरै निस्केकी थिइन्, जसले उनलाई नागरिकता दिलाउन अस्वीकार गरेका थिए ।

नवलपुर (नवलपरासी पूर्व) जिल्लाको शान्त मैदान सेराहीमा नागरिक आवाज संस्थाद्वारा निर्मित महिलामैत्री सामुदायिक भवन पद्मालयमा सन् २०२५ मार्च २२–२३ बीच एक असाधारण जमघट थियो । त्यहाँ सयौँ महिला सामूहिक भोजन र आवास साझेदारी गर्दै सामुदायिक छात्रावास शैलीमा बसे । गीत र नृत्यका दौरान तिनले ऐक्यबद्धता र सशक्तिकरणको जरा आपसमा सुदृढ पारे । त्यहाँ देशभरिबाट ५०० महिला आएका थिए । अन्तर-पुस्ता महिलावादी मञ्चको ‘अनुपम अभियान’ले तिनलाई भेला गरेको थियो । ‘अनुपम अभियान’ महिलाले नेतृत्व गरेको एक राजनीतिक अभियान हो, जसले शासनसत्तामा अझ बढी महिला ल्याउन पैरवी गर्दछ । यस अभियानलाई ‘टेवा’ र ‘नागरिक आवाज’ संस्थाले समर्थन गरेका छन् ।

भेलामा सङ्घीय र प्रादेशिक सांसद, निर्वाचित जनप्रतिनिधि, राजनीतिज्ञ, अभियन्ता, र अनुसन्धानकर्ता देशभरिबाट एउटै आवाज मुखरित गर्न आएका थिए– ‘चौरासीमा महिला, हुनुपर्छ पहिला ।’ ती २०८४ मा हुने नेपालको चुनावलाई सङ्केत गर्दै थिए । उनीहरूको आह्वान बिना कारणको कारबाही हैन ।

संवैधानिक प्रत्याभूतिका बाबजुद नेपालमा महिलाको राजनीतिक प्रतिनिधित्व कम छ ।  नेपालको संविधानको धारा ३८ ले समानुपातिक समावेशीकरणको सिद्धान्त अर्थात, जनसङ्ख्या अनुपातमा आधारित प्रतिनिधित्व अनुरूप राज्यका सबै निकायमा महिला सहभागिताको अधिकार सुनिश्चित गर्दछ । देशमा महिला जनसङ्ख्याले ५१ प्रतिशत ओगट्छ । तसर्थ, उनीहरू ५१ प्रतिशत सिटका हकदार छन् । तथापि, संविधानको धारा ८४ ले यो प्रतिबद्धतालाई कमजोर बनाउँछ । यसले सङ्घीय संसद्मा प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्यामध्ये एक तिहाइ अर्थात्, ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था गर्दछ ।

सन् २०२२ को स्थानीय निर्वाचनमा महिलाले निर्वाचित जनप्रतिनिधिको ४०.९६ प्रतिशत प्रतिनिधित्व गरे, जो महिला प्रतिनिधित्वका लागि एक महत्वपूर्ण उपलब्धि हो । तर, यो प्रगतिको धेरै जसो अंश वास्तविक शक्ति परिवर्तन गतिशीलताको साटो कोटाद्वारा प्रेरित छ । कोटाले निसन्देह धेरै महिलाका लागि राजनीतिक पदमा पुग्ने ढोका खोलेको छ । तर, महिलालाई नीतिको नेतृत्व गर्ने वा आकार दिने अधिकार प्रदान गर्न धेरै हदसम्म असफल छ । निर्वाचित पदहरूमा महिलाको उपस्थितिले निर्णय निर्माण प्रक्रियामा समान सहभागिताको स्वाभाविक अनुवाद गर्दैन । व्यवहारमा धेरैजसो महिला उपमेयर र उपाध्यक्षजस्ता माध्यमिक भूमिकामा कम आँकिएका छन् । देशका ६ हजार ७४३ वडामध्ये ६९ वडामा मात्र महिलाको नेतृत्व छ । महिलाले प्राप्त गरेका पद प्रायः प्रभावशालीभन्दा सहायकजस्तो डिजाइन गरिएका छन् । त्यसले महिलालाई शक्ति सुम्पिन गहिरो संस्थागत अनिच्छा प्रतिबिम्बित गर्दछ ।

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ यस्तो मूल्याङ्कनसँग केही हदसम्म असहमत छिन् । नवलपुरमा उनले भनिन्–‘हामीले सहायक पदमा भएकाले केही गर्न सक्दैनन् भन्ने धारणा हटाउन पर्दछ । त्यो ठाउँबाट पनि धेरै कुरा गर्न सकिन्छ ।’ तर, पुरुषहरूले नै यी पदमा भएका महिलाले के कति ठाउँ र शक्ति प्रयोग गर्न सक्दछन् भनेर निर्धारण गरिरहेका छन् । जो सांसद श्रेष्ठ आफैले सङ्घीय संसद्मा अनुभव गरेकी छन् । उनलाई बारम्बार बोल्नबाट रोकिएको छ । अन्य सांसद र मिडियाले उनका बोलीको आलोचना गरेका छन् । जब बोल्ने अनुमति हुँदैन, पदमा बस्नुको कुनै अर्थ हुँदैन ।

अनुपम अभियानले आगामी चुनावमा महिलाले महिलालाई मतदान गर्न एक शक्तिशाली र अभूतपूर्व आह्वान गर्दै आन्दोलन सुरु गरेको छ । यो दलीय राजनीतिक लाइन र राजनीतिक निष्ठाभन्दा बाहिरको अपिल हो । यो राजनीतिमा लैङ्गिक प्रतिनिधित्वको आग्रह मात्र हैन, राष्ट्रको भविष्यलाई आकार दिन महिला नेतृत्वको परिवर्तनकारी शक्तिको पहिचान गर्न एक प्रष्ट आव्हान हो । तर के यो सम्भव छ ?

अनुपम अभियानले आगामी चुनावमा महिलाले महिलालाई मतदान गर्न एक शक्तिशाली र अभूतपूर्व आह्वान गर्दै आन्दोलन सुरु गरेको छ । यो दलीय राजनीतिक लाइन र राजनीतिक निष्ठाभन्दा बाहिरको अपिल हो । यो राजनीतिमा लैङ्गिक प्रतिनिधित्वको आग्रह मात्र हैन, राष्ट्रको भविष्यलाई आकार दिन महिला नेतृत्वको परिवर्तनकारी शक्तिको पहिचान गर्न एक प्रष्ट आव्हान हो । तर के यो सम्भव छ ?

श्रेष्ठको बुझाइमा पार्टी वफादारितामा आधारित संसदीय परम्परा र मान्यताको कठोरताले अर्थपूर्ण संवाद र कारबाहीलाई रोक्दछ‘क्रस–कटिङ’ सवाल भएपनि सांसदहरू पूर्णतः पार्टी लाइनमा विभाजित हुने हुँदा सामूहिक कारबाही सम्भव छैन । पार्टी नेताको आलोचना गर्नु वा पार्टीको मार्ग काट्नु राजनीतिक आत्महत्या सरह हुन सक्दछ । जुन हालसालै एमाले नेता बिन्दा पाण्डेले अनुभव गरिन् ।

गत वर्षको डिसेम्बरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट स्वीकार गरेको जग्गा दानको आलोचना गरेको भन्दै पाण्डेसँगै अर्की एक महिला सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरिएको थियो ।

पहिलो संविधानसभाको ‘महिला ककस’जस्तो अन्तरदलीय निकाय अब सम्भव देखिन्न, भन्छिन् पाण्डे । ‘महिला जनप्रतिनिधिको रूपमा निर्वाचित हुन्छन् तर पार्टी प्रतिनिधिको जस्तो काम गर्दछन् । यदि कोही जनप्रतिनिधि निर्वाचित भएको हो भने त्यो पार्टीका लागि मात्र हैन, सबै जनताका लागि हुनु पर्दछ, उनले भनिन्

पाण्डे ‘नेपाली राजनीतिमा महिला’ पुस्तककी लेखिका पनि हुन् । महिला साझा उद्देश्यका लागि सँगै हुँदा सधैँ सफल हुन्छन् भन्ने उनको विश्वास छ । त्यसैले अनुपम अभियानजस्ता आन्दोलन आवश्यक छन् ।

तर, पाण्डेको आशावादमा एक तीखो चेतावनीको मिजास झल्किन्छ । उनी भन्छिन्, ‘महिलाले राजनीतिक स्थान ओगट्नु मात्र हुँदैन, तिनलाई रूपान्तरण पनि गर्नु पर्दछ । महिला निर्वाचित गर्नु मात्र पर्याप्त छैन । हामीसँग अहिले पनि महिला प्रतिनिधि छन् । तर, ती सामान्य निर्वाचित प्रतिनिधि हुन् कि महिला मुद्दाको पनि प्रतिनिधित्व गर्दछन् ? यो नै महत्त्वपूर्ण कुरा हो ।’

नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराई पाण्डेकै जस्तो विचार दोहोर्‍याउँछिन् । उनी भन्छिन्– ‘हामी कस्ता प्रकारका महिलालाई मतदान गर्दैछौँ ? के उनी महिलावादी हुन् ? के उनी महिला मुद्दाको पैरवी गर्छिन् ?’ भट्टराई भन्छिन् कि महिला अधिकारविरुद्ध सक्रिय हुने नेताहरूलाई नै सत्तामा ल्याउन सहयोग पुर्‍याउने विरोधाभाषी काम महिलाले ने गरिरहेका छन् ।

महिला उम्मेदवार हुनुमात्र पनि पर्याप्त हैन । महिला मतदाता त्यति एकाङ्की हुँदैनन् । महिला भएकै कारण उनीहरूले भोट दिँदैनन् । भट्टराई गत आम निर्वाचनमा काठमाडौं –७ मा सङ्घीय संसद्को उम्मेदवार भएको सम्झना गर्छिन् । उनी एक मात्र महिला उम्मेदवार थिइन् । तर, सबै महिलाले उनलाई मतदान गरेनन् । तथापि, उनी आशावादी छन् । भन्छिन्– ‘हामी फरकफरक वैचारिक स्कुल र राजनीतिक दलसँग सम्बन्धित भए पनि महिलाका रूपमा सामना गर्नुपरेका साझा अवरोध हटाउन एक हुनुपर्छ ।’ उनको विश्वास छ कि महिला राजनीतिका अगाडिका सरोकार फराकिला छन् । परम्परागत सवालभन्दा बाहिर गएर महिलालाई प्रत्यक्ष प्रभावित गर्ने क्षेत्रहरू, जस्तै सामाजिक सञ्जाल, वित्त र ऋण पहुँचलाई समेट्नु पर्दछ ।

महिला एकाङ्की नभएजस्तै महिलाका मुद्दा पनि एकाङ्की छैनन् । पहिचानको अन्तरसम्बन्धलाई विचार गर्नु उत्तिकै महत्त्वपूर्ण कुरा हुन्छ । लिङ्गलाई मात्र हैन, जातीयता, भूगोल, वर्ग र यौनिकतालाई पनि ध्यान दिनु पर्दछ ।

महिला एकाङ्की नभएजस्तै महिलाका मुद्दा पनि एकाङ्की छैनन् । पहिचानको अन्तरसम्बन्धलाई विचार गर्नु उत्तिकै महत्त्वपूर्ण कुरा हुन्छ । लिङ्गलाई मात्र हैन, जातीयता, भूगोल, वर्ग र यौनिकतालाई पनि ध्यान दिनु पर्दछ । सुदूरपश्चिम प्रदेश डडेलधुराकी २७ वर्षीया अभियन्ता देवकी जोशीलाई नवलपुरको अनुपम अभियान भेलामा भाग लिन आइपुग्न पुरै ३ दिनको यात्रा गर्नुपर्‍यो । सुदूरपश्चिममा महिनाबारी भएका माहिलालाई अस्थायी झुपडीमा बस्न पठाउने छाउपडी प्रथा सन् २००५ मा अवैधानिक घोषणा गरिएको थियो । तर, अझै यसले जरा गाडेको छ ।

जोशी भन्छिन्, ‘यो अभ्यास अझै हराएको छैन । केही फरक भएको मात्र देखिन्छ ।’ उनी बालिका हुँदा परिवारभन्दा अलग्गै पशुगोठमा सुत्न बाध्य बनाइएको थियो । आज उनीभन्दा साना उमेरका बहिनीहरू घरभित्रै छुट्टै कोठामा सीमित गरिन्छन् । पर्खाल परिवर्तन भए तर, बहिष्करण बाँकी नै छ ।

डडेलधुराकै अर्की अभियन्ता कृष्णा नेपाली शासनहीनताको प्रत्यक्ष साक्षी हुन् । उनी १४ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको हालैको घटना सम्झना गर्छिन् । त्यसमा न्याय खोज्नुको साटो समुदायले उल्टै मध्यस्थता गर्ने प्रयास गर्‍यो । उनी भन्छिन्, ‘कर्मचारी, प्रहरी अधिकारी र स्थानीय नेतालाई शक्तिले जवाफदेहिताहीन बनाउँछ । कानुन त्यतिखेर मात्र बलियो हुन्छ जब संस्कृति र यसलाई समर्थन गर्ने मानिसको मानसिकता बलियो हुन्छ ।’

कृष्णा नेपालीको यो सम्झना भयावह एक घटनासँग मिल्दोजुल्दो छ, जो कुराकानीमा बाक्लै आयो, त्यो हो रिङ्कु सदाको ।

माघ २७ को रात १७ वर्षीया रिङ्कु सदालाई ३ पुरुषले सामूहिक बलात्कार गरे । गाउँको अनौपचारिक सभाले मध्यस्थता गर्न पञ्चायत बोलायो । आरोपितलाई १ लाख ४० हजार जरिवाना गरियो र पीडित परिवारलाई प्रहरीमा जान रोक लगाइयो । सदा परिवारले यी शर्त अस्वीकार गर्‍यो । माघ ३० गते उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् । रिङ्कु सदाको कथा कुनै अनौठो होइन– यो महिलालाई सुरक्षा दिनुको साटो मटियामेट गर्न डिजाइन गरिएको प्रणालीको क्रूर प्रतिविम्ब हो । जब नेतृत्वमा जवाफदेहिता रहँदैन, नेतृत्व पनि रहँदैन र त्यो उत्पीडनको अर्को संयन्त्र बन्न पुग्दछ

नेपाली भन्छिन्, ‘हामीलाई फरक प्रकारको नेतृत्व चाहिन्छ । जहाँ महिलालाई र अन्य सीमान्तकृत समुदायसमेत सबैका लागि राम्रो निर्णय गर्ने अधिकार हुन्छ ।’ एक दलित महिलाका रूपमा उनी देशको महिलावादी आन्दोलनलाई विभाजित गर्ने कडीहरू बुझ्छिन् । भन्छिन्, ‘म दलित हुँ, तर महिला पनि हुँ । हामीले आफैँलाई अलग गर्ने पहिचानलाई परै राखेर सँगै उभिनु पर्दछ ।’

महिलामा पनि विविधता छ । विविध महिलाका फरक-फरक आवश्यकता छन् । नयाँ महिला नेतृत्वले सबै खाले महिला मुद्दालाई विचार गर्नुपर्ने छ । मितिनी नेपालकी संस्थापक लक्ष्मी घलानको बुझाइमा नेपालमा राजनीतिक प्रगति र एलजिबिटीक्यू व्यक्तिहरूको जीवित वास्तविकताबीच अझै निरन्तर खाडल छ । उन्नत राजनीतिका बाबजुद धेरै एलजिबिटीक्यू व्यक्तिले रोजगारी, स्वास्थ्य सेवा, पारिवारिक गतिशीलता र शिक्षामा व्यापक भेदभावको सामना गरिरहेका छन् ।

घलान भन्छिन्, ‘बेवास्ताको कारणले होस् वा क्षमता अभावले सरकारी कर्मचारीतन्त्र एलजिबिटीक्यू समुदायलाई साँच्चै फाइदा पुर्‍याउन सक्ने नीति र कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नबाट धेरै हदसम्म परै बसेको छ । विवाह, धर्मपुत्र-पुत्री ग्रहण, नागरिकताजस्ता मुद्दाले समलैङ्गिक समुदायका लागि अझै धेरै चुनौती खडा गरेका छन् । तिनले समानता र मान्यताप्राप्‍तिका लागि सङ्घर्ष बढाउन परेको छ ।’

राजनीतिक सहभागिता उपस्थिति मात्र होइन, पहुँच, गतिशीलता र मर्यादाको कुरा हो । जब महिला, विशेषतःः सीमान्तकृत समुदायका महिला सार्वजनिक तथा राजनीतिक जीवनमा स्थानका लागि सङ्घर्ष गर्दछन्, तिनले त्यस्तो प्रणालीको सामना गर्दछन्, जो उनीहरूलाई नै बहिष्करण गर्न डिजाइन गरिएको हुन्छ । साँचो समावेशीकरण बाहिर खुट्टा टेक्ने अनुमति मात्र होइन, यसले भौतिक र सामाजिक संरचनालाई कससँग सम्बद्ध गर्ने भन्ने पुनःकल्पना माग गर्दछ ।

त्यसैगरी, अपाङ्गता भएका महिलाले अन्य अझ धेरै व्यवधान सामना गर्दछन् । अपाङ्गता अभियन्ता निर्मला भण्डारीको तर्क छ कि ती मानिस जसलाई अपाङ्ग बनाइएको छ, त्यसको एकमात्र कारण तिनको शारीरिक अवस्था होइन । बरु तिनका लागि सार्वजनिक तथा निजी दुवै क्षेत्रमा पहुँचको प्रणालीगत अभाव हो । उनी औल्याउँछिन् कि जब स्रोतसाधनको अभाव हुन्छ, प्रायः पूर्वाधार परियोजनामा अपाङ्गतामैत्री डिजाइनमा पहिलो क्षति पुग्छ । सामाजिक बहिष्करणले अपाङ्गता भएका महिलालाई दयाको पात्रमा परिणत गर्दछ । पहिलो त उसलाई अपाङ्ग मानिन्छ र दोस्रो महिला । त्यसबाट उसको पूर्ण व्यक्तित्व खोसिन पुग्दछ

नेपाल दृष्टिविहीन सङ्घकी पूर्वसचिव गार्गी नेपाल पनि यस्तै नीतिगत विरोधाभास औल्याउँछिन् । शहरी विकास मन्त्रालयले अपाङ्गतामैत्री पूर्वाधार निर्माणलाई अनिवार्य बनाएको छ । तर, यी नियमलाई धेरै हदसम्म बेवास्ता गरिन्छ ।

राजनीतिक सहभागिता उपस्थिति मात्र होइन, पहुँच, गतिशीलता र मर्यादाको कुरा हो । जब महिला, विशेषतःः सीमान्तकृत समुदायका महिला सार्वजनिक तथा राजनीतिक जीवनमा स्थानका लागि सङ्घर्ष गर्दछन्, तिनले त्यस्तो प्रणालीको सामना गर्दछन्, जो उनीहरूलाई नै बहिष्करण गर्न डिजाइन गरिएको हुन्छ । साँचो समावेशीकरण बाहिर खुट्टा टेक्ने अनुमति मात्र होइन, यसले भौतिक र सामाजिक संरचनालाई कससँग सम्बद्ध गर्ने भन्ने पुनःकल्पना माग गर्दछ ।

नवलपुरको चर्को गर्मीमा यी संवाद हुँदै गर्दा अर्को खतराको सम्झना गराइन्छ, जो हामीमाथि मडारिदै छ, जुन टाढाको सम्भावना होइन, अपरिहार्य र निर्विवाद वास्तविकता हो–जलवायु परिवर्तन । फेरि पनि यो भन्नै पर्ने हुन्छ कि महिला र सीमान्तकृत समुदाय, विशेषगरी ग्रामीण क्षेत्रका मान्छेहरूले जलवायु परिवर्तन परिणामको असमान भार वहन गरिरहेका छन् । जलवायु परिवर्तन, प्राकृतिक स्रोत व्यवस्थापन र समावेशीकरण अन्तर्सम्बन्धकी वरिष्ठ विज्ञ दिव्या गुरुङ जलवायु परिवर्तनलाई विकासको मुद्दा बुझ्न पर्ने दाबी गर्छिन् । विशेषतःः नेपालमा जहाँ अधिकांश सीमान्तकृत जनसङ्ख्या आर्थिक, भौगोलिक र सांस्कृतिक कारणले ऐतिहासिक बहिष्करणको जटिलताले घेरिएको छ ।

यी समुदाय जो पहिलेदेखि नै नाजुक थिए, जलवायु परिर्तनका गम्भीर परिणामको सबैभन्दा बढी जोखिममा छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार सन् २०५० सम्म जलवायु परिवर्तनले थप १५ करोड ८३ लाख महिला तथा बालिकालाई गरिबीमा धकेल्ने छ, जसले पहिलेदेखि नै गहिरो लैङ्गिक असमानता र आर्थिक कठिनाइ भोगेका छन् ।

जलवायु परिवर्तन र सामाजिक समावेशीकरणसम्बन्धी गुरुङको टिप्पणीले अनुपम अभियानको प्रतिनिधिमूलक शासन संरचनाको उद्देश्यलाई थप प्रत्यक्ष बल पुर्‍याउँछ । साँचो नेतृत्व भाषणबाजी वा कोटा प्राप्ति होइन, नीतिहरूको प्रभावकारिता मूल्याङ्कन गर्न बलियो संस्थागत संयन्त्रसँगै सीप, ज्ञान र अनुभवमा अर्थपूर्ण लगानी आवश्यक पर्दछ ।

नेपालमा महिला घरपरिवारभित्रका आप्रवासी हुन्, जसले घरेलु र निर्वाहमुखी कृषि कार्यको असमान बोझ बोक्दछन् । जबकि औपचारिक श्रम बजारमा उनीहरूको सहभागिता उल्लेखनीय रूपमा कम छ । पुरुषहरू कामका लागि आप्रवासिँदा घर व्यवस्थापन र कृषि श्रमको जिम्मेवारी वहन महिलाकै काँधमा थपिन्छ । यो दोहोरो जिम्मेवारी अक्सर असूचित रहन्छ । जलवायु परिवर्तनको प्रभावले कृषि उत्पादकत्वलाई जकड्छ । तिनको जोखिम चक्र अझै बलियो हुन्छ ।

मानुषी यमी भट्टराई महिलाका मुद्दा केके हुन् भनेर पुनर्मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दछिन् । अब डिजिटल अधिकार, वित्त र ऋण पहुँचलाई महिला मुद्दाका रूपमा प्रस्तुत गरिनुपर्नेमा जोड दिन्छिन् । महिलाका मुद्दाहरूको दायरा विस्तार गर्दा यी क्षेत्रमा उनीहरूको आवश्यकताको उचित सम्बोधन सुनिश्चित हुनुपर्ने छ ।

अनुपम अभियान ‘महिला पहिलो’ अभियान हो । यो यस तथ्यमा आधारित छ कि महिलाले सामाजिक बहिष्करण, प्राकृतिक प्रकोप र जलवायु परिवर्तन परिणामको मार सामना गर्दछन् । तैपनि, यिनै नतिजाको सामना गर्न निर्माण गरिएका शक्ति संरचनामा उनीहरूको प्रतिनिधित्व अत्यन्तै कम छ ।

धेरैभन्दा धेरै महिला निर्वाचित गराउने उद्देश्य उच्च महत्त्वको हो । तर, प्रश्न बाँकी नै रहन्छ कि त्यस कार्यका लागि आर्थिक सहयोग कसले गर्दछ ?

प्रचलन हेर्दा निर्वाचन खर्च स्थानीय व्यवसायी, दलाल र घरजग्गा व्यवसायीबाट आउँछ । तिनले त्यस्ता उम्मेदवारलाई मात्रै सहयोग गर्दछन्, जसबाट उनीहरूका आर्थिक स्वार्थ समर्थित हुन्छन् । महिलालाई राजनीतिक नेतृत्वको बागडोर सम्हाल्न प्रेरणा बढ्दै गएको भए पनि उनीहरूसँग आर्थिक स्रोतमा समान पहुँच भने छैन ।

लैङ्गिक तथा विकास विज्ञ, आईजीएफएफकी संस्थापक सदस्य सारु जोशीका अनुसार देशका ६० लाख ६६ हजार ९३७ घरपरिवारमध्ये २ प्रतिशतको कानुनी स्वामित्व मात्र महिलासँग छ । ९ प्रतिशत मात्र जग्गा महिलाको नाममा दर्ता छ । यस्तो असमानता स्वामित्वमा मात्र सीमित छैन । रोजगारीमा भएका महिलामध्ये ९० प्रतिशतले अनौपचारिक क्षेत्रमा काम गर्दछन् । ६६.८ प्रतिशत महिला कार्यशक्तिले न्यूनतम् ज्याला मापदण्डभन्दा कम कमाउँछन् ।

यो चुनौतीको सामना विद्यमान वित्तीय गतिशीलतालाई परिवर्तन गर्नु हो, जसले महिलालाई समान प्रतिस्पर्धा आधारका स्रोत सुनिश्चित गरोस् । यसका लागि धेरै क्षेत्रबाट सहयोगी प्रयास आवश्यक पर्दछ । राजनीतिक दलले सक्रिय महिला केन्द्रित अभियानमा कोष विनियोजन र लगानी गर्नु पर्दछ । महिला उम्मेदवारका लागि समान प्रतिस्पर्धाका आधार सृजना गर्नु पर्दछ ।

सरकारले महिला उम्मेदवार लक्षित प्रत्यक्ष आर्थिक सहयोग प्रदान गर्ने नीतिहरू ल्याएर चुनाव लड्न सजिलो पार्ने र सफलता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नु पर्दछ । आइजीएफएफले आर्थिक सहयोग गर्नेबारे सोचिरहेको छ तर यसको प्रारूप तयार भएको छैन ।

महिला नेतृत्वको लडाइँ उपस्थिति मात्र हैन, शक्तिका लागि हो । अनुपम अभियान राजनीतिक परिदृष्यमा केन्द्रित छ, किनकि शक्ति त्यही हुन्छ । जब महिलाले राजनीतिक शक्ति प्राप्त गर्ने छन्, यो अन्य संस्थामा समेत पुग्नेछ । नीति आकारित गर्ने, व्यवधान हटाउने र अन्यका लागि स्थान बनाउने छ । शक्तिमा महिला आरोहण लैङ्गिक भार विरुद्धको सङ्घर्ष मात्र हैन, हजारौं वर्षदेखिको बहिष्करण विरुद्धको गुरुत्व हो ।

काठमाडौं वडा नम्बर ३ की सदस्य शर्मिला परियार भन्छिन्, ‘हामीलाई सरकारमा धेरै महिला चाहिन्छ । त्यो भनेको एक महिलाले अर्को महिलालाई हैन, आफूले आफैँलाई मतदान गर्नु हो ।’

नेपालको राजनीतिक परिदृष्यले भ्रममा बेरिएको प्रगतिको कथालाई व्यक्त गर्दछ । महिलाले सरकारी पद ओगटेका छन् । उनीहरूको अनुहार आधिकारिक चित्रमा कोरिएको छ । चुनावी अभिलेखमा उनीहरूको नाम कुँदिएको छ । तैपनि, प्रतिनिधित्वको यो आवरणभित्र नखोतलिएको एक वास्तविकता लुकेको छ, त्यो हो–ती महिला स्वतन्त्र छैनन् ।

नेपालको राजनीतिक परिदृष्यले भ्रममा बेरिएको प्रगतिको कथालाई व्यक्त गर्दछ । महिलाले सरकारी पद ओगटेका छन् । उनीहरूको अनुहार आधिकारिक चित्रमा कोरिएको छ । चुनावी अभिलेखमा उनीहरूको नाम कुँदिएको छ । तैपनि, प्रतिनिधित्वको यो आवरणभित्र नखोतलिएको एक वास्तविकता लुकेको छ, त्यो हो–ती महिला स्वतन्त्र छैनन् ।

तिनका हात अझै प्रणालीगत अवरोधले बाँधिएका छन्, जसले उनीहरूलाई शक्ति अभ्यासकर्ताभन्दा कम आँकेर पदवाहक-स्थानधारक बनाउँछ । उनीहरूलाई पदमा पुर्‍याउने कोटाले अधिकारलाई निर्देशित गर्ने पितृसत्तात्मक गढलाई भत्काएको छैन, बरु तिनीहरू अधुरो सङ्घर्षको प्रतीक बनेका छन् ।

जस्तो राजनीतिक सहभागिता छ, त्यो छनोटपूर्ण प्रदान, रणनीतिक प्रयोग र प्रणालीगत अस्वीकृति गरिएको एक विशेष सुविधाजस्तो देखिन्छ, अधिकार होइन । कोठामा कतिजना महिला उपस्थित छन् भन्ने गणना पर्‍याप्त होइन, हामीले यो सोध्न पर्दछ कि उनीहरूलाई बोल्न, निर्णय गर्न र शासन गर्ने अनुमति दिइएको छ कि छैन ?

जबसम्म हामी यी जरा गाडेर बसेका पदसोपानक्रमको सामना गर्दैनौँ– राजनीतिक समावेशीकरण भ्रममै सीमित हुनेछ । बहिष्करणको प्रक्रियालाई ढाकछोप गर्ने समानता प्रदर्शन मात्र हुनेछ । यद्यपि, आशा राज्य संस्थाभित्रका पर्खालभित्र होइन, सडकमा, अनुपम अभियानजस्ता भुइँ तहका आन्दोलनमा कायम छ । अनुपम अभियान यहाँ महिला एकअर्कालाई उत्साहित र समर्थन गर्न भेला हुन्छन् ।

आखिर प्रतिनिधित्वको यो लडाइँ सामूहिक हो, अन्य महिलाको समर्थनबिना यो लडाइँमा कोही महिला सफल हुन सक्दैनन् । अन्त्यमा, ऐक्यबद्धताजस्ता सामान्य कुराले आमूल परिवर्तन ल्याउन सक्दछ । 

राजनीतिक नेताले आफ्ना अनुभव बाँडेको सुन्न र अगाडिको बाटोबारे छलफल गर्न हामी भेला भयौँ । नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले सहजीकरण गरेको यो छलफलमा एमालेकी बिन्दा पाण्डे, काङ्ग्रेसकी लक्ष्मी परियार, माओवादीकी अमृता थापा मगर, रास्वपाकी सुमना श्रेष्ठ र जसपाकी रञ्जु कुमारी झा प्यानलिस्ट थिए ।

आफ्नो बोल्ने समयमा सुमनाको आँखाभरि आँशु थियो । उनले अरुतिर फर्किएर भनिन्, ‘तपाईंहरू सबै नहुनु भएको भए म यहाँ हुने थिइन ।’ मञ्चमा भएका यी महिलाको राजनीतिक इतिहास लामो थियो । सुमनाले गहिरो कृतज्ञताभावका साथ थपिन्– ‘तपाईंहरू सबैलाई धेरैधेरै धन्यवाद छ ।’

-यो लेख  Kalam Weekly मा अङ्ग्रेजी भाषामा प्रकाशित लेखको अनुवाद हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved