गगन भन्छन्- सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्छ

नेपालभ्युज

गगन भन्छन्- सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्छ

गुल्मी । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन् । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली काङ्ग्रेस  गुल्मीद्वारा मङ्गलबार सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताए। उनले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरु तयार रहेको बताए ।

काङ्ग्रेस  सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर काङ्ग्रेस थिचिएर बस्न नसक्ने बताए। एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्ने तर त्यसको जिम्मेवारी काङ्ग्रेसले नबोक्ने उनको भनाइ थियो ।

पछिल्लो समय आम नागरिकमा देखिएको असन्तुष्टिलाई चिन्ने र चिर्ने काम काङ्ग्रेसको काँधमा आएको महामन्त्री थापाले बताए। देशमा ठूला दलले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरण जगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाई भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीलाई आग्रह गरे । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको उल्लेख गर्दै उनले यस अवस्थामा थुप्रै सम्भावनाका ढोका खुलेका बताए । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेकाले गणतन्त्र सबैको साझा भएको बताए ।

जिल्ला सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारी, डा मीनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी र चन्द्र केसी, प्रदेश सभापति अमरसिंह पुनलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved