काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा ‘प्रहरी ज्यादती’ भएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत नेताहरूले बुधबार मानवअधिकार आयोगमा पुगेर निवेदन दिएका हुन् ।
छानबिन गरी आवश्यक कारबाही गर्न उनीहरुले माग गरेका छन् । आयोगका अध्यक्षले आवश्यक छानबिन गरी कारबाही गर्ने आश्वासन दिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरेको थियो । एक प्रहरी अधिकारीले अन्तिम इच्छा सोधेकोमा रास्वपाका नेता–कार्यकर्ताले आपत्ति जनाएका थिए ।
यस घटनालाई रास्वपाले प्रहरी ज्यादती र मानवअधिकार हनन भनेको छ । लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशपछि पक्राउ परेका हुन् । उनी कारागार चलान भइसकेका छन् ।
Facebook Comment
Comment