जयगढको भीषण आगलागी : निर्मलाको घर भत्काउँदा जोगियो ३५ परिवारको बास

जयगढको भीषण आगलागी : निर्मलाको घर भत्काउँदा जोगियो ३५ परिवारको बास

काठमाडौं ।  बुधवार साँझ साढे ७ बजेतिर एउटा पसलमा लागेको आगोले अछामको जयगढ बजारलाई तहसनहस पार्‍यो । स्थानीय पसलमा खाना पकाउने ग्यास चुहिएर सुरु भएको आगलागीले सिलिन्डर पड्किएपछि अछामको बान्नीगढी गाउँपालिका वडा न. ३ स्थित जयगढ बजारका २७ वटा घर र दोकान जलेर खरानी भए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीका अनुसार आगलागी बाट १५ वटा टिनका टहरा भएका पसल, १० वटा ढुङ्गा माटोले बनेका घर र २ वटा पक्की घर नष्ट भएका छन् । करिब ६२ वटाभन्दा धेरै पसल र घरहरू भएको जयगढ बजारमा आगलागीबाट ७ करोड हाराहारीको क्षति पुगेको प्रारम्भिक विवरण छ । यकिन विवरण भने जिल्ला र स्थानीय प्रशासनले अझै सङ्कलन गरिरहेको छ ।

जयगढ बजार र आसपासमा रहेका ३५ वटा घर भने आगलागीबाट जोगिएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता जय पार्कीका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि तीन तले घर भत्काएपछि थप घरहरूमा क्षति हुनबाट जोगिएको थियो । स्थानीय ४७ वर्षीया निमर्ला रावलको घर भत्काएर ‘फायर ब्रेक लाइन’ बनाएपछि बस्तीका अन्य घरमा आगो लाग्नबाट रोकिएको थियो ।

पार्की भन्छन्, ‘त्यो घरमा पनि आगो टिपिसकेको थियो । फायर ब्रेक लाइन बनाउनको लागि त्यो घरलाई भत्काउनुभन्दा उत्तम विकल्प अरू थिएन । त्यो घर भत्काइसकेपछि तल बजारका झन्डै ३५ घरहरू आगलागीबाट जोगाउन सफल भयौँ ।’

को हुन् निर्मला ?

४७ वर्षीया निर्मला रावलका घरमा एक्लै बस्थिन् । उनका श्रीमानको ११ वर्षअघि नै मृत्यु भइसक्यो । हाल उनी एक्लै छोराछोरीलाई पढाइरहेकी छन् । उनकी एक छोरीको विवाह भइसकेको छ । अर्की छोरी भारतको पन्जाबमा अध्ययनरत छन् । एक छोरा काठमाडौंमा पढ्छन् भने कान्छा छोरा टिकापुरमा पढ्दै छन् ।

उनले र उनका श्रीमानले २०६२ सालमा किनेको घर आगलागीमा परेपछि अहिले निर्मलाको बारीमा बास भएको छ । आगलागीबाट उनको घरमा रहेको पैसा र गरगहना सबै जलेको उनको भनाइ छ ।

‘आगो गाउँभरि फैलिरहेको थियो हामी सबै घर छोडेर माथि डाँडा तिर भागेका थियौँ । घर भत्किएको मैले राति १ बजेतिर मात्रै थाहा पाएँ,’ उनले भनिन् ।

उनका अनुसार घरभित्र झन्डै ५ तोला सुन र किस्ता तिर्न भनेर ऋण काढेको नगद १ लाख रुपैयाँ थियो । उनका गरगहना, लत्ताकपडा, र नगद सबै जलेको छ ।

निर्मला अब पढ्दै गरेका छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्तामा छन् । गाउँपालिकाको कार्यालय सहयोगीको रूपमा काम गरिरहेकी उनको कमाइले बालबच्चाको पढाइ र घर व्यवहार चलिरहेको छ ।

आगलागी पीडितलाई प्रदेश र  स्थानीय सरकारले राहत सहयोगको घोषणा गरेका छन् । उक्त सहयोगले उनलाई केही राहत मिल्छ कि भन्ने विश्वास छ ।

जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउदले निर्मलालगायत सबै पीडितका लागि सहयोग जुटाउने काम भइरहेको बताए । ‘निर्मलाको घर डोजर लगाएर घर भत्काएपछि त्यो भन्दा तलको सबै घरहरू जोगिए । उहाँको लागि आवश्यक सहयोग हामी गछौंँ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved