काठमाडौं । चैत ४ मा बसेको एमाले सचिवालयको बैठकले जागरण अभियानलाई व्यवस्था रक्षामा केन्द्रित गर्ने निर्णय लिएको थियो । त्यही निर्णयको बुटवलमा शुक्रवार जागरणसभा आयोजना भयो ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । सभालाई उपप्रधान तथा अर्थमन्त्री रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव पद्मा अर्यालले पनि सम्बोधन गरे । बुटवलको सभा व्यवस्था रक्षा सँगसँगै ओलीविरुद्धको घेराबन्दीमा पनि केन्द्रित भयो । सचिव अर्यालले ओलीविरुद्धका घेराबन्दी उठान गर्दै कडा प्रतिवाद गरिन् । उपाध्यक्ष पौडेलले नेतृत्वमाथि चौतर्फी प्रहार भइरहेको भन्दै त्यस विरूद्ध बुलन्द सुनिए । आफू विरूद्ध घेराबन्दी भइरहेको भन्दै ओलीले पनि आलोचना गरे ।
ओलीविरुद्धको घेराबन्दीको उठान सचिव अर्यालले गरेकी थिइन् । एमालेलाई कमजोर देखाउन र अध्यक्ष ओलीलाई गलत साबित गर्न प्रतिगामी शक्तिदेखि प्रतिपक्षीसम्म सक्रिय भएको उल्लेख गरिन् । एमालेको अनुपस्थितिमा मुलुकलाई गलत ढङ्गले अघि बढाउन स्वार्थ समूह सक्रिय रहेकाले नेतृत्व विरुद्धका घेराबन्दीलाई प्रतिवाद गर्ने बेला आएको उनले बताइन् । ‘नेकपा एमालेको नेतृत्व ठीक भएकै कारणले आक्रमण सुरु भएको छ । अध्यक्ष र पार्टीमाथि आक्रमण भइरहेको छ । अनर्गल प्रचार भइरहेको छ । त्यसको रक्षाको दायित्व अब हामीमा आइसकेको छ । यो जिम्मेवारीप्रति आफ्नो भूमिका आफैँले समीक्षा गर्नुहोला,’ उनले भनिन् ।
एमाले उपाध्यक्ष पौडेलले प्रतिकुलता विरूद्ध सशक्त कदम चाल्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन प्रतिबद्ध प्रधानमन्त्री ओली विरूद्ध चौतर्फी प्रहार भइरहेको बताए । व्यवस्था विरुद्ध सडकमा उत्रिएका शक्ति र नेकपाकालमा सहकार्य गरेका शक्ति अहिले पनि ओलीको विरोध गरिरहेको उनको भनाइ थियो । ‘आज प्रतिक्रियावादीहरू, अवसरवादीहरूले नेकपा एमालेमाथि प्रहार गरिरहेका छन् । उनीहरूले केपी शर्मा ओलीमाथि प्रहार गरिरहेका छन् । यो प्रहारको एउटै उद्देश्य छ,’ उनले भने, ‘ओलीलाई कमजोर नपारिकन प्रतिगामी उद्देश्यहरू सफल हुँदैनन् । प्रतिकुलताविरूद्ध पनि उभिएर मुलुकलाई समृद्धिमा डोर्याउन प्रयत्न गर्ने हाम्रो नेतृत्वलाई कमजोर बनाउने उद्देश्य उनीहरूको छ । अध्यक्षमाथि प्रहार गर्नेहरू आफैँ भित्तामा पुगेका छन् । आक्रमणलाई सहेर, सामना गरेर अघि बढ्ने उहाँको स्वभाव हो ।’
पार्टी अध्यक्षलाई असफल बनाउने र व्यवस्था विरोधी गतिविधिविरुद्ध सशक्त ढङ्गले अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए । पौडेलले जनतामाझ रहेका असन्तुष्टिको सम्बोधन राजनीतिक दलहरूले नै गर्ने उल्लेख गरे । ‘आम मानिसमा व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने निराशा छ । यसैको बलमा प्रतिगामी दरबारियाहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध प्रहार गर्दैछन् । उनीहरूले जनताको समस्या समाधान गर्न सक्दैनन्,’ उनले भने, ‘आततायी प्रवृत्तिलाई कहिल्यै उठ्न नसक्ने गरी पराजित गर्ने अभिभारा हाम्रो काँधमा छ । देशलाई ठीक बाटोमा लैजाने हैसियत राजनीतिक दलहरूको मात्रै छ । त्यसैले प्रतिगामी षड्यन्त्रलाई शिर उठाउन नसक्ने गरी प्रतिवादको जरुरी छ ।’
घेराबन्दीको आलोचना, कार्यकर्तासँग असन्तोष
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रतिपक्षी दल, मिडिया र पार्टीभित्र आफूविरूद्ध घेराबन्दी र प्रहार भइरहेको भन्दै आक्रोश व्यक्त गरे । प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकार असंवैधानिक रूपमा गठन भएको भन्दै छिट्टै ढल्ने बताइरहेका छन् । हालै, इमेज टेलिभिजनका लागि जगदीश खरेलसँग कुरा गर्दै प्रचण्डले यो सरकार छिट्टै ढल्ने अभिव्यक्ति दिएका थिए । काङ्ग्रेसले चाहेको खण्डमा देउवा नेतृत्वमा सरकार गठनका लागि माओवादीले तत्कालै सहयोग गर्नसक्ने उनको अभिव्यक्ति छ । प्रधानमन्त्री ओलीले सरकार ढल्ने अनर्गल प्रचार र सरकार विरुद्धका यस्ता अफवाह नपत्याउन अपिल गरे । ‘कतिपयले यो सरकार ढल्छ भनेका छन् । सरकार ढल्ने होइन, हल्लिँदा पनि हल्लिँदैन । यस्ता अफवाहका पछाडि नलाग्नुस्,’ उनको भनाइ छ ।
प्रचण्डले सार्वजनिक रूपमै शिक्षकहरूलाई सडक नछोड्न समेत उक्साएका थिए । आफूहरूले संसद्को विशेष अधिवेशनका लागि सरकारलाई दबाब दिने भन्दै सडक नछोड्न उनले शिक्षकहरूलाई भनेका थिए । विद्यालय शिक्षा विधेयक अध्यादेशमार्फत भए पनि पास गर्नैपर्ने अडानसहित शिक्षकहरूले आफ्नो आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री ओलीले शिक्षकहरू सडकमा आउन जरुरी नै नरहेको बताएका छन् । ‘समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु । तपाईंहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रतिपक्षीबाट मात्रै होइन आफू विरूद्ध पार्टीभित्रै पनि प्रहार सुरु भएको इङ्गित ओलीले गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा आउने चाहाना स्वरूप सक्रियता बढाइरहेकी छन् । उनी निकट नेता कार्यकर्ताहरूले एमालेको अबको साझा र सर्वस्वीकार्य नेतृत्व भण्डारी हुने टिप्पणी गरिरहेका छन् ।
बुटवलको सभामा उनले आफू विनाको एमाले सम्भव नरहेको बताएका छन् । ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन्,’ उनले भने ।
मिडियाले समेत आफू विरूद्ध घेराबन्दी गरिरहेको ओलीको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामालाई लिएर मिडियाले अफवाह फैलाएको उनले टिप्पणी गरे । मिडियाले उपकुलपति र आफू विरूद्ध लडाइँ रहेको भन्दै अफवाह फैलाइरहेको बताए । यो प्रकरणमा अनावश्यक अखबारबाजी भएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले प्रधानमन्त्री ओलीले त्रिविको नीति कार्यक्रम रोकेकाले आफूले राजीनामा दिएको बताएका छन् । यता प्रधानमन्त्री ओलीले उपकुलपतिले काम गर्न नसकेर राजीनामा दिँदा आफूलाई अनावश्यक रूपमा जोडेको बताए । ‘उपकुलपतिले काम गर्न सकेनछन् । राजीनामा दिएछन् । अखबारले राजीनामा स्वीकृत गर्देनन् भनेछन् । न भेटेको छ न म कहाँ राजीनामा आएको छ । कोहीमार्फत पठाएको थियो अरे, राजीनामा आएपछि त मैले स्वीकृत गरिदिएँ त,’ उनले थपे, ‘प्रधानमन्त्री र उपकुलपतिको द्वन्द्व, भीडन्त, लफडा भनेको छ । कहाँबाट आयो यस्तो कुरा ? अचम्म छ ।’
पार्टीसहित आफू विरूद्धका घेराबन्दी र अनर्गल प्रचार विरूद्ध कार्यकर्ता पंक्तिले प्रतिवाद गर्न नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘नक्कली आईडी र एआईको प्रयोग गरेर समेत विरोध र प्रचार गर्ने काम भएको छ । बुस्टरको प्रयोग गर्ने गरिएको छ । अनेक खेल भइरहेका छन्,’ उनले भने, ‘आक्रमणका विरुद्धमा जुध्नु पर्यो, सत्यको डटेर सामना गर्न सक्नुपर्यो ।’
एमाले नेतृत्वको कामको प्रचारक एमालेकै कार्यकर्ता भएको उनले बताए । जनताका घरघरमा पुगेर सरकारका कामकारबाही बुझाउन उनले कार्यकर्तालाई निर्देशन दिए ।
Facebook Comment
Comment