बैङ्कक भेटघाटपछि ओली–मोदी सम्बन्ध

भारत ओली सरकारसँग सन्तुष्ट छैन, तर नेपालबारे कुनै नयाँ निर्णय लिने मुडमा पनि छैन

नेपालभ्युज

बैङ्कक भेटघाटपछि ओली–मोदी सम्बन्ध

बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको राजधानी बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रिल ४, शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘साइड लाइन’ भेटघाट गरे । कतिपय सञ्चार माध्यमले यो भेटघाटलाई ठूलो महत्त्व दिँदै ‘आइसब्रेक’ को संज्ञा दिए ।

ओली चौथोपटक सत्तामा आए यता भारत भ्रमणको चाँजोपाँजो कसै गर्दा मिल्न सकेको छैन । बैंककको  ‘साइड लाइन’ भेटघाट भने नयाँ कुरा थिएन । गत सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको ७९ महासभामा न्यूओर्कका पनि ओली–मोदीबीच यस्तो भेटघाट भएको थियो । तर, त्यसपछिका दिनमा ‘सम्बन्ध सुधार’ भएको मान्न सकिने आधार भने देखिएन ।

न्यूअर्को ‘साइड लाइन’ भेटघाटले कुनै देखिने परिणाम नदिएको सन्दर्भमा बैंकक भेटघाटले सम्बन्धको गतिरोधलाई नयाँ मोड दिने अपेक्षा पलाउनु अस्वाभाविक थिएन ।

ओलीसँग मोदीको बैंकक भेटघाट पनि यथार्थमा नेपाल केन्द्रित र  ‘विशेष महत्त्व’ को भने थिएन । बिमस्टेक शिखर सम्मेलनमा सहभागी अन्य देशका सरकार प्रमुखसँग जस्तै मोदीले  ‘औपचारिक भेटघाट’ गरेका थिए । त्यही क्रममा नेपाल पनि परेको थियो।

कूटनीतिक स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी नेपालसँग प्रतिनिधि मण्डलसहितको औपचारिक बैठक चाहन्थे । तर, ओलीकै विशेष आग्रहमा ‘वान अन वान’ बैठक तय भएको थियो । बैंककमा दुवै नेताले अरू कसैलाई नराखी ३५ मिनेट बढी गोप्य छलफल गरे ।

छलफलमा केके विषय उठे र कस्ता धारणा व्यक्त भए– दुवै पक्षले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । भेटघाटपश्चात्को दुवै प्रधानमन्त्रीको ‘एक्स’ टिप्पणी भने विरोधाभासपूर्ण छ ।

प्रधानमन्त्री ओलीले अत्यन्त संक्षिप्त र औपचारिक टिप्पणी लेखे– ‘मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गर्दछु ।’

ओलीले यो टिप्पणीमा छलफलका विषय र ‘स्टेप फरर्वाड’ बारे कुनै चर्चा गरेका छैनन् । ‘अत्यन्त सार्थक र सकारात्मक’ भनिएको वार्तालाई त्यसो भनिन पर्ने आधारबारे  ओली मौन छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा लेखेको ‘एक्स’ सन्देश भने बढी विस्तृत र विषय खुलाउने प्रकृतिको छ । उनले भनेका छन्–‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले नेपाल–भारत मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ । हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रमा पनि कुरा गर्‍यौँ ।’

मोदीले उल्लेख गरेका विषय ‘ऊर्जा, कनेक्टिभिटी, संस्कृति, डिजिटल प्रविधि, विपद् व्यवस्थापन र समुन्द्री यातायात’ नेपालको सामयिक राजनीतिमा विशेष प्राथमिकतामा देखिन्नन् । यी विषय नियमित कूटनीतिक तथा प्रशासनिक प्रक्रिया वा ‘पाइन लाइन’ भित्र होलान् । अधिकांशको चासो भने ओलीको भारत वा मोदीको नेपाल भ्रमण होला वा नहोला भन्ने विषयमा केन्द्रित थियो ।

गत मङ्सिरमा चीनसँग ‘बिआरआई फ्रेमवर्क’ मा सम्झौता गरेर फर्किएका ओलीले लगत्तै भारत भ्रमणको मिति तय हुने आशा व्यक्त गरेका थिए । उनले भनेका थिए–‘अब भारततिर पनि भ्रमण हुन्छ, छिट्टै मिति तय हुन्छ ।’

परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिकाका लागि बारम्बार प्रयत्न गरिन । तर, भारतले भने इच्छा र तत्परता देखाएन । राणा यसबीच दुई पटक दिल्ली गइन । पछिल्लो पटक ‘रायसिना संवाद’ को क्रममा लामै बसिन । तर, पनि ओलीको भारत भ्रमणको प्रयत्न अनिश्चित छ ।

परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिकाका लागि बारम्बार प्रयत्न गरिन । तर, भारतले भने इच्छा र तत्परता देखाएन । राणा यसबीच दुई पटक दिल्ली गइन । पछिल्लो पटक ‘रायसिना संवाद’ को क्रममा लामै बसिन । तर, पनि ओलीको भारत भ्रमणको प्रयत्न अनिश्चित छ ।

बैंकक भेटघाटपछि पनि गतिरोध ‘आइसब्रेक’ हुने सम्भावना छैन ।  नेपालमा आयोजित गरिने ‘सगरमाथा संवाद’ मा भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाउने प्रयास नेपाल पक्षले बारम्बार गरेको हो । सायद बैंकक भेटघाटमा पनि ओलीको यस्तो प्रस्तावलाई मोदीले अस्वीकार गरेको हुनु पर्दछ ।

किनकि ओलीले काठमा फर्किएर भने– ‘सगरमाथा संवादमा प्रधानमन्त्री मोदी काठमा आउन भ्याउनु हुन्न ।’

प्रश्न ‘भ्याउने वा नभ्याउने’ भन्दा पनि इच्छा र प्राथमिकताको हो । मोदीको प्राथमिकता रहेको श्रीलङ्का भ्रमणका लागि भने उनी बैंककबाटै सिधै कोलम्बो हानिए । श्रीलङ्कामा पनि अहिले ‘कम्युनिस्ट सरकार’ छ । तर, सम्बन्धको कडी भने विपरीत दिशामा घुमेको छ ।

प्रधानमन्त्री मोदी  पछिल्लो आम निर्वाचन र राजनीतिक परिवर्तनबाट अनुरा कुरामा दिशानायके सरकार बने यता श्रीलङ्का भ्रमण गर्ने पहिलो विदेशी नेता बनेका छ । श्रीलङ्का राजपाक्षे परिवारको राजनीतिक वर्चस्व हुँदा चीनसँग नजिक थियो ।

सन् २०२२ को जुलाईमा राष्ट्रपति गोतावाया राजपाक्षे जनविद्रोहबाट सत्ताच्यूत गरिए । राजपाक्षे शासनकालमा महँगो चिनियाँ ऋण र  हम्बनटोटा बन्दरगाह लिजलगायतको कारणले चुलिएको आर्थिक सङ्कट जनविद्रोहमा परिणत भएको थियो ।

चीनले ऋण पुनर्समायोजन गर्न अस्वीकार गरेपछि भारतले श्रीलङ्काको हात थामेको थियो । श्रीलङ्का–भारत सम्बन्धका नयाँ मोड आएको थियो । वैचारिक रूपमा चीनसँग निकट हुन सक्ने ठानिएको राष्ट्रपति दिशानायके सरकार भारतसँग नजिकिएको थियो ।

श्रीलङ्का भ्रमणलाई मोदीले दिएको प्राथमिकताबाट प्रस्ट बुझ्न सकिन्छ– नेपाल अहिले उनको प्राथमिकतामा छैन । मोदी ‘सगरमाथा संवाद’ को प्रमुख अतिथि भएर नेपाल आउन चाहेनन् । न त आशा गरिए अनुरूप  समकक्षी ओलीलाई भारत भ्रमणको निमन्त्रणा नै दिए ।

यी परिदृश्यलाई हेर्दा बैंकक भेटघाटपछि ओली–मोदी सम्बन्ध सुध्रिएको मान्न सकिँदैन । यद्यपि, दुई नेताबीचको यस्तो चिसोपनले दुई देश बीचको नियमित सम्बन्धमा भने कुनै समस्या नआउने देखिन्छ ।

भारत ओली सरकारसँग सन्तुष्ट छैन । तर, नेपालबारे कुनै नयाँ निर्णय लिने मुडमा पनि छैन । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि भारत रणनीतिका प्राथमिकता बद्लिएका छन् । नेपाल अहिले मोदी सरकारको धेरै ठूलो प्राथमिकताको विषय होइन ।

भारत ओली सरकारसँग सन्तुष्ट छैन । तर, नेपालबारे कुनै नयाँ निर्णय लिने मुडमा पनि छैन । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि भारत रणनीतिका प्राथमिकता बद्लिएका छन् । नेपाल अहिले मोदी सरकारको धेरै ठूलो प्राथमिकताको विषय होइन ।

बैंककमा भारतीय समकक्षी मोदीसँग ओलीको भेट हुनुअघि काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थल स्वागत र चैत्र १५ गतेको तीनकुने हिंसा भए । भारतीय समाचार माध्यमले यी दुवै घटनालाई उच्च महत्त्व दिएर ‘कभरेज’ गरे । भारतीय सञ्चार माध्यममा यस्तो हल्ला चल्यो मानौँ कि नेपालमा ‘राजावादी  क्रान्ति’ र ‘सत्ता परिवर्तन’ सङ्घारमा छ ।

काठमाडौंमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रदर्शन भएपछि त्यसले थप सनसनी उत्पन्न गरेको थियो ।

ज्ञानेन्द्र शाहको ‘लखनउ–नेक्सस’ बारे कूटनीतिक क्षेत्रमा कुनै भ्रम देखिँदैन । सक्रिय राजनीतिमा आउनु अघि मुख्यमन्त्री योगी गोरखनाथ मठको मठाधीश थिए । गोर्खा राज्यको स्थापना र नेपालको एकीकरणमा गोरख नाथ सम्प्रदायका सन्न्यासी गुरुहरूको आर्सीवाद रहेको इतिहास छ । यही कारण हुन सक्दछ– केही महिना अघि ज्ञानेन्द्र शाह गोरखपुर पुगेर गोरखनाथ मन्दिरमा पूजाआजा गरेका थिए ।

ओली–मोदी भेटघाटमा यो विषय उठे नउठेको प्रस्ट छैन । तर, भाजपा ‘हाइकमान्ड’ ले मुख्यमन्त्री योगीसँग काठमाडौंमा भएको उनको फोटो प्रदर्शन र ज्ञानेन्द्र शाहसँगको सम्बन्धबारे  आन्तरिक रूपमा धारणा माग गरेको स्रोतको दाबी छ  । मुख्यमन्त्री योगी काठमाडौं का घटनाक्रमबारे आफै अनिच्छुक छन् । राजदूत शंकर शर्मासँगको भेटघाटमा योगीले कुरा प्रस्ट गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त केन्द्रीय गृहमन्त्री अमितभाई शाह, रक्षामन्त्री राजनाथ सिंह, जेपी नड्डा आदि प्रभावी रहेको भारतीय संस्थापन पक्ष तथा भाजपा उच्च नेतृत्व वृत्तमा ‘हिन्दू–राष्ट्र’ बारे वैचारिक लगाव र रुचि अवश्य छ तर ‘राजतन्त्रको पुनर्स्थापना’ प्रति कुनै चासो र रुझान नभएको बताइन्छ ।

काठमाडौंमा हल्ला गरिएजस्तो राजावादी प्रदर्शनलाई दिल्लीको आर्सीवाद छ भन्न सकिने कुनै आधार छैन ।  तर, ओली सरकारसँगको चिसोपन बैंकक भेटघाटपछि ‘आइसब्रेक’ भएको पनि  मान्न सकिँदैनन् ।

यद्यपि नेपालमा एमाले वृत्तले बैंकक भेटघाटबाट ओलीले कूटनीटिक जीत हासिल गरेको भाष्य निर्माण गर्न खोजेको छ । जस्तो कि महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जालमा लेखका थिए–‘दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो– नेपाल र भारतका प्रधानमन्त्री बीचको संवाद र संवादपछिको दुवै देशका प्रधानमन्त्रीको सकारात्मक र उत्साहजनक प्रतिक्रिया ।’

पोख्रेलको यो भनाइले ओलीको ‘अविचल दृढता’ ले मोदीलाई पुनर्विचार गर्न बाध्य बनाएको भाष्य निर्माण खोज्थ्यो । तर, मोदीले बिमस्टेक शिखर सम्मेलनका क्रममा ओलीलाई भेटेर ‘औपचारिकता पूरा’ मात्र गरेका हुन कि ‘पुनर्विचार’ नै गरेका हुन भन्ने प्रश्न जहीँको त्यहीँ छ ।

ओली–मोदी सम्बन्धको जटिलता नेपालको संविधान, २०७२ जारी गर्ने बेलादेखिकै हो । २०७७ कार्तिकमा कोरोना लक डाउनबीच प्रधानमन्त्री मोदीको विशेष दूत बनेर काठमाडौं आएका तत्कालीन ‘रअ’ प्रमुख सामन्त गोयलसँगको वार्तामार्फत सम्बन्ध सुधारको विशेष प्रयत्न भएको थियो ।

तर, त्यसपछिका दिनमा पनि विश्वासको वातावरण भने बन्न सकेन । ओलीले मोदीसँग गरेका वाचा के थिए, त्यो त उनै जानुन् । तर, भारतीय पक्ष ओलीलाई आफैले गरेका ‘वचन र प्रतिबद्धतामा नटिक्ने’ अविश्वसनीय व्यक्तित्वका रूपमा हेर्दछ ।

ओलीसंगको विश्वासको सङ्कटलाई  परराष्ट्रमन्त्री आरजू राणा देउवामार्फत सन्तुलन गर्ने प्रयत्न समेत दिल्लीबाट भयो ।  ओली नेतृत्वको वर्तमान सरकार बने लगत्तै पहिलोपटक दिल्ली जाँदा परराष्ट्रमन्त्री राणालाई ‘प्रधानमन्त्री सरहको ट्रिट’ गरिएको चर्चा चलेको थियो । राणालाई प्रधानमन्त्री मोदीले भेटेका थिए । तर, त्यसपछिको दिल्ली भ्रमणमा राणासँग कसैले भेट दिएको थिएन । यहाँसम्मकी कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय पक्षको अनिच्छाकै कारण महाकुम्भ स्नान गर्ने कार्यक्रम समेत स्थगन गर्नु पर्‍यो । ‘रायसिना संवाद’ को क्रममा समकक्षी एस. जयशंकरलाई भेटेर राणाले ‘सम्बन्ध सामान्यीकरण’ गर्न खोजेकी थिइन ।

जानकारहरू भन्छन्– बैंककमा ओली–मोदी ‘साइड लाइन’ भेटघाटले नेपाल– भारत सम्बन्ध न सुध्रिएको न थप बिग्रिएको, ओली सरकार बने यताकै अवस्थामा गतिरोधमा यथावत् रहेको सङ्केत गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved