सत्तामा रहेर सडकमा उत्रियो जनमत पार्टी, आफ्नै सरकारविरुद्ध प्रदर्शन

नेपालभ्युज

सत्तामा रहेर सडकमा उत्रियो जनमत पार्टी, आफ्नै सरकारविरुद्ध प्रदर्शन

जनकपुरपुरधाम । मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आइतबार जनकपुरधाममा आफ्नै सरकारविरुद्ध सडक प्रदर्शन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आइतबार आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्टाचारविरुद्ध कडा कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’, ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मुख्यमन्त्री कार्यालयको घेराउ गरे । उनीहरूले बजेट वितरणमा विभेद, योजनामा पारदर्शिताको अभाव र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग गरे ।

जनमत पार्टीका नेता डा. प्रशन्नकुमार झाले जनकपुरधाममा सञ्चालित योजनाहरूको खरिद–बिक्री प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाए । उनले प्रदेश सरकारका केही मन्त्रीहरू नै यसमा संलग्न भएको दाबी गर्दै भने, ‘जनमत पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको पक्षमा छ । चाहे हाम्रै पार्टीका मन्त्री किन नहोस्, जनताको करको पैसा लुट्न दिइँदैन ।’

डा. झाले धनुषा–३ मा योजनाबाट बञ्चित गरिएकाले त्यहाँ गम्भीर असन्तोष बढेको बताए । उनका अनुसार पूरक बजेटबाट समेत उक्त क्षेत्रमा कुनै योजना नल्याइएकाले समानताको सिद्धान्त उल्लंघन भएको हो । ‘विकास योजनामा भेदभाव गर्न मिल्दैन, सबै क्षेत्रलाई समान रुपमा हेर्नुपर्छ,’ उनले भने ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा जनकपुरधामका धार्मिक, ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमणको अन्त्य, योजनामा पारदर्शिता, बजेटको न्यायोचित वितरण, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको राजीनामा र छानबिन आयोग गठनको माग समेटिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved