एउटा ल्याटिन शब्दावली छ — ‘क्वो वाडिस् ?’
यो वाक्यांश इसाई परम्परामा आधारित एक प्रसिद्ध प्रसङ्गसँग सम्बन्धित छ । सम्राट् निरोको उत्पीडनबाट बच्न रोम छाडेर भाग्न लागेका सन्त पिटरले बाटोमा जब अचानक क्राइस्टलाई आफू जान लागेको उल्टो दिशातिर हिँडिरहेको देख्छन्, अनि सोध्छन् – ‘क्वो वाडिस् ?’
जिससले उत्तर दिन्छन्, उनी त रोम नै फर्किन लागेको । पिटरका लागि त्यो एउटा गहिरो आत्मनिरीक्षणको क्षण बन्यो । आफ्नो विश्वास र आस्थाको परीक्षण सङ्कटको समयमा हुन्छ, न कि सबै राम्रो र ठीकठाक भएको बेलामा भन्ने जब पिटरलाई लाग्छ, उनी पनि फर्कन्छन् । भाग्नुभन्दा पनि प्रारब्ध, नियति वा सत्य जे हो त्यसको सामना गर्नु नै आफ्नो कर्तव्य हो भन्ने भावका साथ । ‘क्वो वाडिस् ?’ अर्थात्, ‘तिमी कता जाँदैछौ ?’
‘क्वो वाडिस् ?’ भन्ने प्रश्न केवल ऐतिहासिक वा धार्मिक सन्दर्भमा होइन, आत्मचिन्तन, आत्मनिरीक्षण र आत्मजवाफदेहिताका लागि आज पनि एक गहिरो प्रतीकको रूपमा प्रयोग हुन्छ ।
कुनै पनि देश, समाज यथास्थितिमा बस्दैन, यो त सदा चलायमान हुन्छ । अझ लोकतन्त्रमा त समाज झनै गतिशील हुन्छ, हुनुपर्छ । अधिनायकवादी वा एकतन्त्रीय राजाको शासन व्यवस्थामा हो देश र समाज यथास्थितिमा हुने ।
त्यसकारण आजको युगमा त्यस्तो तन्त्रको त काम छैन नै । जुन समाज गतिशील हुन्छ, त्यहाँ चुनौती थपिई नै रहन्छन्, परीक्षाका घडी पनि निरन्तर आइ नै रहन्छन् । कुनै पनि समाज अग्रगामी तब हुन्छ, जब यसले आइपरेका चुनौतीहरूलाई सामना गर्छ ।
वर्तमान नेपाल पनि एक किसिमको परीक्षणबाट गुज्रिरहेको छ । माथि उल्लेखित निरोकालको पारम्परिक तवरको होइन कि मूल्य, मान्यता, सामूहिक अन्तरचेतना र सद्सद्विवेकको परीक्षामा छ, नेपाली समाज । राजनीतिक गञ्जागोल, आर्थिक पछ्यौटेपन, सामाजिक खण्डिकरणको खतरा आदि जस्ता कुराहरूले सुसूचित बहसको आधार नै धर्मराउने हो कि भन्ने अवस्था छ, अहिले । हालै आएर करिब दुई दशकअघि इतिहासको पानामा दर्ज गरिएको राजतन्त्रको माग लिएर केही मानिस सडकमा आएका छन् । त्यसले पूरै समाज र देशलाई नै तरङ्गित बनाइदिएको छ ।
नेपालमा राजनीति बिग्रियो, नेताहरूले राजनीति बिगारे भन्ने बहस चलेको पनि धेरै नै भइसक्यो । तर, नेपाली राजनीति बिग्रेर यो स्थितिमा किन आइपुग्यो भन्ने विषयमा बहस कति भएको छ भन्ने कुरा पनि महत्वपूर्ण छ ।
दल र नेता भन्छन्, संविधान र व्यवस्था नै आक्रमणमा पर्ने डर भयो । तर, आजको नेपालको मुख्य चुनौती नै तिनैले सृजना गरेको राजनीतिक भद्रगोल हो । र, यसको व्यस्थापन नै सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ । नेपालमा राजनीति बिग्रियो, नेताहरूले राजनीति बिगारे भन्ने बहस चलेको पनि धेरै नै भइसक्यो । तर, नेपाली राजनीति बिग्रेर यो स्थितिमा किन आइपुग्यो भन्ने विषयमा बहस कति भएको छ भन्ने कुरा पनि महत्वपूर्ण छ ।
नेपाली दल र नेताहरूले गरेका योगदानको चर्चा हुँदाहुँदै पनि उनीहरूले शासकीय कला (स्टेट क्राफ्ट), राज्य सञ्चालन का आधारभूत मान्यताहरू किन सिक्न सकेनन्, वा सिक्ने कोसिस गरेनन् ? किन उनीहरूले लडेर ल्याएको लोकतन्त्र शनै: शनै: ‘पेट्रोनाइजिङ्ग’ लोकतन्त्रमा परिणत हुन गयो ?
कुनै समय कलङ्की-रत्नपार्क वा यस्तै कुनै रुटमा ‘सुजुकी’ कम्पनीको एउटा निलो, आकाशे रङ्गको ‘भ्यान’ चल्ने गर्थ्यो । अत्यन्त सानो सलाईको डब्बाजस्तो उक्त मोटरलाई सुजुकीले सार्वजनिक यातायातको प्रयोजनको लागि बनाएको नै थिएन । तर, त्यही मोटर आयात गरेर, सिटहरू थपथाप गरेर नेपालमा सार्वजनिक यातायातको प्रयोजनमा प्रयोग गरियो । एक जना वयस्क मानिस राम्ररी उभिनै/बस्नै नमिल्ने उक्त मोटर सिधै आयात गरेर सार्वजनिक यातायातको प्रयोजनको लागि कुनै व्यवसायीले आफैँ एक्लैले सडकमा गुडाइ दिएको होला त, राजनीतिक र प्रशासनिक सहयोग र समर्थनबिना नै ? नेता-व्यापारीको मिलेमतोले कसरी लोकतन्त्र र प्रजातन्त्रमा आम जनताका आधारभूत आवश्यकतालाई नजरअन्दाज मात्र गर्दैन, कुल्चिएर नै हिँड्छ भन्ने दृष्टान्त हो यो । ‘पेट्रोनाइजिङ्ग’ लोकतन्त्रको पहिलो खुड्किलो नै यही हो । किनकि यसले दल-नेताहरू र जनताबीचको दूरी बिस्तारै बढाएर लैजान्छ ।
जब दल र नेता आम जनताभन्दा आफूलाई निकै टाढा र माथिको भन्ने ठान्न थाल्छन्, ‘हामी’ र ‘तिमी’ भन्ने विभेदको सुरुवात हुने त्यहीँबाट हो । जनताका आवश्यकता र चाहनाबाट उनीहरू पूर्णत: वियोजित हुँदै जान्छन् । अनि उनीहरू जनतालाई ‘हामीले दिने’ ‘हाम्रो निगाह’मा बाँच्ने ‘रैती’झैँ व्यवहार गर्छन् । लोकतान्त्रिक मूल्यमान्यता भताभुङ्ग हुन थाल्ने त्यहीँबाट हो । नेताहरू नागरिकप्रति उत्तरदायी जति कम हुँदै जान्छन्, त्यति उनीहरूको सामिप्य ब्यापारी र बिचौलियासँग बढ्दै जान्छ । भ्रष्टाचारले कसरी कुन बेला ‘क्लेप्टोक्रेसी’को विशाल रूप लिन्छ थाहा नै हुँदैन । एकपटक देश ‘क्लेप्टोक्रेसी’को फन्दामा फस्यो भने त्यसबाट निस्कन गाह्रो हुँदै जान्छ । नेपालमा भएको यही हो । अहिलेको राजनीति, दल र नेताहरूप्रति फैलिएको आम मानिसको असन्तोष त्यसकै कारण हो ।
हालैका दिनमा आएर रक्षात्मकजस्ता देखिएका दल र नेताहरूमा अझैँ पनि सुध्रिनुपर्छ, सच्चिनुपर्छ भन्ने भावना नै पलाएको छैन । अझै पनि उनीहरू कता हिँडेका छन्, गन्तव्य के हो भन्नेमा अस्पष्ट छन् । विकास, समृद्धिजस्ता अमूर्त भाषणमा नै व्यस्त नेपाली दलका नेताहरू र उनीहरूले गरिरहेको राजनीतिले सामना गरेको आजको मूल प्रश्न हो — ‘क्वो वाडिस् ?’
नेपाली राजनीति किन र कसरी बिग्रियो भन्ने सन्दर्भमा मिडियाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । जसको बारेमा चर्चा योभन्दा पहिलेको लेखमा गरिएको थियो । मिडियालाई प्रश्न सोध्नुको अर्थ अपमान गरेको पक्कै होइन, न त अविश्वास नै गरेको हो ।
आत्म-नियमनमा चल्नुपर्ने मिडियालाई कसैले — सरकारले वा राज्यले — नियन्त्रित गर्न खोज्यो वा मिडियाले जानाजान वा अन्जानमा आफ्नो भूमिका भुलेर राजनीतिक दुश्चक्रमा फस्यो भने त्यो लोकतन्त्रको लागि घातक हुन्छ भन्ने चिन्ताका स्वर मात्र प्रश्नका रूपमा मुखरित भएका हुन् । मिडियालाई कोही अरूले सोध्नुभन्दा उसले आफ्नो आत्मनिरीक्षणका लागि आफैलाई सोध्नु जरुरी छ — ‘क्वो वाडिस् ?’
आत्म-नियमनमा चल्नुपर्ने मिडियालाई कसैले — सरकारले वा राज्यले — नियन्त्रित गर्न खोज्यो वा मिडियाले जानाजान वा अन्जानमा आफ्नो भूमिका भुलेर राजनीतिक दुश्चक्रमा फस्यो भने त्यो लोकतन्त्रको लागि घातक हुन्छ भन्ने चिन्ताका स्वर मात्र प्रश्नका रूपमा मुखरित भएका हुन् । मिडियालाई कोही अरूले सोध्नुभन्दा उसले आफ्नो आत्मनिरीक्षणका लागि आफैलाई सोध्नु जरुरी छ — ‘क्वो वाडिस् ?’
तर, प्रश्न त फेरि समाजतर्फ पनि तेर्सिन्छ नै । समाज कसले बनाउँछ ? हामीले । हामी भनेको को ? प्रत्येक व्यक्ति । आलोचनात्मक सोच र विचारहरूको त्यसै खडेरी पर्दै गएको अवस्थामा सामाजिक सञ्जाल, जुन एउटा विमर्शको लागि राम्रो थलो हुनुपर्थ्यो, मिथ्या सूचनाको स्रोत हुन पुगेको बेलामा सामाजिकता हराउन सक्ने खतरा जताततै बढ्दो छ । मुद्दाहरू आजभोलि निहित राजनैतिक वैचारिक लडाइँको हल्लामा हराएका छन् । तार्किक बहस, सुसूचित विचार र विमर्शको लागि स्थान खुम्चँदो छ भने द्वेषपूर्ण विरोधका स्वरहरू ठूला भएका छन् ।
जब राजनीति, मिडिया र समाजबाट तर्क हराउँदै जान्छ, यसले विभाजन र घृणाका लागि गजबको उर्वर भूमि तयार गरिदिन्छ । यहाँनेरको सबैभन्दा ठूलो खतरा के हुन्छ भने यो स्थितिले आमजनताको, भुँइमान्छेको अस्तित्वलाई अस्वीकार गर्न थाल्छ । भनेको के हो भने समाज राजनीति, दल र नेताको सेरोफेरोमा मात्र घुम्न थाल्छ । अनि केही यस्ता ‘न्यारेटिभ’ निर्माण हुन थाल्छन्, जसले ‘इलेक्टोरेट’, आम मतदाता र सर्वसाधारणलाई नै दोषी देख्न थाल्छ ।
एउटा बडो जायजझैँ सुनिने प्रश्न ‘यी दल र नेताहरूप्रति नै यति गुनासो छ भने यिनीहरूलाई नै मत किन दिएको त ?’ समाजमा हाबी हुन थाल्छ । ‘जस्ता जनता उस्तै नेता’ भन्ने खालका तर्कको सामान्यीकरण हुन थाल्छ । अनि आम जनता आफू पो दोषी हो कि भन्ने अपराध बोधले ग्रस्त हुन थाल्छन् । बोल्नै पर्ने र भन्नै पर्ने कुरा पनि भन्न डराउन थाल्छन् ।
एउटा लोकतान्त्रिक समाजमा योभन्दा ठूलो विडम्बना के हुन सक्छ, जब आम मानिसलाई नै दोषी करार गरिन्छ ।
त्यसकारण यो आफैमा अत्यन्तै ‘पेट्रोनाइजिङ्ग न्यारेटिभ’ हो । यसले दल र नेताहरूलाई जवाफदेहिताबाट उन्मुक्ति दिएर आम मानिसलाई नै गलत साबित गर्न खोज्छ । यस्तो ‘न्यारेटिभ’ फैलाउने ती हुन्, जो आफूलाई आम मानिसभन्दा माथिको ठान्दछन् र जनताका राजनीतिक छनोट र प्राथमिकतालाई अपमानपूर्ण तरिकाले मूल्याङ्कन गर्छन् । लोकतन्त्रमा निर्वाचकले उपलब्ध विकल्पहरूमाझ नै हो आफ्नो छनोट गर्ने । मतदाताले आफ्नो मत त पूर्ण इमानदारीका साथ निर्वाचित दल र नेताहरूले पदमा पुगेपछि समाज र लोकको कल्याणका लागि काम गर्छ भन्ने भरोसामा दिएका हुन्छन् । नेता र दललाई जवाफदेही बनाइराख्नुपर्ने उनका कार्यकर्ताले हो, मिडियाले हो अनि विचारकहरूले पनि हो ।
प्रश्न हाम्रा नेता, दल, मिडिया वा समाजसँग मात्र होइन, हामी आफैँ, प्रत्येकसँग पनि हो — ‘क्वो वाडिस् ?’
Facebook Comment
Comment