काठमाडौं । काङ्ग्रेस र एमालेको सत्तारूढ गठबन्धन निर्माणको ९ महिना कट्दा सरकारको आलोचनामा सहयात्री काङ्ग्रेस नै प्रखर छ । सत्ता सहयात्री काङ्ग्रेसबाटै आलोचना बढ्न थालेसँगै माओवादी केन्द्र हौसिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनका लागि सार्वजनिक अपिल नै गरेका छन् । यो पृष्ठभूमिबाट एमाले सशङ्कित बनेको छ ।
सरकारको विरोधमा काङ्ग्रेस नै प्रखर
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई नीतिगत सहयोगका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य महामन्त्री गगन थापासहित काङ्ग्रेसका अन्य नेताहरूको सरकारको विरोधमा यति बेला प्रखर छन् । सार्वजनिक कार्यक्रम हरेक दिन उपस्थित हुने थापाले सरकारको आलोचना नगरेको कुनै दिन छैन । नयाँ गठबन्धन निर्माण गर्दा ताको आधारभूत अपेक्षामाथि नै सरकारले काम गर्न नसकेको निष्कर्ष उनको छ ।
संविधानको बदलाव प्रारम्भ गर्ने, सरकारको कार्य सञ्चालन प्रभावकारी बनाउने र सुशासनमा सुधार ल्याउने गठबन्धन सरकारको आधारभूत अवधारणामै सरकारले काम गर्न नसकेको भन्दै थापाले आलोचना गर्दै आएका छन् । मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले आफूप्रतिको जनविश्वास गुमाउँदै गएको टिप्पणी गरे । गठबन्धन सरकारको आधारभूत अवधारणालाई नै सरकारले कार्यान्वयन गर्न नसकेको निष्कर्ष उनले सुनाए । ‘गठबन्धन सरकार बनेपछि संविधान पनि बदलावको काम प्रारम्भ गर्छौँ । सरकार सञ्चालन र सुशासनमा सुधार गर्छौँ भनेका थियौँ । सरकारले परिणाम दिने कुरामा सहयोग गर्न तयार छु भनेर संयन्त्रमा बसेर काम पनि गरेकै हो । आफूप्रतिको माहौल बनाउने काममा सरकारको नेतृत्व नै तयार देखिएन,’ उनले भने,‘युद्ध स्तरमा काम गर्नुपर्ने बेलामा त्यो उत्साह जोस र समर्पण नेतृत्वबाट देखिएन ।’
सरकारको गति र कार्यशैलीका विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि प्रश्न उठाइरहेका छन् । प्रधानमन्त्रीले सरकारको कामको शैली बदल्न नसकेकोप्रति शर्माले आलोचना गरिरहेका छन् । नागरिकको वितृष्णामा मलजल गर्ने काम सरकारबाटै भइरहेको उनको भनाइ छ । शर्माले भने,‘प्रधानमन्त्रीज्युले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस् । तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ ।’
काङ्ग्रेसभित्र एमाले नेतृत्वको कार्यशैलीका कारण आफ्नो दल समेत बदनाम हुने चिन्ता पनि प्रकट हुन थालेको छ । काङ्ग्रेस नेता शेखर कोइरालाले एमालेलाई नसुधार्ने हो भने त्यसको असर काङ्ग्रेसलाई पनि पुग्ने बताउँदै आएका छन् । ‘हामी सत्तामा छौँ, तर सरकारमा छैनौँ । एमालेलाई सच्याउन खबरदारी नगर्ने हो भने त्यसले काङ्ग्रेसलाई समेत अप्ठ्यारोमा पार्ने छ । संविधान संशोधनलाई अब पनि ढिलाइ गर्ने हो भने सडकमा आक्रोश झन् बढ्नेछ,’ उनको भनाइ छ ।
पछिल्लो समय यो मत काङ्ग्रेस कार्यकर्तामाझ पनि बढेको भन्दै महामन्त्री थापाले कार्यकर्ता पङ्क्तिलाई काङ्ग्रेस नबिग्रिने भन्दै आश्वस्त पार्न खोजेका छन् । एमालेसँगको सहकार्यले काङ्ग्रेस नबिग्रिने कुरामा ढुक्क हुन कार्यकर्ता पङ्क्तिलाई आग्रह गरेका छन् । ‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने, ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिँदैनौँ । हामी त्यसकै अङ्ग बन्न गएकै होइन ।’
नागरिकहरू व्यवस्था बदलिए पनि अवस्था नबदलिएकोप्रति चिन्तित रहेको अवस्थामा सरकारको नेतृत्वले कार्यशैली फेर्न अत्यावश्यक भइसकेको उनको भनाइ छ । उनले भने,‘व्यवस्थाभित्र अवस्था बदल्ने कुराको अवरोध अहिले नेतृत्व नै हो ।’
महामन्त्री थापाले मङ्गलवार चेतावनी पनि दिएका छन् । सम्झाएर, बुझाएर नेतृत्वको शैली बदलिएन भने नेता बदल्न पनि तयार हुनुपर्ने उनको भनाइ छ । ‘समस्या नेतामा छ नेता बदलिँदा समस्याको समाधान आउँछ भने त्यता लाग्ने हो । सम्झाएर बुझाएर मेहनत गरेर नेतृत्वको शैली बदल्न सकिएन भने नेता बदल्ने हो,’ उनले भने ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार प्रधानमन्त्री ओलीलाई काङ्ग्रेसको पूर्णसाथ रहने बताउँदै आएका छन् । सार्वजनिक मञ्चमा उनी सरकारबारे नकारात्मक टिप्पणीको रक्षासमेत गर्दै आएका नेता हुन् । तर, उनले पनि हाल सरकार बदनाम बन्दै गइरहेको टिप्पणी गर्दै यसलाई रोक्नुपर्ने अभिव्यक्ति दिएका छन् । ‘सरकारको नाममा अहिले धेरै ठूलो बदनाम भइरहेको छ, यो नहोस् भन्ने चाहन्छु,’ शनिवार उनले भनेका थिए ।
आफ्नै पार्टी सरकारमा रहँदा सरकारकै प्रखर विरोध उचित नरहेको धारणा पनि काङ्ग्रेसभित्र छ । वर्तमान सरकारमा परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवाले भाइरल हुनका लागि काङ्ग्रेसका केही नेताले सरकारको चर्को आलोचना गरिरहेको टिप्पणी गरेकी छिन् । ‘आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता सरकार र पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला । तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो,’ उनको धारणा छ ।
काङ्ग्रेसको विरोधबाट हौसिएको माओवादी
सत्ता सहयात्री काङ्ग्रेसले नै सरकारको आलोचना बढाएपछि माओवादी केन्द्र हौसिएको छ । सरकारबाहिर रहँदा आफ्नो दलले जनभरोसा जितिरहेको बताउने प्रचण्ड अहिले काङ्ग्रेस तयार भए सरकारलाई समर्थन दिन माओवादी केन्द्र तयार रहेको अभिव्यक्ति दिन थालेका छन् । ४ चैतमा मात्रै पार्टीको सरकारमा जाने कुनै नीति नरहेको अभिव्यक्ति दिएका प्रचण्डले अहिले आफ्नो बोली फेर्न थालेका छन् । काङ्ग्रेसबाटै सरकारको आलोचना प्रखर भइरहेको बेला उनले तरङ्ग पैदा गर्ने अभिव्यक्ति दिएका छन् ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सकार गठन हुनु नै असंवैधानिक रहेको तर्क गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काङ्ग्रेसलाई साथ दिन माओवादी तयार रहेको भन्दै नयाँ गठबन्धनका लागि अपिल नै गरिसके । इमेज टेलिभिजनमा चैत्र ३० मा जगदीश खरेलसँग संवाद गर्दै उनले यस्तो अपिल गरेका थिए । ‘काङ्ग्रेसले चाहन्छ भने हामी साथ दिन तयार छौँ । सरकार बाहिरै बसेरै पनि माओवादी केन्द्रले समर्थन गर्न तयार छ,’ उनले भनेका थिए ।
नयाँ वर्षको अवसरमा चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नयाँ वर्षले निकास दिने भन्दै नयाँ सरकार बन्ने टिप्पणी गरे । यो सरकार धेरै अघि जाने परिस्थिति अब नरहेको भन्दै उनले अभिव्यक्ति दिएका थिए । आफूले नयाँ अनुभव र घटनाक्रमका आधारमा यो कुरा भनेको उनको भनाइ छ । वर्तमान सरकारप्रति जनआक्रोश बढिरहेको र सडकमा दिनानुदिन सरकारविरुद्ध प्रदर्शन भइरहेकाले यो सरकार अब धेरै नटिक्ने टिप्पणी प्रचण्डको छ । ‘पछिल्लो पटक घटनाक्रमहरू नयाँ भए । केही नयाँ अनुभवसहित भनेको हो मैले । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ । नयाँ वर्षले केही न केही नयाँ निकास दिन्छ,’ उनले भने ।
काङ्ग्रेसको विरोध र माओवादीको प्रस्तावले सशङ्कित एमाले
काङ्ग्रेसबाटै बढिरहेको आलोचनाको पृष्ठभूमिमा माओवादी केन्द्रले काङ्ग्रेस तयार भए समर्थन गर्ने प्रस्ताव अघि सारेपछि एमालेले यसलाई छलफलको विषय नै बनाएको छ । काङ्ग्रेसबाट निरन्तर विरोध र त्यसको पृष्ठभूमिमा प्रचण्डको काङ्ग्रेसलाई समर्थन गर्न तयार रहेको अभिव्यक्तिका कारण एमाले सशङ्कित भएको हो । यो विषयमा ओलीले देउवासँग मङ्गलवार बालुवाटारमा औपचारिक छलफल गरेका छन् । अब छिट्टै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तयारी छ ।
सोमबार सचिवालयको बैठकमा एमालेले प्रचण्डको अभिव्यक्तिको खण्डन गर्यो भने काङ्ग्रेसबाटै बढिरहेको आलोचना र सत्ता सहयात्रीको असन्तुष्टिको विषयमा उच्च स्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्णय नै लियो ।
संयन्त्रमै रहेका सदस्यले सरकारको प्रखर आलोचना गर्ने विषय उचित नरहेको र केही समस्या भए राजनीतिक ढङ्गबाटै हल गर्नुपर्ने निष्कर्षमा एमाले पुगेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्,‘सरकारप्रतिका आशङ्काबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने भनेका छौँ । काङ्ग्रेस र एमालेबीचको सहमतिमा विश्वास टुटेको छैन, तर केही राजनीतिक प्रश्नका विषयमा दुई दलबीच छलफल आवश्यक देखिएको छ ।’
एमालेले सचिवालयबाटै निर्णय गरेर सरकार ढल्ने वा नयाँ गठबन्धन बनाउने प्रचण्डको भनाइ सत्ताबाहिर जानुपर्दाको कुण्ठाको संज्ञा दिएको छ । ‘अहिले सरकार परिवर्तन हुने वा ढल्ने त्यस्तो कुनै परिस्थिति नै छैन । यो विषयको बहस निकै असान्दर्भिक हो । प्रचण्डको अभिव्यक्ति सत्ता बाहिर जानुपर्दाको कुण्ठा हो,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
सशङ्कित एमालेलाई देउवाले जवाफसमेत दिएका छन् । सोमबार उनले एक कार्यक्रममा भनेका थिए,‘अहिले ओलीजीसँग छु । प्रचण्डजीसँग भेट्दिनँ ।’
काङ्ग्रेसको प्रखर विरोध र माओवादीको प्रस्तावमा सवालमा एमालेले देउवाको औपचारिक धारणा चाहेको छ ।
Facebook Comment
Comment