काठमाडौं । पछिल्लो समय नेपालका युवा पुस्ताहरूको ठूलो जमात विदेश पलायन भइरहेको छ । कोही उच्च शिक्षाका लागि बाहिरिइरहेका छन् त कोही रोजगारीको लागि ।
यस्तोमा प्लस टू सकिने बित्तिकै बिदेसिने परम्परा त ट्रेन्ड नै बनिसकेको छ । देशमा भएको सम्भावना र अवसरहरू युवाकै मुखबाट सुन्न शनिवार ललितपुरमा रिता फाउन्डेसनद्धारा आयोजित ‘देशको वर्तमान अवस्था र युवा सोच’ नामक प्यानल डिस्कसन आयोजना गरियो ।
कार्यक्रममा देशमै सम्भावनाको बाटो खोजिरहेका विभिन्न क्षेत्रका नयाँ अनुहारहरूलाई वक्ताको रूपमा प्यानल डिस्कसनमा बोलाइएको थियो । जहाँ ‘जेन जी’ पुस्ताले पनि नेपालमै भविष्य खोजिरहेको र त्यसैमा काम गरिरहेको देखिन्छ ।
भर्खरै प्लस टू सकेर बसेका धनगढीका अर्थभ पाठक सामाजिक र शैक्षिक कार्यकर्ता बनिसकेका छन् । गणित पढाउने नयाँ-नयाँ तौरतरिका खोज्दै उनी विद्यार्थीहरूलाई गणित पढाउँदै आइरहेका छन् ।
‘हाम्रो नेपाली समाजमा सबैभन्दा अप्ठ्यारो विषय गणितलाई भनेर प्राय: पढ्न मान्दैनन्, तर म भन्छु गणित अप्ठ्यारो विषय होइन बरु अप्ठ्यारो तरिकाले गणित पढाइन्छ,’ प्यानल डिस्कसनमा बोल्दै उनले भने ‘हाम्रो संस्था छ । हामीले गणित पढाउँदा सूत्र घोक्न भन्दा एउटा क्यान्टिन कसरी चलाउने र त्यसको हिसाब कसरी राख्ने भनेर सिकाउँछौँ ।’
उनी विद्यार्थीलाई पढाउने तरिकामा थोरै परिवर्तन गरेर व्यवहारिक शैक्षिक पद्धतिलाई अङ्गाल्न सके खस्किरहेको नेपालको शिक्षा प्रणालीमै ठूलो परिवर्तन आउने विश्वास राख्छन् ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्ने र बोल्न कोही कसैसँग पनि नडराउने किरण बिक केही समययता आफू राजनीतिबाट थोरै टाढा बसेर लेखनमा व्यस्त रहेको सुनाउँछन् । अहिले केही वर्तमान सांसदका सहपाठीसमेत रहेका उनमा राम्रो राजनीतिक चेत पाइन्छ ।
‘हामी भन्छौँ, नेताहरूलाई केही थाहा छैन, केही काम गर्न सक्दैनन्, देशमा के भइरहेको छ भन्ने मतलब गर्दैनन्, तर त्यस्तो होइन । उनीहरूलाई सबै थाहा छ,’ उनी भन्छन् । देशमा भइरहेका हरेक घटना र क्रियाकलापको बारेमा थाहा भए पनि मन्त्रीहरू काम भने नगरिरहेको उनको अनुभव छ ।
सञ्चार माध्यमहरूमा लेखहरू लेखिरहने उनी हाल किताब र फिल्म लेखनतिर व्यस्त रहेको बताउँछन् । नयाँ पार्टी खोलेर देशको राजनीतिक अवस्था परिवर्तन गर्ने उनको सपना छ ।
त्यस्तै, कानुनमा स्नातकोत्तर गरिरहेकी लिभा थारु साथीहरूले विदेशलाई गन्तव्य बनाइरहेको देख्दा दुःख लागेको बताउँछिन् । उनी विकसित मुलुक रोजिरहेका ‘जेन जी’ पुस्ता सम्पन्न लाइफस्टाइलबाट लोभिएको बताउँछिन् ।
‘खाडी मुलुक गएका युवाहरू त प्राय फर्किन्छन्, तर विकसित मुलुक गएकाहरू राम्रो लाइफस्टाइलका लागि गएका हुन्छन् । उनीहरूलाई जसरी पनि त्यहीँ सेटल हुन चाहन्छन् ।’ उनको अनुभव छ । गर्न सके नेपालमै पनि भविष्य कोर्न सकिने उनको भनाइ छ ।
त्यसै गरी, आइटी क्षेत्रमा सम्भावना खोजिरहेका सन्तोष भण्डारी सरकारको कर नीति र झन्झटिलो प्रक्रियाले आइडिया बोकेर केही गर्छु भनेर आएको व्यक्ति पनि सेलाएर जाने बताउँछन् । यद्यपि, गरे नेपालमा पनि सम्भावनाहरू रहेको उनको भनाइ छ ।
उनी कहिलेकाहीँ नेपालमा बसेर आफूलाई आफैँले च्यालेन्ज गरिरहेको भान हुने अनुभूति व्यक्त गर्छन् । आफैँले एउटा संस्था खोलेर काम गरिरहेको बताउँदै भण्डारी भन्छन्, ‘मैले पनि एउटा संस्था चलाइरहेको छु । ठाउँ पायो भने युवाले पनि गर्न सक्छ, तर त्यसका लागि युवा आफैँ पनि जागरूक हुन आवश्यक छ ।’
उनी युवालाई देशमा रोक्नको लागि रोजगारीका अवसरहरू प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । रोजगारी सिर्जनाका लागि देशको अर्थतन्त्र बलियो हुनुपर्ने उनको धारणा छ । र, अर्थतन्त्र सुधार्नका लागि पर्यटन क्षेत्र, आइटी क्षेत्रमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको उनको निर्क्योल छ ।
Facebook Comment
Comment