काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरेर सडकबाट विद्यालय पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत खड्काले आफ्नो विगतको अनुभव र शिक्षक महासङ्घसँग भएका सहमतिअनुसार माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नै तत्काल अग्रसरता लिनुपर्ने दुई बुँदे सुझाव समेत दिएका छन् ।
खड्काले पहिलो बुँदामा कानुनी रूपमा मन्त्रीपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयहरूलाई तत्काल निर्णय गरी टुङ्गो लगाउने र दोस्रो बुँदामा संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई शिक्षक महासङ्घसँग विगतमा भएको सहमतिलाई केन्द्रमा राखी बाँकी कुरा सहमतिको आधारमा मिलाएर अब चाडै बस्ने सङ्घीय संसद्को बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्न सुझाव दिएका छन् ।
सत्तारुढ दलहरूले सरकारलाई सघाउन बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका खड्काले मङ्गलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।
Facebook Comment
Comment