सुनीता डङ्गोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन

नेपालभ्युज

सुनीता डङ्गोल विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छिन् ।

दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिँदा नेपालबाट उपप्रमुख डङ्गोल मात्र चयन भएकी हुन् ।

डङ्गोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हबको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डङ्गोल चयन भएकी छन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् ।

फोरमले उपमेयर डङ्गोलको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेबसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

चयन भएपछिको संक्षिप्त प्रतिक्रियामा उपमेयर डङ्गोलले थप जिम्मेवारी महसुस भएको बताइन् । उनले भनिन्, ‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरूसँगको सहकार्यबाट युवाहरूलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन् ।’

फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १०, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८, व्यापारिक क्षेत्रबाट ४९, नागरिक समाजबाट ११, मिडियाबाट ५, सरकारबाट १९ र सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् ।

सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकैठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरूको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।

विश्वव्यापी समस्याको सुधार र व्यावहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति भएको फोरम अफ योङ् ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ ।

स्वाबका अनुसार यसले विश्वव्यापी सञ्जाल निर्माण, सामुहिक कार्य र नवीनताका लागि कृतिम वौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ । युवा नेताहरूले परिवर्तन अंगाल्न सक्नेछन् । प्रगतिलाई तीब्र बनाउन काम गर्नेछन् र अरुलाई प्रेरित गर्नेछन् ।

सन् २००४ मा स्थापना भएदेखि युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सयभन्दा बढी सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved