काठमाडौं । काङ्ग्रेस एमाले गठबन्धन सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दीमा पर्न थालेको एमाले नेताहरूकै निष्कर्षमा छ । सडकमा आन्दोलन चर्किएको सन्दर्भ, सत्ता सहयात्री दलसँगै आफ्नै नेता नेताहरूबाटै भइरहेको आलोचना, अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको चिसोपना लगायतका पृष्ठभूमिका आधारमा प्रधानमन्त्री ओली घेराबन्दी परिरहेको निष्कर्षमा एमाले नेताहरू पुगेका हुन् । आफूविरूद्ध चौतर्फी घेराबन्दी सुरु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसविरूद्ध आक्रोश ओकल्न थालेका छन् ।
मङ्गलवार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा महासचिव शङ्कर पोखरेलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध घेराबन्दी भइरहेको सुनाए । हाम्रो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र हमला भइरहेको अवस्थामा हामी छौँ । सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउन प्रयास भइरहेको छ,’ उनले भने ।
महासचिव पोखरेलले पार्टीपंक्ति एकताबद्ध भएर नेतृत्वविरूद्धको घेराबन्दीलाई चिर्ने बेला आएको उनले बताएका छन् । ‘मलाई लाग्छ हाम्रो पार्टीपंक्ति एकताबद्ध रूपमा पार्टीका सही सूचनालाई सम्प्रेषण गर्ने काम गर्यौँ भने सहजै रूपमा चुनौती सामना गर्न सक्छौँ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले पनि आफ्नै पार्टीभित्रको विरोध, सडकमा भइरहेको आन्दोलन, अन्तर्राष्ट्रिय शक्ति र मिडियाले समेत आफूलाई घेराबन्दीमा पारेको उल्लेख गरेका छन् । मङ्गलवार उनले यी घेराबन्दीविरुद्ध आक्रोश ओकलेका छन् ।
‘पार्टीभित्रैबाट विरोधीलाई सहयोग’
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीमा विमति राख्ने नेताहरू पनि छन् । उनीहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति बेलाबखत प्रश्न समेत उठाइरहेका छन् । भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङबाट कार्यालय भवन निर्माणका लागि जग्गा दान स्वीकार गर्दा होस् वा सरकारको प्रभावकारिताबारे पार्टी भित्रैबाटै ओलीको आलोचना हुँदै आएको छ । पछिल्लो समय उनको विकल्प खोज्ने अभियान पनि पार्टीमा चलिरहेको छ । शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि प्रश्न उठेका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक सञ्जालबाट उनलाई सहयोग नभएको भन्दै प्रश्न उठाइन् । नैतिकवान् र इमानदार नेताले काम गर्ने वातावरण अन्त्य हुँदै गएको भन्दै उनले असन्तुष्टि प्रकट गरिन् । मङ्गलवार उनले फेसबुकमा लेखेकी थिइन्, ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो विद्या भट्टराई सक्षम, इमानदार नैतिकता उच्च भएको एउटा असल नेता भएकाले राजीनामा दिनुपरेको हो ?’ शाक्यको प्रश्न छ, ‘उहाँलाई सहयोग किन भएन?’
पार्टीभित्रैबाट समेत शिक्षामन्त्रीको राजीनामाबारे आफूमाथि प्रश्न उठ्न थालेपछि उनले मङ्गलवार शिक्षामन्त्रीले स्वास्थ्यको कारण राजीनामा दिँदा समेत आफुविरूद्ध प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरे । पार्टीका कार्यकर्ताले पनि आफ्नो विरोध गरिरहेको भन्दै ओली आक्रोशित सुनिए । ‘अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरूले सङ्गठित गर्छन् । हाम्रै साथीहरूलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ । त्यो भ्रममा हाम्रै केही साथीहरू सामेल भएको पाइएको छ,’ आफ्नो विरोधप्रति ओलीले असन्तुष्टि पोखे ।
एमालेभित्र अहिले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाइरहेकी छिन् । ओलीको वैकल्पिक नेताका रूपमा भण्डारीलाई साथ दिने क्रम पनि पार्टीभित्र चलिरहेको छ । ओलीले यो अभियानप्रति पनि आक्रोश व्यक्त गरेका छन् । ओली विनाको एमाले सम्भव नरहेको उनले स्पष्ट पारेका छन् । आफूविनाको एमाले बनाउने अभियान सफल नहुने ठोकुवा उनको छ । यो अभियानको मनसाय राम्रो नभएको उनले बताएका छन् । अहिले ओलीविनाको एमाले र एमाले विनाको नेपालको खोजी भइरहेको भन्दै ओलीले आपत्ति जनाए । ‘किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ,” उनले भने, “केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौँला।’
एमालेभित्र आलोचनाको तारो नहुने नेतृत्व खोज्नुपर्ने मनसाय देखिएको उनले बताए । ‘हाम्रो नेतृत्व आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि !भन्ने साथीहरूलाई परेको छ,’ उनले भने ।
‘सरकारविरुद्धका घेराबन्दी सङ्गठित गर्दै विपक्षी’
प्रधानमन्त्री ओलीले सकारविरुद्ध सडकमा भइरहेको आन्दोलन र अन्य आन्दोलनका चेतावनीविरुद्ध पनि आक्रोश पोखेका छन् । सडकमा अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले २१ दिनदेखि आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई घर फर्किन आग्रह गर्दा समेत शिक्षकहरूले ऐन जारी नहुँदासम्म सडकमै रहने अडान राखेका छन् । उनीहरू काम नफर्किने भएपछि कक्षा १२ को परीक्षा समेत प्रभावित बन्ने भएको छ । प्रधानमन्त्री ओली लेनै १२ कक्षाको परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएसँगै १२ कक्षाको परीक्षा मिति वैशाख २१ गतेदेखि तय भएको छ ।
दुई साताअघि प्रधानमन्त्री स्वयंले शिक्षकहरू सडकमा आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । सरकारलाई विश्वास गरेर सडकमा आएकोभन्दै उनले धन्यवाद दिएका थिए । अहिले तीनै शिक्षकहरूले सरकारलाई अविश्वास गर्दै आन्दोलन चर्काएपछि ओली निकै खरो रूपमा प्रस्तुत भइरहेका छन् । शिक्षकहरूको आन्दोलन चर्किरहेको समयमा निजामती कर्मचारीहरूको आधिकारी ट्रेड युनियनले पनि ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए सडकमा आउने चेतावनी सरकारलाई दिएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षकहरूमाथि धोकाधडी गरिरहेको भन्दै सडक नछोड्न अपिल नै गरेका छन् । सरकारले राम्रो काम अघि बढाए पनि विपक्षीले सरकारविरुद्धका अभियानलाई सङ्गठित गरिरहेको भन्दै ओली आक्रोशित छन् । ‘अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरूले सङ्गठित गर्छन्,’ ओलीले भनेका छन् ।
‘अन्तर्राष्ट्रिय शक्तिसँग सम्झौता नगर्दा घेराबन्दी’
प्रधानमन्त्री ओली र भारतबीचको सम्बन्धमा सुधार भइरहेको छैन । बैंकक भएको करिब पौने घण्टाको वार्ता निकै सौहार्द भएको प्रधानमन्त्रीको दाबी छ । मङ्गलवार मात्रै पनि उनले भनेका छन्, ‘बैंककमा मोदीसँग करिब पौने घण्टा कुरा भयो । समय भएको भए अझै कुरा हुन्थ्यो तर उहाँको व्यस्तताले कुरा हुनसकेन ।’
कुरा भए पनि उक्त वार्ताको परिणाम भने फलदायी भएन । न त मोदीले ओलीलाई भारत भ्रमणको निम्ता गरे । न त मोदीले ओलीले सगर संवादमा नेपाल आउन गरेको आमन्त्रण स्वीकार गरे । संविधान घोषणामा ओलीको अडान, भारतीय नाकाबन्दीको सशक्त प्रतिवाद नेपालको चुच्चे नक्सा प्रकरणका कारण ओली भारत सम्बन्धमा दरार कायमै छ । ओलीले यो दरारको सङ्केत मङ्गलवार प्रस्टै गरेका छन् । अन्तर्राष्ट्रिय शक्तिहरूले एमालेलाई साथ नदिएको उनले बताएका छन् । उनीहरूका स्वार्थ पुरा गर्न आफू तयार नहुँदा अन्तर्राष्ट्रिय शक्तिहरूले समेत घेराबन्दी गरिरहेको ओलीको भनाइ छ । उनले भनेका छन्, ‘विभिन्न प्रकारका वैदेशिक शक्तिहरूले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । त्यसै बेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने कतिपयलाई परेको छ,’ उनले भने ।
विदेशी शक्तिका कुरा मान्ने हो भने जेठभित्रै आफ्नो वाह वाही हुने दाबी गरेका छन् । ‘मैले गति छाडेँ भने जेठ महिनाभित्रै हाइ हाइ हुन सकिन्छ । हाम्रो पथ त्यस्तो होइन,’ उनले भनेका छन् ।
अन्तर्राष्ट्रिय शक्तिसामु सम्झौता गर्न आफू तयार नभएको उनले बताए । देउवा उपचारका लागि बैंकक जाँदा समेत सरकार परिवर्तनका लागि गएको बन्ने हल्ला चलाइएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे ।
‘मिडिया योजनाबद्ध ढङ्गले लाग्यो’
प्रधानमन्त्री ओलीले मिडियाले पनि आफुविरूद्ध योजनाबद्ध ढङ्गले घेराबन्दी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शिक्षा मन्त्रीको राजीनामा आफूलाई अनावश्यक रूपले विवादमा तानिएको उनले बताए । शिक्षा मन्त्रीले स्वास्थ्यका कारणले राजीनामा दिँदा योजनाबद्ध र सङ्गठित तरिकाले प्रधानमन्त्रीको असहयोग भन्दै सबैतिर समाचार आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘एक जना मन्त्रीले राजीनामा दिनुभयो । प्रधानमन्त्रीले बसिखान दिनुभएन भनेर लेखेको छ । मैले काम लगाइराखेको छु । सिकाइराख्या छु । स्वास्थ्यका कारण काम गर्न सक्नुभएन । मेराविरूद्ध समाचार लेखियो,’ उनले भने ।
सबैका हेडलाइन उस्तै देखिएको भन्दै ओलीले भने, ‘मेराविरूद्ध मैले असहयोग गरेको भनेर सबै मिडियाका हेडलाइन छ । एकै ठाउँ बसेर लेखेजस्तो । टेलिफोन गरेर सबैले योजनाबद्ध ढङ्गले लेखेका छन्,’ उनले भने ।
एउटा चल्लाले फट्याङ्ग्रा च्याप्दा सबै चल्ला दौडिएझैँ बहुसङ्ख्यक मिडियाले आफुविरूद्ध शत्रुता देखाएको ओलीको टिप्पणी छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक जाँदा सरकार परिवर्तनका लागि गएको भन्दै मिडियाले हल्ला चलाएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘काङ्ग्रेस एमाले मिल्नु हुँदै भन्ने व्यक्तिहरूको कमी भएर देउवाजी बैंकक गएको हो र । उपचारका लागि बैंकक जाँदा समेत सरकार परिवर्तनको हल्ला चलाएको छ,’ उनले भने ।
चौतर्फी घेराबन्दीलाई चिर्दै नेकपा एमाले सशक्त रूपमा अघि बढ्ने ओलीले जिकिर गरेका छन् । राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताका सवालमा कसैसँग सम्झौता नगर्ने उनले बताएका छन् । कसैले चाहेर पनि एमालेका उद्देश्य र पार्टी पङ्क्तिका दृढताका कारण एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनको भनाइ छ ।
Facebook Comment
Comment