जम्मू–कश्मीर हमलाका विषयमा मोदीसँग कुरा गर्ने ट्रम्पको तयारी

नेपालभ्युज

जम्मू–कश्मीर हमलाका विषयमा मोदीसँग कुरा गर्ने ट्रम्पको तयारी
फाइल तस्वीर

पहलगाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन् । सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेका ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिइन् ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भनिन्, ‘पहलगामको लोकप्रिय पर्यटकीयस्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरैजना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथाशीघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्नेछन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्नेछन् ।’

यस घटनाबारे राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा समेत प्रतिक्रिया जनाएका छन् । ‘कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याएको छ। अमेरिकाले आतङ्कवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

यसैबीच भारतका प्रधानमन्त्री मोदीले पहलगाममा भएको आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरेबियाको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन् । उनी आज (बुधबार) राति भारत फर्कने छन् ।

यो आक्रमण मङ्गलबार बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतङ्ककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुई स्थानीय नागरिक र एक नेपाली र एक यूएईका नागरिक रहेका छन् । नेपाली नागरिको नाम सन्दीप न्यौपाने रहेको छ । आक्रमणबाट थप ३६ जना घाइते भएका छन्।

यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ।

जम्मू–कश्मीर आक्रमण : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, भारतका प्रधानमन्त्री मोदीले छोट्याए साउदी भ्रमण

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved