काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशैली सुधार गर्नुपर्ने बताएका छन् ।
बुधबार पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नागरिकको भावनालाई बुझेर प्रधानमन्त्री ओलीले कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । ‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ । प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ,’ उनले भने ।
खड्काले एमालेसँगको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको बताए । संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएपनि त्यसमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
अब छिट्टै कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरे । ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा काङ्ग्रेस र एमालेको बीचमा कार्यदल बनाएर,आन्तरिक छलफल गरेर आधार तयार गर्नुपर्छ,’ उनले भने ।
खड्काले समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी संविधान संशोधन हुने बताए ।
Facebook Comment
Comment